Logo

देउवा र पौडेल दुवै खेमामा फाटो, अब को कता ?



काठमाडौं, १७ असार । नेपाली काँग्रेसमा एकाथरी नेता कार्यकर्ता पार्टी एकढिक्का हुनुपर्ने बताइरहेका छन् । अर्कातर्फ काँग्रेसमा गुट उपगुट बढ्ने र नयाँ ध्रुवीकरण हुने क्रमले गति लिएको छ । भदौमा तय भएको १४औं महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा फुट देखिएको छ ।

देउवाबाट उपसभापति विमलेन्द्र निधि टाढिएका छन् । उनी अलग्गै टिम बनाएर सभापतिको दाबी गर्नेतर्फ बढिसके । महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग दुई चरणको लन्च मिटिङ गरिसके । उनीहरुले निरन्तर लञ्च मिटिङ गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चिढिएका छन् । उनले कोइराला र सिंहलाई के सन्देश दिन खोजेको ? भनी प्रश्न समेत गरेका छन् ।

पौडेल समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्यासँगै फुटको अवस्था देखिएको हो । १३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये ५ जना सभापतिका मुख्य दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका अलावा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला दाबेदार देखिएका हुन् । कोइराला परिवारभित्रै तीनजना दाबेदार निस्किएका छन् । सुजाताले १३औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेकी थिइन् । उनले त्यतिबेला अन्तिम समयमा पौडेललाई साथ दिइन् ।

काँग्रेसभित्र नयाँ ध्रवीकरण भइरहँदा अनेकन शंका आशंकाहरु भइरहेका छन् । महाधिवेशन नजिकिदै गर्दा पौडेललाई एक्ल्याउने रणनीतिहरु बन्दै गएको आशंका भएका हुन् । १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिममा रहेका विमलेन्द्र निधिले चालेको अस्त्रले पौडेल एक्लिने अवस्था बनेको आशंका गरिएको छ । निधिले देउवाबाट पटक पटक अवसर पाएका थिए । त्यसैले देउवाबाट टाढिने उनको देखावटीमात्र हुनसक्ने कतिपयको भनाई रहेको छ । निधिले सशांक कोइराला र प्रकाशमान सिंहलाई पौडेलबाट अलग्गाउने सफलता हासिल गर्दै गएका छन् ।

निधि, कोइराला र सिंह मिलेर काँग्रेसको भावी नेतृत्वका लागि अगाडि बढ्ने तयारी भइरहेको छ । यसले पौडेल सशंकित भएका छन् । उनले पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गरेर अगाडि बढ्न खोजेका छन् । त्यसमा सुजाता कोइरालालाई पनि साथमा लिन खोजेका छन् । सुजाताको निवासमा सोमबार पौडेल र सिटौला बसेर सहमतिका लागि छलफल गरी सन्देश समेत दिएका छन् । सुजाता सशांक र प्रकाशमानसँग चिढिएकी छिन् । वीपीपुत्र र गणेशमानपुत्र मिलेर आफूलाई बेवास्ता गरेको भन्दै फरक मोर्चा कस्न थालेकी छिन् । सुजातासँग कार्यकर्ता तहमा राम्रो पकड छ । त्यही पकडलाई बार्गेनिङ पावर बनाएर बढेकी छिन् ।

सशांक कोइराला र प्रकाशमान सिंह नजिकिदै गएपनि दुवैले एक अर्कालाई सभापति छाड्नेमा आशंका छ । निधिलाई पनि यी दुईले छाड्ने सम्भावना कमजोर छ । पावर सेयरिङ सजिलो छैन । सशांक र प्रकाशमान फरक टिम बनाएर हिंडेपछि पौडेल आफै अरु नेता मिलाएर बढ्न खोजेका छन् । डा.शेखर कोइराला पनि सभापतिको दौडमा छन् । सुजाता कोइराला पनि सभापतिको आकांक्षी हुन् । अहिलेसम्मको घटनाक्रमले सशांक कोइराला र प्रकाशमान नजिकिएको, रामचन्द्र पौडेल र सुजाता कोइराला नजिकिएको देखिएको छ । शेखर कोइराला आफ्नै टिम बनाइरहेका छन् । यसले अन्तत्वगत्वा देउवालाई नै फाइदा हुने देखिदैछ । देउवाको समूहबाट निधि मात्र टाढिएको देखिन्छ । अन्य नेताहरु भने गुट छाडिहाल्ने अवस्थामा देखिएका छैनन् । पौडेलको समूहमा भने समस्या बढ्दै गएको छ ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि गुट जोगाउन मुश्किल पर्दै गएको छ । १३औं महाधिवेशनमा उनको टिममा रहेका गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायत नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ बढ्न थालेका छन् । उनीहरु महाधिवेशन नजिकिदै गर्दा फरक समूहसँग नजिकिएको बुझिएको छ । गगन थापालाई देउवाले आफ्नो पक्षमा पार्न पहल गरिरहेको बुझिएको छ । पौडेल समूहमा फुट आइरहँदा देउवा भने उत्साही भएका छन् । देउवा फेरि सभापति जित्ने भएमा सबैभन्दा खुशी केपी शर्मा ओली हुने बुझिएको छ । ओलीका लागि देउवा सजिला विपक्षी नेता हुन् । यसले काँग्रेस भने झन् कमजोर हुने विगत घटनाले देखाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्