Logo

माधव नेपाललाई सम्झाएका बामदेव अब कता ?



काठमाडौं, १८ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव निर्णायक बिन्दुमा पुग्दै गर्दा नेता कार्यकर्ताले कित्ता अझ स्पष्ट पार्दै लगेका छन् । तटस्थ बसेको उपाध्यक्ष बामदेव गौतमले पनि विस्तारै आफ्नो कित्ता स्पष्ट पार्दै लगेका छन् ।

गौतम आजको एमाले केन्द्रीय कमिटी बैठकमा गए । माधव नेपाल पक्षरधले बहिष्कार गरेको बैठकमा गौतम जानुलाई अर्थपूर्ण मानिएको छ ।

आजको बैठकमा गौतमले आफ्नो धारणा पनि राखेका छन् । उनले एकताको पक्षमा लचिलो हुन अध्यक्ष केपी शर्मा ओलीलाई पनि आग्रह गरे । मिलाउने जिम्मा ओलीकै भएको स्पष्ट पारे । तर, माधव नेपालले राजीनामा नदिई काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोमा फरक मत रहेको बताए ।

एमाले एकता अभियान जारी रहेको र कुनै गुटमा नरहेको बामदेवले स्पष्ट पारे । उनले आफू एमालेमै रहेको र रहने स्पष्ट पारे । यसबाट पनि गौतम ओलीसँगै रहेर संघर्ष गर्ने पक्षमा रहेको सन्देश गएको छ । उनले माधव नेपाललाई पनि बैठकमा सहभागी हुन आग्रह गरेको सुनाए ।

गौतमले माधव नेपालले अब कि एमालेमा आउने कि नयाँ दल निर्माण गरेर जाने निर्णय लिनुपर्ने बताइसकेका छन् । नयाँ दल निर्माण गर्न नेपाललाई छुट रहेको विषय पनि केही दिनअघि निकटस्थसँग राखिसकेका छन् । नेपालले नयाँ दल निर्माण गरेमा उनको पक्षमा नजानेमा गौतम स्पष्ट भएका छन् । तर, उनी एमालेमा ओलीसँग संघर्ष गरेर रहने रणनीतिमा पुगेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot