Logo

भीम रावललाई ऋषि धमलाको प्रश्न : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गर्न लाज लागेन ? (भिडिओसहित)



काठमाडौं, १९ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन पार्टीले दिएको निर्देशन नै अवैद्य भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीको निर्णय नमानेर आफूहरुले कहिले भनेको छ र ? भन्दै उल्टै प्रश्न गरे । उनले भने,‘हामी पार्टीको निर्णय मान्छौं । पार्टीको निर्णय भनेको विधानसम्मत् हुनुपर्छ । औपचारिक कमिटीबाट निर्णय भएको हुनुपर्छ । यस्ता निर्णय नमान्ने भन्ने कुरै आउँदैन् । तर, पार्टीको विधान मिचेर गरिएका निर्णय किन मान्ने ?’ आफूहरुले संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षाको लागि देउवाको पक्षमा हस्ताक्षर गरेको उनको भनाई थियो ।

पत्रकार धमलाले तपाईहरुले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गर्नको लागि लाज लाग्दैन् ? भनेर सोधेको प्रश्नमा नेता रावलले भने–‘हेर्नुहोस, यो लाज लाग्ने कुरा, यदि यो लाज लाग्ने कुरा हो भने म तपाईँलाई स्मरण गराउँछु, निर्वाचनपछि हामीले झण्डै दुई तिहाई बहुमत पायौं । कुनैपनि पार्टीले निर्वाचनबाट बहुमत ल्याईसकेपछि आफ्ना कार्यसुचि कार्यान्वयन गर्छ । जनताको अगाडि आफूले जारी गरेको घोषणाहरु पूरा गराउँछ । तर, के भयो ? त्यो दुई तिहाई भएको सरकार त्यतिवेला, समाजवादी पार्टीलाई ल्याएर सरकारमा राखियो । यसबारेमा पार्टीमा कतै छलफल भएन । दोस्रो भर्खरै के गरियो त प्रतिनिधिसभामा प्रदेश नम्बर २ बाट जम्माजम्मी २० जना भएका राजनीतिक दलबाट ११ जनालाई मन्त्री बनाईयो । र, त्यो प्रदेशबाट १३ जना मन्त्री बनाईयो । जब प्रणाली यसरी मिचिएपछि, यसरी पार्टीको सिद्धान्त मिचिएपछि, देशको रक्षाको लागि पाईला चाल्दा, जसले हिजोदेखि हामीले आन्दोलनमा संयुक्त भएर पाईला चाल्यौं, अब यसको रक्षा गरौं भन्दा यो आफ्नो पार्टीको प्रधानमन्त्रीलाई ढालेर अर्को पार्टीसँग मिल्ने भन्ने उद्देश्य बुझिँदैन् । हामीले हस्ताक्षर किन गर्यौं भनेर पृष्ठभूमि भनिसकें नि ।’



प्रतिक्रिया दिनुहोस्