Logo

कथा : तमासा



सहदत हसन मन्टो :  दुईतीन दिनयता अनन्त फैलिएको आकाशमा निरन्तर विमान उडिरहेका थिए । ती जहाज शिकारलाई घात लगाई उडेका बाजसरी आकाशमा मडारिइरहेका थिए । तातो हावाहुरीले निकट भविष्यमा हुन सक्ने कुनै डरलाग्दो दुर्घटनाको सन्देश प्रवाह गर्दै थियो । सुनसान बजारमा पनि हतियारबद्ध प्रहरीको गस्तीले वातावरणलाई झनै आतङ्कमय बनाएको थियो । बिहान भइनसक्दै मान्छेको भीडभाडले गुलजार हुने बजार कुनै अव्यक्त त्रासले सुनसान थियो । सम्पूर्ण सहर रहस्यमयी मौनतामा डुबेको थियो । डरलाग्दो आतङ्कको राज्य कायम भएको थियो ।

खालिद घरको मौनता र अचाल्की त्रासद वातावरणमा डराएको थियो । र, आफ्नो बुबाछेउ बसी कुरा गर्दै थियो ।

“बाबा ! तपाईं मलाई स्कुल किन जान दिनुहुन्न ?”

“बाबु, स्कुलमा छुट्टी छ ।”

“सरले त हामीलाई केही पनि भन्नुभएन । बरु हिजो हामीलाई होमवर्क पूरा नगरी आएमा सजाय हुनेछ भन्दै हुनुहुन्थ्यो ।”

“छुट्टीको कुरा भन्न बिर्सनुभयो होला सायद तिम्रो सरले ।”

“तपाईंको अफिस पनि छुट्टी हो र बाबा ?”

“हो हाम्रो अफिस पनि बन्द छ आज ।”

“राम्रो भएछ । अब म तपाईंसँग अब एउटा राम्रो गाउँखाने कथा सुन्न पाउँछु ।”

बाबुछोराबीच यस्तो कुरा भइरहँदा तीनवटा विमान ठुलो गर्जनका साथ उनीहरूको टाउको माथिबाट उडेर गए । विमान उडेको आवाजले खालिद डरायो । दुईतीन दिनयता उसले यस्तो विमान उडेको ध्यानपूर्वक नियालिरहेको थियो । तर, ऊ कुनै खास निष्कर्षमा पुग्न सकेको थिएन । उखरमाउलो गर्मीमा पनि आकाशको फन्को लगाइरहने विमान देखेर ऊ अचम्म परेको थियो ।

दिनहुँ उस्तै किसिमले आकाशको फन्को लगाउने जहाजको हर्कतबाट दिक्क भएर उसले भन्यो, “बाबा, मलाई यी जहाज यसरी उडेको देखेर डर लाग्छ । जहाज उडाउनेलाई भन्दिनुहोस् है बाबा, हाम्रो घरमाथिबाट उडाउन पाइँदैन ।”

“डर …! के भयो खालिद बाबु तिमीलाई ?”

“बाबा, जहाज डरलाग्दा छन् के । तपाईंलाई के थाहा, कुन दिन यी जहाजले हाम्रो घरमाथि बम फाल्ने छन्…। हिजो मामा ले आमालाई भन्दै थिइन् कि यसरी उड्ने जहाजमा थुप्रै बम पनि छन् अरे । यिनीहरूले त्यस्तो कुनै काम गरे भने मैले पनि जानेको छु । तपाईंले पोहोर साल ईदमा मलाई दिएको बन्दुक छ मसँग पनि ।”

खालिदको बुबा छोराको यस्तो अस्वभाविक वीरता देखेर हाँस्यो, “मामाले यस्तो कुरा त्यसै भन्छे । म उसलाई भनुँला कि घरमा यस्ता वाहियात कुरा नगर्नु भनी । शान्त होऊ, उनीहरूले यस्तो डरलाग्दो काम गर्ने छैनन् ।”

खालिदले बुबासँग विदा माँग्यो र आफ्नो कोठामा गयो । अनि खेलौनाको बन्दुक झिकेर निशाना लगाउने अभ्यास गर्न थाल्यो । ताकि जब विमानबाट उसको घरमा कसैले बम बर्सायो भने उसको निशाना पनि अचूक होस् र ऊ पनि बदला लिन सक्षम होस् । प्रतिशोधको यस्तो निष्कलङ्क भाव प्रत्येक मान्छेमा सवार भइदिए कस्तो हुन्थ्यो !

सानो बालक घरमाथि बम वर्षा भएमा कसरी प्रतिशोध लिने भनी विभिन्न तवरले सोच्दै थियो, ठिक यही बेला घरको अर्को कुनामा खालिदको बाउ श्रीमती छेउ बसी मामालाई सम्झाउँदै थियो । ‘अब देखि घरमा यस्तो कुनै कुरा नगर्नु जसबाट खालिदको मन भयभीत होस् या डर पलाओस् ।’

मामा र श्रीमतीलाई महत्वपूर्ण सल्लाह-सुझाव दिएर ठुलो ढोकाबाट निस्की बाहिर जानै लागेको थियो कि खादिमले सन्त्रस्त बनाउने खबर ल्यायो । “प्रशासनले लगाएको कर्फ्र्युको उल्लङ्घन गरेर भएपनि साँझ जुलुस हुने भएको छ । र, यसले कुनै न कुनै अप्रिय दुर्घटना निम्त्याउने आशङ्का बढाएको छ ।”

यस्तो कुरा थाहा पाएर खालिदको बाउ साह्रै भयभीत भयो । अब ऊ विश्वस्त भइसकेको थियो कि सन्नाटा छाएको वातावरणबीच विमानले आकाशमा लगाइरहेको फन्को, शहरका गल्लीमा हतियारबद्ध प्रहरीको गस्ती अनि जनताको उदास अनुहारले रक्तिरञ्जित कुनै आँधीमय दुर्घटनाको सङ्केत गर्दै थिए ।

यस्तो दुर्घटना कस्तो स्वरुपमा प्रकट होला ? यो कुरा खालिदको बाउलाई जस्तै अरु कसैलाई पनि थाहा थिएन । तर पनि सहर कुनै अव्यक्त भयले साँघुरिएको थियो ।

बाहिर जाने सोच त्यागेर खालिदको बाउले कपडा बदल्दै थियो । यत्तिकैमा विमान उडेको गर्जन बुलन्द भयो । ऊ डरायो । सयौं मान्छेहरू पीडामा तडपिएर एकसाथ कराएजस्तो भान भयो उसलाई ।

खालिद पनि विमानको गर्जन सुनेर कोठाबाट दौडिदै बाहिर आयो । उसको हातमा खेलौना बन्दुक थियो । आँगनमा उभिएर उसले पनि विमान उडेको ध्यानपूर्वक हेर्न थाल्यो । बम खसाल्न थाले भने उसले आफ्नो बन्दुकको मददले बम खसाल्ने जहाजलाई नै भुइँमा खसाल्न चाहन्थ्यो । छ वर्ष मात्र पुगेको त्यस बालकको अनुहारमा स्वतन्त्रताको आस्थाप्रति दृढ विश्वास थियो । उसले खिलौनाको बन्दुक मात्र समातेको भएपनि साहसको मामिलामा शुरवीर सिपाहीलाई पनि लज्जा अनुभूति गराउँदै थियो । उसलाई त्रसित बनाइरहेको आकाशभेदी आवाज भएको विमानलाई आज मटियामेट बनाउन चाहन्थ्यो ऊ ।

खालिदले हेर्दाहेर्दै जहाजबाट कुनै समान तल खस्यो । यो कागजका ससाना टुक्राको पोका थियो । आकाशबाट खसेलगतै कागजका यी टुक्रा हवामा चङ्गा सरी उड्न थाले । यसमध्ये केही टुक्रा खालिदको घरमाथि छतमा पनि खसे ।

खालिद दौडिदै छतमा पुग्यो र कागज ल्याएर फर्कियो ।

“बाबा, मामाले साँच्चै झूठो बोल्दै थिइन् । जहाजबाट गोलाबारुद नभई कागज पो खसे त ।”

खालिदको बाउले त्यो कागजको टुक्रा पढ्यो । पर्चा पढ्दै गर्दा उसको अनुहारको रङ्ग कालोनीलो भयो । उसले सम्भावित दुर्घटनाको स्पष्ट तस्वीर देख्न थालेको थियो । पर्चामा स्पष्ट रुपले लेखेको थियो कि प्रशासनले कुनै पनि प्रकारको जुलुस गर्न अनुमति दिएको छैन र यसको अवज्ञा गर्ने जनताले परिणामबारे स्वयम् जिम्मेवार हुनुपर्ने छ ।

पर्चा पढिरहेको बाबालाई चिन्तित मनस्थितिमा देखेर खालिदले डराउँदै सोध्यो, “कतै यो कागजको टुक्रामा उनीहरूले हाम्रो घरमाथि बम हान्ने कुरा त लेखेका छैनन् बाबा ?”

“खालिद बाबु, अहिले तिमी जाउ ! आफ्नो बन्दुकसँग खेल ।”

“तर पर्चामा के लेखेको छ बाबा ?”

“पर्चामा आज शाँझ एउटा तमासा गरिने कुरा लेखेको छ ।” अनावश्यक डर र तनाव सिर्जना नहोस् भनी बाउले झुठो बोल्छ ।

“तमासा हुनेवाला छ ! त्यसो भए तमासा हेर्न त हामी पनि जान्छौं होला नि त बाबा ?”

“के भन्यौ ?”

“त्यस तमासामा तपाईंले मलाई पनि लिएर जानुहुन्छ नि ?”

“हुन्छ लैजाउँला । अहिले तिमी खेल जाऊ ।”

“कहाँ गएर खेलुँ ? बजारमा तपाईं मलाई जान दिनुहुन्न । मामा मसँग खेल्दिनन् । मेरो साथी तुपैmल पनि अचेल हाम्रोमा आउँदैन । म खेलुँ त कोसँग खेलुँ ? आज साँझ तमासा हेराउन त लैजानुहुन्छ नि बाबा ?”

उसले जवाफ पर्खेन । बरु कोठबाट बाहिरियो र अरु कोठामा त्यसै बरालिदै खेल्दै बाबाको बैठक कोठामा पुग्यो । यस कोठाका झ्यालबाट बजार देखिन्थ्यो । अब त्यहीँ झ्यालनेर बसेर उसले बजारलाई नियाल्न थाल्यो ।

सहरमा पसलहरू बन्द छन् तर मान्छेको दौडधुप जारी छ । ती मान्छेहरू जुलुसमा सहभागी हुन जाँदै थिए । दुई तीन दिनयता पसलहरू बन्द देखेर ऊ पसल बन्द हुनुको कारण थाहा नपाउँदा तनावमा थियो । यस प्रश्नको उत्तर खोज्न उसले सानो दिमागमा बल दियो तर अपेक्षित परिणाम फेला पार्न सकेन ।

धेरै सोचविचार गरेपछि ऊ यस निष्कर्षमा पुग्यो कि जहाज जुन तमासाको सूचना बाँड्दै उडेका छन्, पसलेहरूले त्यही तमासा ठिक तवरले सञ्चालन गर्न बजार बन्द गरेका हुन् । उसको विचारमा अब यो तमाशा पक्कै पनि विशेष रमाइलोको हुनेछ जसको लागि पूरा सहर बन्द गरिएको छ ।

यस सोचले उसलाई उखरमाउलो बनायो । र, उसको बाबाले उसलाई तमासा देखाउन लैजाने र  तमासा शुरु हुने समय बेचैनीसाथ पर्खिन थाल्यो ।

समय बित्दै गयो… त्यो डरलाग्दो समय नजिक आउँदै गयो ।

सन्ध्याकालीन समय थियो । खालिद र उसका बाबाआमा आँगनमा बसेर एकअर्कालाई मौन आँखाले हेदै थिए । अचानक बतास सुसाएको आवाज आयो ।

सर्रर प्याट्टट्ट…

यस्तो आवाज सुनेपछि खालिदको बुबाको अनुहारको रङ्ग कागजको जस्तो सेतो भयो । मुखबाट मसिनो आवाजमा यतिमात्र भन्न सक्यो, “गोली ?”

डरले एकैठाउँ डल्लिएकी खालिदकी आमाको मुखबाट एउटै शब्द पनि निस्कन सकेन । गोली शब्द सुन्नबित्तिकै उसलाई यस्तो लाग्यो मानौ त्यो गोली उसकै छातीमा धसिएको थियो ।

जब खालिदले त्यो आवाज सुन्यो, उसले बाबाको हातको औंला समात्दै भन्यो, “बाबा जाउँ न ! तमासा शुरु भइसक्यो !”

“कुन तमासा बाबु ?” भयभीत बोली लुकाउने प्रयास गर्दै खालिदको बाउले भन्यो ।

“आज बिहान जुन तमासाको सूचना आकाशबाट खसेको पर्चामा थियो त्यही तमासा के ! खेल शुरु भइसकेको होला । त्यही भएर त यतिधेरै पटाखा पड्काएको आवाज आउँदै छ ।”

“अझै धेरै समय बाँकी छ । तिमी हल्ला नगर । भगवानका लागि अहिले जाउ तिमी, मामासँग गएर खेल !”

बाबाको यस्तो कुरा सुनेपछि ऊ भान्साकोठामा गयो । तर, मामालाई त्यहाँ नदेखेपछि ऊ प्रायः बाबा बस्ने गरेको बैठककोठामा गयो र झ्यालबाट सहर हेर्न थाल्यो ।

बजार सुनसान थियो । टाढा कतैबाट भुस्याहा कुकुर पीडामा कराइरहेको आवाज आउँदै थियो । केही समयपछि त्यही आवाजमा मान्छेले पीडामा आर्तनाद गरेको आवाज पनि मिसियो ।

कोही मान्छे दर्दमा कराइरहेको सुनेर खालिद छक्क पर्यो । मान्छे कराएको आवाज कहाँबाट आउँदै छ भनी ठम्याउन मात्र के खोज्दै थियो उसले । ठिक यहीबेला चोकमा एक जना युवालाई देख्यो उसले जो कराउँदै थियो, चिच्च्याउँदै थियो र भाग्दै उसको घर अगाडिको चोक भएतिर आउँदै थियो ।

खालिदको घर नजिकै पुगेपछि त्यो युवा लडखडायो र भुइँमा पछारियो । भुइँमा पल्टिएलगतै बेहोस भयो । उसको पिडुँलामा घाउ थियो जसबाट रगत बगिरहेको थियो ।

यस्तो अवस्था देखेर खालिद असाध्यै डरायो । दौडेर ऊ बाबा नजिक पुग्यो, “बाबा ! बाबा ! चोकमा एकजना केटा भुइँमा पल्टेको छ । उसको खुट्टाबाट रगत बगिरहेको छ ।”

छोराको यस्तो कुरा सुनेर उसको बाऊ दौडिदै झ्याल नजिक गयो । त्यहाँबाट हेर्दा साँच्चै चोकमा एकजना युवक उत्तानो पल्टिएको थियो ।

प्रशासनको डरले गर्दा उसले त्यस युवालाई सडकबाट उठाएर नजिकैको पसलको पेटीमा बसाल्न समेत सकेन । विपतमा परेकाहरूको लागि भनेर मुलुक सञ्चालकहरूले गाडीको व्यवस्था गरिदिएका थिए । तर, त्यो मासुम युवा पनि उही तानाशाही शासनको शिकार भएको न थियो ।

त्यो फक्रिदै गरेको बिरुवा उनीहरूकै हातबाट कुल्चिएको थियो । त्यो कोपिला फूल बनिनसक्दै शासकको रापिलो लूमा परि झुल्सिएको थियो । ऊ कसैको आशाको केन्द्र थियो जसलाई तानाशाही शासकले चुँडालेको थियो आपैmले तयार गरेको सडकमा… । ओहो ! कति भयानक हुँदो रहेछ मृत्यु । तर, शोषण यो भन्दा पनि कयौं गुना डरलाग्दो र भयानक हुन्छ ।

“बाबा त्यो केटोलाई कसैले पिटेको हो ?”

खालिदको बाउले ‘हो’ को सङ्केतमा टाउको हल्लाउयो र कोठाबाट बाहिर निस्कियो ।

अब खालिद कोठामा एक्लै थियो । त्यो केटोलाई खुट्टाको घाउले कति धेरै पीडा भइरहेको होला भनी उसले सोच्न थाल्यो । एकपटक पेन्सिलको चुच्चो मात्रै उसको औंला घोचेको बेला त उसलाई रातभरि निद्रा परेको थिएन र उसको बाबाआमाले त्यो रातभरि उसको सिरानीनेर बस्नुपरेको थियो (भने रगत भलभली बगेको त्यो खुट्टो घाउको पीडा त पक्कै असह्य होला)।

घाइते युवाको घाउ र आफूलाई पेन्सिलले घोचेको सानो घाउको तुलना गर्न थाल्यो खालिदे । उसले युवाको पिडुँलामा भएको घाउ आफ्नै पिडुँलामा भएको अनुभूति गर्यो जसमा अथाहा दुखाइ थियो । यस्तो अनुभूतिले गर्दा अचानक ऊ रुन थाल्यो ।

छोरा रोएको सुनेर उसको आमा दौडिदै आई र उसलाई काखमा राखेर सोधी, “मेरो छोरा किन रोएको ? के भयो ?”

“ममी, त्यो केटालाई कसैले पिटेको हो ?”

“फट्याइँ गर्यो होला नि त्यसले !”

छोराको बाबुबाट घाइते युवाको बारेमा थाहा पाइसकेकी थिई आमाले ।

“तर स्कुलमा फट्याइँ गरेको बेलामा त सानो लट्ठीले सजाय दिन्छन् । यसरी रगत त कसैले पनि निकाल्दैन !” खालिदले रुँदै आमालाई भन्यो ।

“अलिक जोडले लट्ठीले हिर्काए होलान नि ।”

“उसो भए यो केटाको बाबा पनि स्कुल गएर आफ्नो छोरालाई यसरी पिट्ने मास्टरसँग रिसाउनुहुन्छ होला । एकपटक जब एकजना सरले मेरो कान निमोठेर रातो बनाइदिनुभएको थियो, बाबाले पनि गएर हेडसरसँग गुनासो गर्नुभएको थियो नि ?”

“यो केटालाई पिट्ने मास्टर ठुलो मान्छे हो ।”

“अल्लाह मियाँभन्दा पनि ठुलो मान्छे ?”

“होइन, अल्लाहभन्दा सानो ।”

“त्यसो भए उसको बाबाले अल्लाहसँग गुनासो गर्नुहुन्छ ।”

“खालिद, अब ढिला भइसक्यो बाबु । अब सुत्न जाउँ है ।”

“अल्लाह मियाँ ! मेरो प्रार्थना छ, यो केटालाई यसरी पिट्ने सरलाई उचित सजाय गर्नु । अनि उसँग भएको ठुलो लट्ठी पनि थुतेर राख्नु जसले पिट्दा यसरी रगत आयो । मैले दुना पढ्न भ्याएको छैन । त्यसैले मलाई डर लागेको छ । त्यही ठुलो लट्ठी मेरो सरको हात पर्यो भने ! अल्लाह ! तैले मेरो कुरा सुनिनस् भने म फेरि कहिलै तँसँग बोल्ने छैन ।”

सुत्ने बेला पनि खालिदले अल्लाहसँग प्रार्थना गर्दै थियो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम