Logo

इंग्ल्यान्डविरुद्ध युक्रेनः को कति बलियो



काठमाडौं, १९ असार । आज राति इंग्ल्यान्डविरुद्ध युक्रेनले युरोकप फुटबलको क्वाटरफाइनल खेल्दैछन् । दुवै टोली युरोकपको प्रदर्शनले उत्साही छन् ।

इतिहासलाई केलाउने हो भने युक्रेनको तुलनामा इंग्ल्यान्ड फुटबलमा निकै बलियो छ । इंग्लिस प्रिमियर लिग विश्वकै लोकप्रीय र बढी लगानी भएको व्यवसायिक फुटबल हो जुन इंग्ल्यान्डमा हुन्छ ।

इंग्ल्यान्डले एकपटक विश्वकप जितिसकेको छ । २०१८ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । युक्रेन स्वतन्त्र राष्ट्र बनेपछि २००६ मा एकपटक विश्वकपमा छनोट भएर क्वाटरफाइनलसम्म पुगेको थियो । तर, खेल इतिहासले भन्दा वर्तमानको प्रदर्शनले जितिन्छ । युक्रेनलाई जित्न त्यसकारण पनि इंग्ल्यान्डलाई सजिलो छैन ।

फिफा वरियतामा पनि इंग्ल्यान्ड माथिल्लो स्थानमा छ । फिफा वरियतामा इंग्ल्यान्ड चौंथो नम्बरमा छ । युक्रेन २४औं स्थानमा छ । आफूभन्दा २० स्थान माथिको देशसँग युक्रेनले युरोकपको क्वाटरफाइनल खेल्देछ ।

इंग्ल्यान्ड युरोकपको दाबेदार राष्ट्र हो । युक्रेन समूह चरणमा निकै कठिनाईका साथ अन्तिम १६ मा पुगेको थियो । तर, क्वाटरफाइनलमा प्रवेश गर्न उसले स्वीडेनविरुद्ध जीत हासिल गरेको थियो । युक्रेनको खेल निकै सुधारिएको छ । युक्रेनका प्रशिक्षक आन्ड्री सेभचेन्कोसँग फुटबलको राम्रो अनुभव छ । जिन्चेन्को जस्ता मिडफिल्डर युक्रेनसँग छन् ।

फुटबलको महाशक्ति इंगल्यान्डसँग विश्व चर्चित खेलाडीहरु छन् । ह्यारी काने, फोडेन, स्टरलिङ, स्टोन्स जस्ता खेलाडीले इंग्ल्यान्डको राष्ट्रिय टोली भरिएको छ । टोलीले अन्तिम १६ मा फुटबलको अर्को महाशक्ति जर्मनीलाई पराजित गरेर देखाइसकेको छ । इंग्ल्यान्ड यसपटक युरोकपको मुख्य दाबेदार बनेको छ ।

इंग्ल्यान्ड र युक्रेनमध्ये इतिहास र वर्तमानको प्रदर्शनबाट इंग्ल्यान्ड बलियो देखिन्छ । तर, खेलमा निकै सुधारिएकाले युक्रेनलाई कम आँक्न मिल्दैन । खेलमा युक्रेनले चमत्कारिक प्रदर्शन गरेर सेमिफाइनलमा प्रवेश गरी इतिहास रच्न पनि सक्छ ।



प्रतिक्रिया दिनुहोस्