Logo

उडान सुरु भएको पहिलो दिन ५६ सय हवाई यात्रु



काठमाडौं, असार १८ । आन्तरिकतर्फ हवाई उडान सुरु भएको पहिलो दिन बिहीबार पाँच हजार ६ सय एक यात्रुले सेवा लिएका छन्। कोरोना महामारीका कारण ५८ दिन बन्द रहेको खुलेको उडानमार्फत बिहीबार दुई हजार चार सय ३० जना काठमाडौंबाट बाहिरिएका छन् भने तीन हजार एक सय ७० जना काठमाडौं भित्रिएका छन्।

आन्तरिकतर्फ साबिकको तुलनामा ५० प्रतिशत उडान मात्रै सञ्चालन गरिएको छ। बिहीबार ५१ उडानको तालिका थियो। तर मौसम खराब हुँदा भैरहवा, डोल्पा लगायतका आठ उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ। हवाई सेवा कम्पनीहरूले बिहीबारको उडानमा टिकट बुकिङ उत्साहजनक रहेको जनाएका छन्। पहिलो दिनमै ८० प्रतिशतभन्दा बढी बुकिङ आएको उनीहरूको भनाइ छ।

अन्तर्राष्ट्रितर्फ भने बिहीबार एक कार्गो उडानमात्रै भएको कार्यालयले जनाएको छ। हिमालय एअरलाइन्सले चीनका लागि एउटा कार्गो उडान भर्नेबाहेक यात्रुबाहक उडान नभएको कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रियतर्फ शुक्रबारका लागि ६ वटा उडान तालिका छ। महामारीका कारण घरेलुतर्फका नियमित उडान वैशाख २० देखि ठप्प थिए।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ दैनिक ६४ उडान हुने गरी अनुमति दिएको छ। प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ। हालको उडान तयारी ट्रंक रुट लक्षित छ। सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्