Logo

सिनेमा : सनकी जोडीको एकदिने यात्रा



नवीन नवीन  : मलाई पनि झोँक चल्थ्यो, यात्रामा कोही भेटियोस् र त्यही छोटो यात्रामा फेरि भेट नहुने गरी सकियोस् सम्बन्ध । १० वा २० वर्षपछि विवाहित भइएला, विवाहसँग उस्तो खुसी पनि नभइएला । अहिले बाँच्नुपर्ने समय बाँचिएन भने पछि पछुतो मात्रै होला ।

खैर, ‘भोलि’ को चरित्र नै अनपेक्षित हुन्छ । ‘हिजो’ बाँच्नका लागि ऊर्जा हो, ‘आज’ चाहिँ खास जिन्दगी हो । ‘भोलि’ सधैं अँध्यारो हो हरेक मानिसका लागि । त्यो अँध्यारो आशा हो, उज्यालो हो । त्यही रातजस्तो भोलिको पर्खाइमा बाँचिरहेका हुन्छौँ हामी फेरि । कस्तो ठूलो विरोधाभास छ हिजो र आजबीच, सोच र वास्तविकताबीच !

जेस्सिई भियनाबाट अमेरिकाको फ्लाइट समात्न ट्रेन चढिरहेका छन् । उता सेलिन त्यही ट्रेनमा पेरिस फिरिरहेकी छन् । र, सनकी युवक-युवतीको त्यही एक दिने यात्राको कथा हो ‘बिफोर सनराइज’ (१९९५) । यसपछि नौ-नौ वर्षको अन्तरालमा त्यही कलाकारलाई लिएर खिचिएका ‘बिफोर सनसेट’ (२००४) र ‘बिफोर मिडनाइट’ (२०१३) आयो ।

एकै ड्रेसमा सकिएको यो सिनेमा जति रुचिपूर्ण छ, उति नै सुन्दर पनि । एक दिनको कथा, एकै ड्रेसमा सकिएको कहानी र सुन्दर कथावाचन, मैले सायदै हेरेको छु । साधारण कथालाई कसरी सुरुचिपूर्ण तरीकाले भन्न सकिन्छ, उदाहरण हो यो ।

तर, ‘विफोर’ सिरिजको अर्को शृंखला आउने वेला भयो । आउँदो वर्ष त २०२२ हो । यसका लागि निर्देशक रिचर्ड लिंकलेटरले तयारी पनि गरिसकेका छन् । सेलिनको भूमिकामा रहेकी जुली डेल्पीले नखेल्ने बताएर खल्लो बनाएकी छन् । उनको आफ्नै तर्क छन् सिनेमा अस्वीकार गर्नुमा । तर, मजस्ता दर्शकका लागि यो घोर अन्याय हो । उनले नै नखेले सिनेमा हेर्न के मजा आउला र ! ‘युरोपा युरोपा’, ‘थ्री कलरर्सः ह्वाइट’ जस्ता सिनेमा दिलको एक कुनामा सुटुक्क राखिदिएकी जुलीको ३६ वर्षे कथा हेर्न आतुर छु ।

५१ वर्षकी जुलीको यही ३६ वर्षे कथाले नै बताउँछ, सौन्दर्य भन्ने चिज उमेर अनुसार फरक–फरक विन्दुमा उभिन्छ । मस्त बैसमा भएका वेला त्यही बैंस, रुप हो सौन्दर्य । अलि म्याच्युर्ड हुँदै गएपछि ‘करियर’ सौन्दर्य भएर आउँछ । करियरमा स्थापित भइसकेपछि जिन्दगीमा सोलोडोलो अनुभव मानिसको सबैभन्दा ठूलो सौन्दर्य हो । र, बूढेसकालमा अनुहारको चाउरीमा चेपिएको हाँसो सौन्दर्य हो । ‘बिफोर सनराइज’ मा मस्ट ब्युटिफुल गर्ल अरु सिरिजमा बिस्तारै बूढी हुँदै जान्छिन् । सुरुको च्याप्टरमा जति मनपर्छ सेलिन, त्यसपछिका च्याप्टरमा पनि उत्तिकै ब्युटिफुल लाग्छ । ‘डर्टी पिक्चर’मा जति बोल्ड लाग्छिन् विद्या बालन, ‘शेरनी’मा उत्तिकै बोल्ड लागे झैं ।

जब–जब ‘बिफोर’ सिरिज सम्झन्छु, सेलिनलाई लभलेटर लेख्न मन लाग्छ । र, भन्न मन लाग्छ, ‘तिमी बिफेर सिरिजमा फेरि देखिनुपर्छ सेलिन । मस्ट ब्युटिफुल युनिभर्सिटी गर्ल हुँदादेखिन् मन परेको तिमी जतिजति उमेरको पत्र उप्काउँदै गयौ, उति–उति तिमी मलाई सुन्दर लाग्छ । सधैं जेस्सिईको ठाउँमा म आफूलाई भेटाउँछु । बिफोर सिरिज तिमीले नखेले त धेरैथोक अधुरै हुनेछ मेरा लागि ।’



प्रतिक्रिया दिनुहोस्