Logo

शिक्षा : अनलाइन कक्षाका लागि केही सुझाव



भगवान खनाल : अनलाइन कक्षाहरु कमजोर देखिएका छन् । साना कक्षाहरु पुरा भाषण विधिमा आधारित देखिए । छोराछोरीको अनलाइन कक्षा चलेकोमा अभिभावक खुशी भए पनि कसरी पढाइ भैरहेको छ ? शिक्षकले कसरी पढाउँदैछन् ? बालबालिकाले बुझ्न सकेका छन्, छैनन्  भन्नेमा पनि ध्यान दिनु आवश्यक छ । अनलाइन कक्षा कस्तो भैरहेको छ भन्नेमा विद्यालयले अभिभावकसँग अन्तरक्रिया गर्ने कि ?

सरकारीलाई कक्षा सञ्चालन गर्नै धौ छ भने निजीमा पठनपाठन सञ्चालन भए पनि सिकाइ क्रियाकलाप कमजोर देखियो । निजी विद्यालय पढे पनि बालबालिकाको अंग्रेजी र नेपाली उच्चारण दुवै अशुद्ध छ । माथिल्ला कक्षामा पढाउने शिक्षकले तल्ला कक्षाका शिक्षकलाई दिशानिर्देश गर्न आवश्यक देखियो । जसोतसो कठिन परिस्थितिमा कक्षा सञ्चालन हुनु राम्रो अभ्यास देखियो । विद्यालय (शिक्षक), अभिभावक र विद्यार्थीहरु प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइमा अभ्यस्त हुँदै जानु सकारात्मक देखियो । मेरा केही सुझावः

१. अति छिटो नबोलिदिनुहोस् ।

२. अनलाइन कक्षामा पनि भौतिकमा झैं पृष्ठपोषण दिनुहोस् ।

३. विद्यार्थीले बुझेन भन्दा नझर्कीकन पटकपटक बुझाउने चेष्टा गर्नुहोस् ।

४. छिटो पाठ भ्याउने ध्याउन्नमा नलाग्नुहोस् । पहिलो पाठ गतिलो गरी, प्रणालीबद्ध रुपमा पढाइदिएमा अन्य पाठमा पनि बालबालिकाले त्यसलाई अनुसरण गर्न सक्छन् ।

५. भिडियोमा शिक्षकशिक्षिका पनि देखिनु होस् ।

६. मार्करबोर्डको व्यवस्था गर्न विद्यालयलाई अनुरोध गर्नुहोस् । गणित विषय बाहेक अन्य विषयमा मार्कर बोर्डको व्यवस्था भएको देखिएन । शिक्षकले एउटा अक्षर पनि बोर्डमा लेखेको देखिएन । वा अन्य प्रविधिको प्रयोग गरी लेख्दै पढाउनुहोस् ।

७. शुद्ध पठन र लेखनमा ध्यान दिनुहोस् । बालबालिकाले शुद्ध उच्चारण नगरेमा सुधार गरिदिनुहोस् ।

८. गृहकार्यसँगै परियोजना कार्य दिने बानी बसाल्नुहोस् ।

९. रचनात्मक र सिर्जनात्मक हुनुहोस् । उदाहरणहरु दिदैं बुझाएर शिक्षण गर्नुहोस् ।

१०. नझर्किनुहोस् । माया ममताले पढाउनुहोस् ।

११. पढ्नुस्, अनि मात्रै पढाउनुहोस् ।

१२. कक्षालाई अन्तरक्रियात्मक बनाउनुहोस् । सहभागितात्मक बनाउनु होस् । बालबालिकामा समालोचनात्मक चिन्तनको विकास गराउन ध्यान दिनुहोस् ।

१३. बालबालिकालाई प्रश्न सोध्ने बनाउनुहोस् । जिज्ञासु बनाउनुहोस् ।

१४. जुम बाहेक अन्य सफ्टवेयरको खरिद गर्न तर्फ विद्यालयले ध्यान देओस् । सिकाइलाई प्रभावकारी बनाउन अन्य सफ्टवेयरको विकास भैरहेकोले विद्यालयले ध्यान देओस् ।

 



प्रतिक्रिया दिनुहोस्