Logo

मनसुन सक्रिय भएसँगै बाढीको वितण्डा, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं, असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेको जानकारी दिँदै खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी राखेको बताए।

हालसम्म मुलुकभर २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घाइते भएका छन् । हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उद्धार गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै ४६२ घर तथा भवन पूर्ण रूपमा र ११० आंशिक रूपमा क्षति पुगेको छ । सम्भावित मनसुनजन्य जोखिम कायमै रहेकाले नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यस वर्षको मनसुनजन्य विपत््बाट क्षति भएका निजी घर पुनर्निर्माणका लागि दुई करोड ८६ लाख रकम निकासा भई विपत्् पीडितलाई वितरणको प्रक्रियामा रहेको जानकारी प्रवक्ता दाहालले दिए ।

सरकारले बाढी, पहिरोपीडितको निजी आवास पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । गत वर्ष मनसुनजन्य विपत्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि विपत् व्यवस्थापन कोषमा जम्मा भएको २० करोड रुपियाँमध्ये २० जिल्लाका तीन हजार ९३९ आवास निर्माणका लागि पहिलो किस्ता १९ करोड ९७ लाख ७३ हजार रुपियाँ रकम निकासा गरिएको छ । अर्थ मन्त्रालयबाट प्राप्त थप १० करोड रुपियाँ नुवाकोट जिल्लाका बाढीपीडितलाई अनुदानस्वरूप वितरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्