Logo

गाउँमै नदी बग्दा हुकुमबासी बने सुकुम्बासी



काठमाडौं, असार १८ । चार सय घरधुरी भएको ठाउँमा खानेपानीका लागि गाउँमा कुवा खनियो । अहिले त्यो चार सय घर भएको गाउँमा राप्ती नदी बग्छ । घरहरू अन्यत्र सारियो, ती घरका मानिसलाई खुवाउन खनिएको कुवा अहिले पनि नदी किनारमै छ ।

यो बाँकेको नरैनापुर गाउँपालिका–५, भगवानपुरको कथा हो । स्थानीय कैलाशप्रसाद तिवारी भन्नुहुन्छ, ‘२०७१ सालमा राप्ती नदीले धार परिवर्तन गरेपछि गाउँको उठिबास लाग्यो । गाउँमा अहिले राप्ती नदी बग्छ ।’ दुर्गाप्रसाद श्रीवास्तव, तैयव पठान खाँको घरछेउमै रहेको कुवा अहिले नदी किनारमा परेको छ । श्रीवास्तव र पठानको घरको त्यहाँ नामोनिसान छैन ।

कैलाशको १७ कठ्ठा जमिनमा अहिले नदी बग्छ । पहिला नदी तीन किलोमिटर टाढा थियो । २०७१ सालमा ठूलो बाढी आउँदा नदी गाउँतिर आइपुग्यो । नदीले धार परिवर्तन गर्नुमा भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधको कारणले हो भन्नुहुन्छ श्रीवास्तव ।

भारतले सन् १९८५ देखि शुरू गरेर १९९० मा राप्ती नदीमा एकतर्फीरूपमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेको छ । त्यसका अलावा केही वर्षयता दशगजामै सटाएर सडकजस्तो बाँध बनाएको छ । जसले राप्ती नदी तथा स्थानीय खोलाहरूको पानीको बहावलाई रोकिदिँदा बाँकेका आधा दर्जन गाउँहरू वर्षेनी डुबानमा पर्दै आएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्