Logo

पृथ्बीसुब्बा गुरुङको दाबी : केपी ओली र माधव नेपालबीच वार्ता हुन्छ, हामी मिलाउँदैछौं (भिडिओसहित)



काठमाडौं, १९ असार । नेकपा (एमाले) का नेता तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले एमाले अहिले नभएर धेरै अगाडि नै फुटेको बताएका छन् । उनले भने,‘नेकपा हुँदै यो फुटिसकेको थियो नि, प्रचण्ड र माधव नेपालजी एकातिर भाको हो । त्यतिखेर पनि हामीले पार्टी बचाउन प्रयत्न गरेको हो । तर, चाहीँ भएन । अहिले चाहीँ अब यो झण्डझण्डै अन्तिम बेला हो । एमाले र माओवादी केन्द्रलाई जसरी पूरानै अवस्थामा पुर्याईदियो, त्यसपछि अहिले नेकपा एमाले फेरि चाहीँ, नेकपा फुट्यो दुई वटा भयो । अर्को फेरि एमाले पनि संग्लो नभएर विभाजन र गुटबन्दी यो जो भैरहेको छ । अहिले मुलुकको राजनीति नै संकटमा परेको छ । अस्थिरता सुरु भएको छ । व्यवस्था र संघीयतामाथि प्रश्न उठ्ने काम चाहीँ भएको छ, मौका कुरेर बसेकाहरुलाई सजिलो भएको छ ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको लागि पनि एमालेको आन्तरिक एकता आवश्यक र अपरिहार्य रहेको सुनाए । उनले नेताहरुले पछि फर्कनसक्नेगरि अगाडिको कदम चाल्नुपर्नेमा जोड दिए । उनले माधव नेपाल संस्थापक नेता भएकोले गलत कदम नचाल्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुने दाबी गरे । राजनीतिमा कुनै पनि कुरा असम्भव नरहेको जिकिर गरे । दुई नेताबीच लामो समयपछि टेलिफोनमार्फत कुराकानी भएको र आफूहरु दुई नेतालाई वार्तामा राख्न लागिपरेको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्