Logo

न महाभारत ‘यौनिक’ हो न त कर्णमाथि ‘अन्याय’ भयो



गणेश घिमिरे : 

खासै लेखि टोपल्ने लेखक त होइन म । तैपनि लेखनी चल्छ मेरो गाहे बगाहे ।

केही समयको अन्तरालमा गनेस पौडेल र हरि शर्माका दुईवटा लेख पढेको थिएँ । ‘महाभारतमा यौनिकता’ शीर्षकमा नागरिक दैनिकमा छापिएको पहिलो लेखकको लेख शायद डेढ वर्ष अघिको हुनुपर्छ । र, त्यसैको एकाध सातापछि अर्का लेखकको सेतोपाटीमा निस्केको लेखको निष्कर्ष थियो – ‘कर्णमाथि अन्याय नभएको भए अर्कै लेखिने थियो महाभारत कथा’ । पुनः केही समयको अन्तरालपछि (मिति यकिन भएन मलाई) त्यही महाभारतसँग सम्बन्धित सेतोपाटीमा अर्को लेख प्रकाशित भयो, अज्ञात लुइटेलको, ‘मानश्चः दूर्योधने’ ।

पहिला गनेसजीको लेखतर्फ लागौं । उहाँको शीर्षक नै अलिक पचेन मलाई ।

कारण ?

‘धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ ।

यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् ।।’

अर्थात्

मानव जातिको उत्थानको लागि चाहिने प्रमुख चार पुरुषार्थहरु – धर्म, अर्थ, काम र मोक्षका बारेमा भारत वर्ष भरी र अन्यन्त्र पनि (वेद, वेदाङ्ग, पुराण, उपनिषद, आदि, इत्यादिमा) जे जती पनि ज्ञान छ वा पाइन्छ त्यो सबै यहाँ छ । यहाँ अर्थात् महाभारतमा नभएको ज्ञान अन्यत्र कहीँ पनि छैन । यसलाई अलिक विस्तारमा बुझ्ने प्रयास गरौं है त !

सृष्टिकर्ता ब्रह्माजीले सबै कुरा रच्नुभयो (जल, वायु, पृथ्वी, आकाश, चराचुरुङ्गी आदि इत्यादि) । तर पनि उहाँको चित्त कत्ति पनि बुझेन । यिनीहरु कसैले पनि ब्रह्माजीको बिँडो थामेनन् । तत्पश्चात् उहाँले मानसरुपमा अनेक पुत्रहरु जन्माउनु भयो । सनकादिक, नारद, आदि ।

विडम्बना !

ती कसैले पनि ब्रह्माजीको बिँडो थाम्ने भएनन् अर्थात् संसार चलाउन मद्दत गरेनन् । उनीहरु सबैलाई मुक्ति मार्गमा हिँड्नु थियो । हिँडे । र, सबै जना यस ब्रह्म मायाबाट मुक्त भए पनि ।

ब्रह्माजीलाई सारै नै पीर पर्यो ।

‘मैले यत्रो दुःख गरेर सृष्टि रचेँ । तर यसको रेखदेख गरिदिने कोही भएनन् । हैन, केही न त गर्नै पर्छ ।’

यसरी मनमा अनेक तर्कना खेलाउँदा खेलाउँदै ब्रह्माजी पुनः ध्यान समाधिमा लीन हुनुभयो । निकै समयको लामो अन्तराल पछि (सहस्र लाखौं वर्षपछि । यहाँ बुझ्नु पर्ने सामान्य कुरो, पृथ्वीको एक वर्षको समय ब्रह्माको लगभग एक दिनको समय हुन आउँछ ।) मुल तत्त्व प्रकट भयो, अर्धनारिश्वरको रुपमा । ब्रह्माजीले आफ्नो दुखेसो पोख्नुभयो । अर्धनारिश्वरले ब्रह्माजीलाई वरदान दिनुभयो । तत्पश्चात् आफूलाई नारी र पुरुष दुई पूर्ण भागमा विभाजित गरेर भन्नुभयो, ‘हे ब्रह्मदेव, लौ अब मैथुन प्रक्रियाबाट सृष्टि रच्नुहोस् ।’ परिणाम स्वरुप मैथुन प्रक्रियाबाट ब्रह्माजीले आफूले रचेको सृष्टिलाई प्रलय कालसम्मन् संरक्षण गर्ने संरक्षक भेट्नु भयो ।

तसर्थ गनेसजीले ठोकुवा गरे जस्तो महाभारत केवल यौन चर्चा परिचर्चाको विषयवस्तु होइन । यौनका विविध रुपहरु भने अवश्य छन् त्यहाँ !

आदिकालमा बिना मैथुन स्वयम् ब्रह्माजीले पनि सृष्टि रचनामा पूर्णता पाउन सक्नु भएको थिएन भने महाभारत त सत्य र त्रेता युग पछिको तेस्रो अर्थात् द्वापर युगको कथा हो । यसर्थ महाभारत गनेसजीको यौनिकताको कथा नभएर यौनका विभिन्न आयामहरुको कथा हो भन्न चाहिँ सकिन्छ । काम बिना त कुनै पनि कार्य पूर्ण हुँदैन ।

त्यसो त यौनलाई पूर्णतः जान्न कसले पो सकेको छ र आजको मिति सम्मन् ? बरु यौन सम्पर्क नगरीकनै पनि सन्तान जन्माउन सकिन्छ है भनेर महाभारतले सिकाएको छ । द्रोणाचार्य मानव इतिहासकै पहिलो टेष्ट ट्यूब बेबी हुन् ।

एक पटक महर्षि भारद्वाज गंगा स्नान गर्न जानुभयो । जुन बेला उहाँ गंगा तटमा पुग्नुभयो, ठ्याक्कै त्यही समय घृताची नामक अप्सरा स्नान कर्म सकेर गंगाबाट बाहिर निस्कँदै थिइन् । भारद्वाजको नजर अप्सरा माथि प¥यो । उनले आफ्नो काम वासनालाई वशमा राख्न सकेनन् । भारद्वाजले उक्त अप्सरासँग सहवासको कल्पना गर्नासाथै उनको वीर्य पतन हुन थाल्यो । त्यो देखेर ऋषिवरले तुरुन्तै आफ्नो वीर्य समेटेर द्रोण नामक कलशमा राखिदिनु भयो । यसरी एक महानतम् गुरु द्रोणको जन्म भयो जसले कुरु कुललाई शिक्षित बनाए र अर्जुन जस्तो महान् शिष्य पनि पाए ।

विद्वान् लेखक भन्नुहुन्छ, ‘महाभारत चन्द्रवंशीहरुको कथा हो । यसर्थमा महाभारत खासमा लहडीहरुको कथा हो । मानस कथा हो । कल्पनाको एक सीमाहीन कथा जहाँ जे पनि सम्भव थियो । मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारत ।’

गनेसजीले भने जस्तै महाभारत यदि कल्पना नै हो र थियो भने त्यस भन्दा पनि हजारौं लाखौं वर्ष पहिले रचिएको गणेश पुराणमा वर्तमान् कलियुगको २१ औं शताब्दीमा सम्पूर्ण मानव जातिलाई नै घरभित्र कोचेर निरीह पार्ने कोरोना भाइरसको बारेमा किन र के कति कारणले लेखियो होला ? विद्वान् लेखकज्यूबाट उत्तर पाए अत्यन्तै आभारी हुने थिए मजस्ता अज्ञानीहरु ।

हेक्का रहोस् महाभारत वेदव्यासले होइन श्रीगणेशजीले लेख्नु भएको हो । वेदव्यासले त महाभारतको कथा वाचन मात्रै गर्नु भएको हो ।

सानो सुझाव दिन चाहन्छु गनेसजीलाई । यौनिकताको विषयमा त्यति नै जान्न मन लागे अलिक परापूर्व कालतिरै जानुहोला । अचेलको अध्ययनले त्यसको जरो भेट्दैन । न त इण्डियाको खजुराहोले नै प्रष्ट्याउन सक्छ ! खजुराहो संस्कृतिले यौनिकताको बारेमा केही चैँ अवश्य बोलेको छ ।

द्वापर युगमा लेखिएको कथा भए पनि केवल द्वापर युगेको मात्रै विषयवस्तु भने होइन महाभारत । यसका रचयिता वेद व्यास र लेखक श्रीगणेश जब जब धर्मराउँछन् काल अर्थात् समय स्वयम् कथावाचकको रुपमा अगाडि सर्दछ ।

र, समय न त हिजो थियो । न आज छ । न त भोलि नै रहन्छ । समय अनन्त छ । समय जति अनन्त छ त्यति नै क्षणभङ्गुर पनि । समय जति अनमोल छ त्यति नै मूल्यहीन पनि । तब न पूर्वीय सभ्यताको इतिहास बन्न पुग्यो महाभारत !

महाभारत आज पर्यन्त निरन्तर चलिरहेछ हरेक घरमा । हरेक समाजमा र हरेक सभ्यतामा । चाहे त्यो पाश्चात्य होस् वा पूर्वीय, उत्तरी होस् वा दक्षिणी, क्षेत्रीय होस् वा ध्रुवीय । नपत्याए एकछिन आँखा उघारेर आफ्नो चारैतिर हेर्नुस् !

प्रकृति र पौरुषतामा पनि थोर बहुत तल माथि होला । अनेकन् ग्रन्थहरु रच्न सकिएला । तर समय ? समयको बारेमा जति नै बहस र चिन्तन गरे पनि निरर्थक हुन्छ । महाभारत समयको कथा हो । यो द्वापर युगको कथा हो । अझ भनौँ त्यसभन्दा पनि पूर्वाेत्तर समयको कथा हो ।

अब लागौँ, अर्का लेखक हरि शर्माको लेखतर्फ । शायद सबैभन्दा बढी विवादित लेख पनि हो क्यार ! विभिन्न विद्वान्हरुले निकै खरो टिप्पणी गरेका थिए । प्रा.डा. आमोद आचार्यज्यूले तुरुन्तै ट्विट गर्नु भएको थियो ।

‘‘गज्जब’ भनेर प्रशंसा गरिएका लेखकलाई महाभारतका रचयिताको नाम मात्र पनि थाहा रहेनछ … सनातन धर्मका ग्रन्थलाई आलोचना गर्ने उद्देश्यले नै यो लेख लेखिएको रहेछ । सबै आफ्नै कर्मफल भोग्न जन्मन्छन् भन्ने कुरा लेखकले बुझेका रहेनछन् ।’

अरु जे सुकै भए पनि यहाँ मेरो विषयवस्तु चैँ कर्णमाथि अन्याय भएको थिएन भन्ने मात्रै हो । यस कुरालाई स्वयम् सूर्य पुत्रले नै कैयौँ पटक स्विकारेका छन् ।

वर्तमान कलियुगमा त बिना बाबुको सन्तानले मान्यता पाउँदैन । कलियुग अर्थात् धर्ममाथि अधर्मको बोलवाला । अनि त्यो द्वापर युगमा एउटी अविवाहित बालिका कुन्तीले कसरी कर्णलाई संसार सामु निर्धक्क भएर चिनाउन सक्थिन् ?

हस्तिनापुरको रङ्गभूमिमा जब कुन्तीलाई कर्णको वास्तविकता थाहा भयो, उनी बेहोस् नै भइन् । होश खुल्नासाथै उनले तुरुन्तै भीष्म पितामहसँग आफ्नो कुरो राख्न खोजिन् । तर स्वयम् श्रीकृष्णले कुन्तीलाई रोक्दै भन्नुभयो –

‘सत्य उजागर हुने समय अहिल्यै आइसकेको छैन फुपू । समय अगावै गरिएको कुरो कहिल्यै फत्ते हँुदैन ।’

कर्णको बाल्यकाल कुन्ती मातासँग नै बितेका प्रसंगहरु पनि छन् । भीष्म पितामहले जब पाण्डवहरु जन्मेको र पाण्डु–माद्री बितेको खबर पाए, उनी तुरुन्तै कुन्तीलाइ भेट्न पुगे । यही समय थियो कर्ण–कुन्तीको पहिलो भेट । वियोग पश्चात्को त्यही प्रथम मिलनमा नै कर्णलाई कुन्ती आफ्नी जननी भएको आभास हुन्छ ।

पटक पटक प्रयास गर्दा पनि कुन्तीले आफ्ना छोराहरुलार्ई एकै ठाउँमा मिलाउन सकिनन् । तथापि महाभारत युद्धको पहिलो दश दिन उनले कर्णलाई युद्धस्थलबाट टाढै राख्न भने सफल भइन् । चाहे त्यो स्वयम् दानवीर राधेय कर्णसँग दान मागेर होस् वा भीष्म पितामहसँग आफ्नो दुखेसो पोखेर वा स्वयम् मुरलीधरसँग आफ्नो ममताको भिक मागेर किन नहोस् !

मगधराज जरासन्धलाई पराजित गर्दा मात्रै हैन, पाण्डु पुत्रहरु जङ्गलमै रहँदा पनि कर्णलाई आफ्नो अस्तित्व कुन्ती मातासँग जोडिएको पूर्णाभास भैसकेको थियो । गुरु द्रोणले कुरु कुमारहरुलाई शिक्षा दिनुभन्दा केही अगाडि सम्मन् पनि कर्ण पाण्डवहरुसँग खेल्न रुचाउँथे न कि कौरवहरुसँग ।

यसरी हस्तिनापुरको रङ्गभूमिमा अर्जुनसँगको द्वन्द पश्चात् त कर्णलाई आफू कुन्तीपुत्र भएको पूर्ण ज्ञान भए तापनि उक्त रङ्गभूमिको द्वन्द्व पश्चात् कर्ण दूर्योधनको उपकारको बोझ तल उठ्नै नसक्ने गरी दबिइकेका थिए ।

जरासन्ध वध पश्चात् सबै जना आ–आफ्नो बाटो लाग्दा सूर्यपुत्र श्रीकृष्णसँग घण्टौँ बियाउँछन् ।

स्वयम् भगवानले ‘तिमी मलाई किन रोज्दैनौ राधेय ?’ भनेर सोध्दा दानवीर कर्ण भन्छन्, ‘हामी दुईको प्रारब्ध एउटै भए पनि गन्तव्य भिन्न छ माधव ।’

‘तपाईं पनि त यशोदा मैयाँसँग हुर्किनु भयो जसरी मेरो लालनपालन राधा माताले गर्नुभयो । राधासँग प्रेम गर्नुभयो तर रुक्मिणीलाई विवाह गर्नु पर्यो । मैले पनि त वैशालीलाई त्यसै अलपत्र पार्नु प¥यो । कस्तो भाग्य है हाम्रो ?’

‘त्यसो भए तिमी मबाट के चाहन्छौ त कर्ण ?’

‘म केही चाहन्न मुरलीधर !’

‘म चाहन्नँ कि धर्मराज युधिष्ठिर र मेरा अन्य कुनै भाइहरुलाई मेरो वास्तविकता ज्ञात होस् । किनकि मेरो भेद खुल्नु भनेको युधिष्ठिरले हस्तिनापुर मलाई सुम्पिनु हो । यदि धर्मराजले हस्तिनापुरको सिंहासन मलाई दिए भने मैले त्यो सिंहासन दूर्योधनलाई चढाउँछु । जुन तपाईंलाई मात्रै हैन, स्वयम् पितामह र द्रोणाचार्य लगायत धेरैलाई स्वीकार्य छैन ।’

‘खुलस्त भन न त सूर्यपुत्र ! तिमीलाई म के सहयोग गरौं ?’

भगवान् श्रीकृष्णले यसरी अनेकन् आग्रह गरे पश्चात् कर्ण भन्छन्, ‘यदि तपाईं मलाई साँच्चिकै केही दिन चाहनु हुन्छ भने, हे केशव ! मेरो मृत्यु नहुञ्जेल सम्मन् मलाई ‘राधेय कर्ण’ भनेर बोलाइदिनुस् न ल !’

यस्तो विशाल हृदय थियो कर्णको !

अर्को बहुत गहन र गम्भीर प्रसङ्ग मैले उल्लेख गर्नै पर्ने हुन्छ यहाँ ।

एक पटक प्रभु परशुरामले आफ्नो परशु धारण गर्र्नुभएको थियो पृथ्वीलाई पुनः क्षत्रीयमुक्त (अझ भनौँ मानव मुक्त) गर्नको लागि । जब नियतिको कठोरता कर्ण माथि बर्सियो, देवराज ईन्द्रको रुपमा ।

दिग्विजय पश्चात् कर्ण आफ्ना गुरु परशुरामसँग भेट गर्न निस्कन्छन् । स्वयम् भगवान् श्रीकृष्णसँग बिदा मागेर हिँडेका कर्ण देवराज ईन्द्रको प्रतिशोधको शिकार हुन्छन् । श्रीकृष्णले कर्णलाई उक्त घटनाप्रति सचेत नगराएका होइनन् । तर निरन्तर बाह्र वर्षको कठोर युद्धबाट विश्राम लिएर गुरुदर्शन गर्न हिँडेका कर्ण बेस्मारी छलिए । देवराज ईन्द्रद्वारा घटाइएको उक्त घटनामा कर्णको हातबाट एक जना ब्राह्मणको बाच्छो मारिन्छ र उनले कर्णलाई श्राप दिन्छन् ।

‘जसरी मेरो गाईको बाच्छो यस हिलोमा धसिएर तिम्रो बाणले त्यसको प्राण लग्यो, हे वीर योद्धा त्यसरी नै तिम्रो रथ पनि यही धरामा धसियोस् । र, तिमीलाई कुनै सहायता नमिलोस् । तिम्रो प्राण पनि मेरो गाईको बाच्छोको जसरी नै जाओस् ।’

आफ्नो प्रिय शिष्यमाथि भएको यस्तो अन्यायको विरुद्ध उठेको प्रभु परशुरामको फरसालाई पनि राधेय कर्णको अनुनय विनयले नै रोकेको थियो ।

त्यस बखत परशुरामले अत्यन्तै भावुक हुँदै सोध्नुभएको थियो, ‘तिमी कुन जिनिसले बनेका छौ कर्ण ? तिमी माथि यत्रो विघ्न अन्याय हुँदा पनि तिमी सहजै स्वीकार्न कसरी सक्छौ ? तिमी पक्कै त्यो स्वर्ण हौ जुन जति पटक भट्टीमा पस्छ, त्यति नै धेरै चमक लिएर आउँछ । जति पटक टुक्रिन्छ त्यति नै पटक झन् नयाँ र सुन्दर स्वरुप धारण गर्दछ । तिमी पक्कै स्वर्ण निर्मित हौ कर्ण ! स्वर्णिम कर्ण !’

हुन पनि हो । कर्ण स्वर्ण निर्मित नै हुन् । जति धेरै अन्याय र अत्याचारले उनलाई पोल्छ, उनी त्यति नै धेरै चम्किन्छन् ।

तसर्थ विद्वान् लेखकले दाबी गरे जस्तो कर्ण माथि अन्याय भएको थिएन । सूर्यपुत्रले त अन्याय सहेर पनि समाज परिवर्तन गर्न सकिन्छ भनेर हामी माझ यस्तो ज्वलन्त उदाहरण पेश गरेर गए जसको जति नै बखान गरे पनि कमै हुन्छ ।

अब लागौं, अर्को लेखक अज्ञात भाइ तिर ।

‘मानश्चः दूर्योधने’ को जति महतत्त्व शायदै अरु कुनै चिजको होला ‘न भूतो न भविष्यतिः’ । बडा दशैँमा हरेक हिन्दूहरुको घरमा फलाकिने आशीष हो यो ।

आयु द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दूर्योधने ।

शौर्यं, शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते

विज्ञान विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यस जगत्का पालनहार स्वयम् श्रीहरि नारायण जसको सम्धि हुनुहुन्थ्यो, उसको मान सम्मानको के बखान गर्नु !

त्यस माथि दिग्विजयी पनि !

सारा संसारका राजा र सम्राटहरु जसको या त अधीनमा थिए या त मित्रवत् सन्धिमा ! यहाँ सम्मन् कि स्वयम् श्रीकृष्णको द्वारका, बलश्रेष्ठ हलधर श्री बलराम र अपराजित अजय नारायणी सेनाले पनि दूर्योधनको अधिनता स्वीकारेका थिए । तब न एघार जना सर्वकालीन सर्वशक्तिमान् व्यक्तित्वहरुको माझ दूर्योधनले पाँचौ÷छैठौं स्थान पाउन सफल भए ।

जहाँ सम्मन् दूर्योधनलाई बानेश्वरको बदनाम गल्लीमा भेटी उनीसँगै बसेर मधुपानको स्वैर कल्पना लुइटेलजीको छ, त्यो एउटा सह्रानीय पक्ष होला साहित्यिक वाङ्मयमा । तर नेपाली साहित्य लेखनमा स्वयम् समयले स्थापित गरेको एक मिथकीय पात्रलाई यसरी वर्तमानमा उतार्नु भनेको एउटा हल्का टिप्पणी बाहेक अरु केही होइन ।

लेखकले दाबी गरे जस्तो बालखैबाट दूर्योधनको नशामा रगतको साटो विष बहने विषय केही हद सम्मन् ठिकै होला तर पूर्ण सत्य होइन । जसरी कर्णको प्रारब्ध मुक्ति थियो त्यसरी नै दूर्योधनको प्रारब्ध पनि परापूर्व कालमा नै निश्चित थियो । भनिन्छ, त्रिलोकाधिपति लङ्केश, जलन्धर र अन्य विद्वान् राक्षस र असुरहरुको सञ्चित पुण्यले दूर्योधनको रुपमा जन्म लिएको हो । अहिले त्यतातिर लाग्नुभन्दा पनि अज्ञात भाइको प्रश्न तिर लागौँ ल । लुइटेलजीले दूर्योधन जस्तो पापी कसरी नर्क नगएर स्वर्ग पुग्यो भन्ने जिज्ञासा उठाउनु भनेको राम्रो पक्ष हो ।

मनमा जिज्ञासा उठ्यो भने त प्रश्न सोध्न सकिन्छ । र, त्यही प्रश्नलाई यदि सही ढङ्गबाट पछ्याइयो भने ज्ञान प्राप्ति हुन्छ । र, सही ज्ञानले नै मोक्ष प्रदान गर्छ । अज्ञातजीको त्यही प्रश्नले मेरा औंलाहरुलाई लेखनी समात्न बाध्य बनाएको हो । नत्र डेढ दुई वर्षपछि पनि कसैले लेखेको कुरालाई लिएर कसैले लेख्छ र ? कम्तीमा म त्यस्तो गर्दिनँ ।

महाभारतको युद्ध शुरु हुनु पूर्व नै कुरुक्षेत्रको मैदानलाई युद्धभूमिको रुपमा चुनिनुको मुख्य कारण नै यही थियो । जो पनि यस पावन भूमिमा वीरगति प्राप्त गर्दछ, ऊ स्वर्ग पुग्छ । चाहे त्यो कौरव पक्षबाट लडोस् वा पाण्डव पक्षबाट ।

हामी नेपाली सारा विश्व माझ गोर्खाली वीर योद्धाको रुपमा आज पर्यन्त चिनिनुको प्रमुख कारण यही एउटा मिथक हो । अझै भनौं संस्कार हो । संस्कृति हो । ‘युद्धभूमिमा लडेर मरे पनि स्वर्ग तरिन्छ’ भन्ने मूलमन्त्र नै नेपालीहरुको विजयको रहस्य हो ।

त्यसैले त जंगबहादुरले जहाँ पठाए पनि खुरुक्कन गएर लडे हाम्रा वीर सैनिकहरु । चाहे त्यो त्यही बैरीकै पक्षमा (बेलायत) किन नहोस् जसले हाम्रो मातृभूमि माथि कैंयौं पटक आघात गरेको थियो ।

सम्माननीय साहित्यानुरागीहरुमा मेरो विनम्र अनुरोध यति मात्रै हो कि इतिहासलाई इतिहास नै रहन दिनुस् ।

इतिहासलाई पुनर्लेखन गर्ने नाममा इतिहासलाई नै भताभुङ्ग चैँ नपारी दिनुहोस् । हो, इतिहासको पुनर्लेखन अत्यावश्यक छ । किनकि मानव निर्मित इतिहासमा हरुवाहरुको गुणगान हुँदैन । थिचिएका र पिल्सिएकाहरुको बखान हुँदैन । प्रसिद्ध अंग्रेजी कवि टमस ग्रेले त्यसै लेखेका हैनन् ।

Full many a gem of purest ray serene,

The dark unfathom’d caves of ocean bear;

Full many a flow’r is born to blush unseen,

And waste its sweetness on the desert air.

तर, महाभारत ?

महाभारत मानव निर्मित होइन । ईश्वर रचित हो । अझ भनौं काल रचित हो । समय रचित हो । त्यसैले त स्वयम् वेदलाई नकार्ने पश्चिमाहरु पनि महाभारतलाई नकार्न सक्दैनन् ।

नास्तिको वेदनिन्दकः ।

अर्थात् वेदको निन्दा गर्ने नास्तिक हुन् । तर, जतिसुकै नास्तिक, अधर्मी र पापी किन नहोस् त्यसले महाभारतको निन्दा गर्न सक्दैन ।

पूर्वनिश्चित् नै थियो कि कलियुगमा अधर्मको र वेदनिन्दकहरुको बोलवाला हुनेछ । तर पनि परमात्माको लीला हेर्नुस् । यस्तो अधर्मी बेलामा पनि मुक्तिको मार्ग खुल्ला नै राखेका छन् ईश्वरले । तथानाम गाली नै गरे पनि ईश्वरको नाम त लिएको छ नि मान्छेले ! अहिलेलाई महाभारततिरै डोर्याउन चाहे ल !

महाभारतको हर एक योद्धाले जितेको छ । वृषकेतु र अभिमन्यू जस्ता केही महान् योद्धाहरुले त महाभारतीय युद्धभूमिमा नै महारथ हासिल गरेका छन् । कुरुक्षेत्रमा वीरगति प्राप्त गर्ने हरेक सैनिकले जितेको छ । र, ती सैनिकका विधवाहरुले पनि जितेका छन् । चाहे त्यो पैदल सैनिक होस् वा घोडचढी । रथी होस् वा महारथी नै । चाहे ऊ हरुवा कौरव पक्षबाट लडेको होस् वा जितुवा पाण्डव पक्षबाट ।

कुरुक्षेत्रको युद्धभूमिमा लड्ने सिपाहीले मात्रै होइन शुद्र जातीय स्वर्ण (जो सूर्यपुत्र कर्णको भाइ थियो । अधीरथ एवं माता राधाको एक्लो सन्तान थियो ।) ले पनि जितेको छ । अर्थात् युद्धको अग्र मोर्चामा लड्नेले मात्रै होइन कुरु क्षेत्रमा आफ्ना प्रियजनहरु गुमाउनेले पनि जितेका छन् । यहाँ सोचनीय पक्ष यो छ कि महाभारत युद्ध पश्चात् सबै सर्वसाधारण मनुष्यले जन्मको आधारमा होइन व्यक्तिगत कर्मको आधारमा हस्तिनापुरमा आफ्नो स्थान पाउने व्यवस्था लागु भएको थियो ।

महाभारत केवल द्वापर युगको कथा होइन । यो त परापूर्व काल देखिको कथा हो ।

जुन अकथ्य छ । अलेख्य छ ।

महाभारत जति पटक दोहोर्याएर पढ्नुहुन्छ त्यति नै पटक नयाँ नयाँ आयामहरु उजागर भएको पाउन सक्नु हुन्छ तपाईं । यो ‘जो जिता वही सिकन्दर’ वाला कथा पनि होइन । जीत हार वा हारजीतको कथा नभएर हारेर पनि कसरी जितिन्छ र स्वर्ग तरिन्छ भनेर सिकाउने इतिहास हो महाभारत । त्यसभन्दा पनि माथि यस सृष्टिकै गूढ रहस्यहरुलाई पनि सहज र सरल व्याख्या गरेर विश्व समुदायलाई गीता ज्ञानले तृप्त बनाएको कथा हो महाभारत ।

वेदव्यास स्वयम् श्रीहरि नारायणका अवतार हुनुहुन्छ । जसले छ्यासमिस रुपमा रहेको वेद ज्ञानलाई प्रष्ट रुपमा ४ भागमा बाँडेर सरल र सहज रुपमा सबै सामु पस्किनु भयो । जसरी आदि कवि भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा रचेर हामी माझ एउटा सरल र सरस काव्य उपहार दिनुभयो । त्यस्ता महान् रचनाकारले पनि लेख्न नसक्ने कस्तो अद्भुत काव्य होला महाभारत ? सहजै अनुमान लगाउन सक्नुहुन्छ महान् साहित्यकर्मीहरुले । अझै प्रष्ट पार्दा त्यस्ता विलक्षण प्रतिभाशाली रचनाकार वेदव्यासले लेख्न नसकेको कस्तो होला महाभारत कथा ?

जब स्वयम् वदेव्यासजीले महाभारत लेखिदिनुस् भनेर श्री गणेशलाई आग्रह गर्नुभयो, प्रथम पूज्य गौरी नन्दनले पनि वहाँ सामु आफ्नो सर्त तेर्साई दिनुभयो । किनकी उहाँलाई आफ्ना दाजुलाई भेट्न हतार थियो । दाजु कुमार कर्तिकेयसँग क्रीडा गर्ने छटपटाहट थियो ।

‘यदि मैले लेख्दा लेख्दै तपाईंले वाचन गर्न सक्नु भएन वा एक क्षणको लागि पनि विश्राम लिनुभयो भने म लेख्न छाडिदिन्छु ।’

प्रत्युत्तरमा वेदव्यासजी भन्नुहुन्छ –

‘हुन्छ, प्रभु । तर मेरो एउटै विन्ती छ । हजुरले पनि हरेक शब्दको सही अर्थ बुझेर मात्रै लेख्नु हुनेछ ।’

यसरी कथावाचक र लेखक बीचको अद्भुत र रामोञ्चक प्रतिस्पर्धा पनि हो महाभारत । कथा वाचनको क्रममा बेला बेला वेदव्यासजी यस्ता शब्दहरु घुसाउनु हुन्थ्यो कि सर्वज्ञाता, बुद्धि र ज्ञानको स्रोत श्रीगणेश पनि एकाध ठाउँमा त्यसको व्याख्या गर्न लगाउनु हुन्थ्यो । ताकि वेदव्यासजीले व्याख्या गरुञ्जेल उहाँको लेखनी चली रहोस् । जसरी वेदव्यासले सोच्ने समय पाउनुहुन्थ्यो त्यसरी नै महादेव सुनूले पनि लेख्ने समय । कम्ता रोमाञ्चक र मनमोहक थिएन होला त्यो समय !

तर अकस्मात् गणेशजीको लेखनी रोकियो जबकि वेदव्यासजीको कथा सकिएकै थिएन । पूर्वसर्त अनुसार लम्बोदर उठेर हिँड्नु भयो । वेदव्यासजी एक छिन रन्थनिनु भयोः

‘ला, मेरो महाकाव्य अधुरै रह्यो ।’

तर, जब उहाँले ग्रन्थ पल्टाएर पढ्नु भयो, महाभारत पुरै लेखिएको देखेर तीन छक्क पर्नुभयो । स्वयम् वेदव्यासको मनमा रहेका अव्यक्त भावहरु पनि ग्रन्थमा लेखिएका थिए ।

कुरुक्षेत्रमा नै किन लडियो त महाभारत ? के अन्यत्र त्यस्ता कुनै ठूला मैदानहरु थिएनन् ? आखिर कुरुक्षेत्रमा अधर्मको पक्षबाट लडेर पनि कसरी स्वर्ग तरे कौरवहरु ? धर्मको पक्षबाट लड्दा स्वर्ग तर्नु त ठिकै हो । तर, धर्मको विरुद्ध लड्दा पनि स्वर्ग ? अधर्मको पक्षबाट लड्दा पनि स्वर्ग पुगिने ? आउनुस्, अब हामी यसको उत्तर खोजौँ ।

महाभारत राजा शन्तनुको गंगाप्रेमबाट शुरु भए तापनि यसको बिऊ परापूर्व कालमा नै रोपिइसकेको थियो । शन्तनुका आठौं पुस्ता पहिलेका राजा कुरु भन्दा पनि निकै नै अगाडि । महाभारत त स्वयम् भगवान् भोलेनाथसँग अकाट्य रुपमा जोडिएको छ ।

अब तपाईं नै भन्नुस् विद्वान् पाठकज्यू, स्वयम् महादेव, जसको आदि र अन्त्यको कुनै भेऊ छैन, महाभारतको एक पात्र भए पछि उक्त महाकाव्य कस्तो होला ? एउटा पात्र मात्रै हैन । अनेक पात्र । अश्वत्थामा, हनुमान, किरातेश्वर, इत्यादि ।

यसको अर्को पाटो जोडिएको छ स्वयम् श्री हरि नारायणसँग । नर र नारायणको कथाकै कथासिंस हो कर्ण अर्जुन द्वन्द्व । यो कहानी पनि परापूर्व कालकै एउटा भाग हो । यस विषयमा अर्को कुनै बसाईमा बात मारौँला ।

वेदव्यास रचित महाभारत अष्ट वसुको कथा पनि हो । तब न गंगापुत्र देवव्रत भीष्म पितामह बने ! वास्तवमै भन्ने हो भने उनी अहिले सबैले चिन्ने कौरव, कर्ण र पाण्डवहरुका पितामह नभै अष्ट वसु मध्येका एक हुन् ।

शन्तनुबाट जन्मेका सबै छोराहरुलाई एक पछि अर्को गर्दै गंगाले आफ्नो जलधारामा लगेर बगाउनुको मुख्य कारण नै उनीहरुलाई मुक्ति प्रदान गर्नु थियो । किनकि यही कर्म गर्नका लागि नै पवित्र गंगा माता पृथ्वीमा आएकी थिइन् । अझ प्रष्ट्याउँदा ल्याइएकी थिइन् । कहिल्यै धर्तीमा नफर्किने वाचा गरी ब्रह्मलोकमा निवास गरेकी पावन गंगालाई महान तपश्वी सम्राट भगीरथले घोर तपस्या गरेर पृथ्वी लोकमा अवतरित गराएका थिए । तसर्थ, गंगालाई भगीरथी भनेर पनि पुकारिन्छ ।

तर, वास्तवमै भन्नु पर्दा, गंगा त्यसरी धर्तीमा ओर्लनुको मुख्य कारण चैं स्वयम् देवादिदेव महादेवसँग बदला लिनु थियो ।

सती विरहबाट निस्केर आफ्नी पत्नीको अन्तिम संस्कार कर्म गर्न खोज्दा त्रिलोक विजेता तारकासुरले बाधा उत्पन्न गर्यो । महादेवले, तैपनि, सतीदेवीको क्षतविक्षत सबै अङ्गहरु एकत्र पार्नु भयो । तर त्यहाँ दुई वटा पिण्ड अझै अपुग थिए ।

ध्यान दृष्टिले हेर्दा एउटा पिण्ड ऋषिमुनिहरुले सुरक्षित गरेको र अर्को पिण्ड राजा हिमवन र रानी मैनावतीले जोगाउने प्रयासमा रहेको देखे । ऋषिहरुबाट पिण्ड लिएर राजा हिमवनको ठाउँमा पुग्दा रात्रीकाल आरम्भ भैसकेको हुनाले राजाले महादेवलाई आफुसँगै बस्न अनुरोध गरे । राजा हिमवन र रानी मैनाको स्तुतीले प्रसन्न महादेव राजारानीलाई उनीहरुको शिविरमा पठाएर शिविर बाहिर नजिकै एउटा वृक्ष मुनि ध्यानमा लीन हुनुभयो ।

बिहानको झिसमिसेमा उठेर बाहिर निस्कँदा हिमवत् पुत्री गंगाले महादेवलाई देख्ना साथै जटाधरको प्रेममा परिन् । अचेलको भाषामा भन्नुपर्दा पहिलो नजरको प्रेम थियो त्यो, गंगाको । र, प्रेम प्रस्ताव राखिन् पनि । नीलकण्ठले उक्त प्रस्ताव ठाडै अस्विकार गर्दै भन्नुभयो, ‘म त अर्कैलाई प्रेम गर्छु । मेरो जीवनमा यदि कोही स्त्री छन् भने उनी सतीदेवी हुन् ।’

प्रति उत्तरमा गंगा बोल्छिन् –

‘मरेर गैसकेकाको पनि केको प्रेम, महादेव ? जो यस संसारमा नै छैन ऊसँग कसरी प्रेम गर्न सकिन्छ ? तसर्थ, हे देवादिदेव महादेव ! मेरो पवित्र प्रेमलाई स्वीकारेर म माथि कृपा गर्नुहोस् ।’

तर महादेव सुनेको नसुने झैं गरी ध्यानमग्न हुनुभयो । गंगाले अनेक स्तुतीगान गरे पनि भोलेनाथ टसको मस हुनु भएन । तत्पश्चात् रिसले चुर गंगाले यस वसुन्धरालाई नै त्यागिदिइन् । गंगाको प्रारब्ध नै नदी बन्नु थियो । तर उनले यस्तो कर्म गरीन् की आफ्नो प्रारब्ध नै बदलिदिइन् । र, ब्रह्मलोकमा गएर बसिदिइन् । भाग्यलाई कर्मले परिवर्तन गर्न सकिन्छ भन्ने बलियो उदाहरण हो यो ।

भगिरथको अथक प्रयास पश्चात् उनी यस धरातलमा ओर्लिन राजी भइन् । तर एउटै शर्तमा ।

गंगाले भगिरथलाई चेतावनी दिंदै भनिन्, ‘यदि मेरो बेगले पृथ्वी नै बगायो भने मलाई दोष नदिनु ।’

यसको उपाय खोज्न भगिरथलाई हम्मे हम्मे पर्यो । पुनः ब्रम्हदेवको तपस्या गर्दा ‘शिवजीको तपस्या गर ।’ भन्ने आदेश पाए । र, भगिरथले पुनः एक पटक महादेवको घोर तपस्या गरे । तपश्वी भगिरथबाट प्रसन्न शिवजीले भन्नुभयो, ‘जाऊ । गंगालाई पृथ्वीमा अवतरित हुन भनिदेऊ !’

भगिरथले माता गंगा समक्ष प्रस्तुत भएर पृथ्वी तलमा ओर्लन आग्रह गरे । गंगा मैयाँलाई खोजेको चिज भेट्टाए जस्तै भो । उनले आव दखिन् न ताव ! आफ्नो सम्पूर्ण वेगले सारा ब्रह्माण्ड नै कम्पित पार्दै धरामा ओर्लिन । तत्क्षण शिवजीले पनि आफ्नो जटा खोल्नु भयो । सहस्त्र शताब्दीऔं देखिको रीसले चुर गंगाले आफ्नो वेगले शिवजीलाई सदाको लागि पाताल लोक पुर्याउने ठानिन् । देवी गंगाको भित्री मनशाय थाहा पाउने बित्तिकै शिवजीले आफ्नो जटा बाँधिदिनु भयो । फलस्वरुप गंगा शिवजीको जटामा अनन्त काल सम्मन् त्यहीँ अट्किन बाध्य भइन् ।

यही समय क्रममा शिवजीको जटाबाट चुहिएर चार वटा नदीहरु उत्पन्न भएको अर्काेरोचक प्रसङ्ग पनि छ । कसैले हजार वर्ष पनि भनेका छन् । उनले आफ्नो भूल स्वीकारे पछि भगवान् भोलेनाथले आफ्नो जटा खोलेर गंगालाई मुक्त गरिदिनु भयो ।

तर पनि, गंगाको क्रोध शान्त भएको थिएन । देवी गंगा रिसले बाटोमा नै अनियन्त्रित रुपमा बग्न थाले पछि स्वयम् महान ऋषि जाह्नुले खर्लप्पै निलिदिनु भयो ।

गंगा पान पश्चात् महर्षि जाह्नु भन्नु हुन्छः

‘जाबो एउटा ऋषिको प्यास बुझाउन नसक्नेले पनि महादेवको जटालाई चुनौती दिने ?’

तपश्वी भगिरथलाई फसाद पर्यो । उनले गंगा मुक्त नभए आफ्ना पूर्वजहरुको मुक्ति नहुने कारुणिक कथा सुनाए पछि महर्षि जाहुले भने, ‘मलाई तिम्रो पुर्खा प्रतिको प्रम र हजारौं वर्षको कठोर परिश्रमको माया लागेर आयो वत्स ! नत्र यो घमण्डी गंगालाई मैले पाठ सिकाउने थिए !’

यति भन्दै महर्षिले गंगालाई आफ्नो एक कानबाट निकालिदिनु भयो ।

त्यसपछि गंगा माताले महर्षि कपिलमुनीको ज्वालाबाट भष्म भएका महर्षि भगिरथका साठी हजार पूर्वजहरु सबैको उद्धार गरिदिनु भयो । तर अष्टवसुको मुक्ति भने त्यति सहज थिएन । तब त माता गंगाले महाराज शन्तनुसँग विवाह गर्नु पूर्व नै शर्त राख्नु भएको थियो ।

‘विवाह पश्चात मैले जे गरे पनि हजुरले केही भन्न पाउनु हुँदैन राजन ! न त कुनै प्रश्न नै सोध्न पाउनु हुनेछ ? ’

प्रेम पासमा बाँधिएका शन्तनुले ‘हुन्छ’ भनेर वाचा गरे । र त, विवाह पश्चात् आफ्ना छोराहरुको आफ्नै प्राण प्यारी गंगाले एक पछि अर्को गरी हत्या गर्दा पनि केही नबोली बसे ! तर, भित्रभित्रै उनी ती अबोध शिशुहरुको हत्याले पिरोलिइरहे ।

अन्तमा पीडा खप्न नसकी आफ्नो आठौं सन्तानलाई गंगाले आफ्नै जलधारामा बगाउन लाग्दा महाराज शन्तनु बोले, ‘हे प्रिय, तिमीले यो के गरेको ?’

महाराजको वचन सुन्ना साथै माता गंगाले बिहे पूर्वको वाचा बन्धन स्मरण गराउँदै देवव्रतलाई त्यहीँ भूमिमा छोडी अलप भइन् । उनै देवव्रत नै पछि भीष्म बने जसले आफ्नै गुरु प्रभु परशुरामलाई युद्धभूमिमा धुलो चटाएका थिए ।

नास्ति माट्टसमो गुरुः ।

अर्थात् ‘आमा समान गुरु यो संसारमा कोही छैन’ भनेर भीष्मले त्यसै भनेका होइनन् अनुशासन पर्वमा । नगरकोटीका पाठकज्यूहरुलाई सानो अनुरोध गर्ने धृष्टता गरेँ । एक पटक महाभारत पढ्नुस् संस्कृतमा । अन्य भाषामा लेखिएका अनुवाद हैन ल !

महाभारत स्वयम् समयको कथा हो । तसर्थ बेला बेला काल स्वयम् उपस्थित हुन्छ कथावाचकको रुपमा । मल्टि प्रस्पेक्टिव न्यारेशनलाई नवीनतम् प्रयोग मान्ने साहित्यानुरागीहरुले महाभारतको यो शैली बुझेकै छैनन् ।

श्रीहरि नारायणको पूर्ण अवतार मानिने श्रीकृष्ण भगवानकै समकक्षी पौण्ड्रक वासुदेवको प्रसङ्ग स्मरण मात्रै गराउन चाहेँ । एकै समयमा एउटै भगवान् । त्यो पनि दुई भिन्न रुपमा । एउटा सेतो त अर्को कालो । एउटा सत्य त अर्को असत्य । तर दुवैको दाबी ‘म नै सत्य हुँ’ । ‘म नै परब्रह्म हुँ’ । ‘म नै परमेश्वर हुँ’ ।

कथावाचक एउटा छ । लेखक अर्कै छ । तर दुवै गायब छन् कथाबाट । र पनि,  कथा अगाडि बढिरहन्छ यी दुवैको अनुपस्थितिमा पनि । पात्रहरु पनि सबै मौन छन् । पात्रहरु उपस्थित त छन् । तर केवल मूकदर्शकको रुपमा जो न त बोल्न सक्छन् । न त सुन्न नै । द्रौपदीको चीरहरणमा जस्तै ।

लेखक र कथावाचकलाई नै लत्याएर समय स्वयम् कथावाचकको रुपमा उपस्थित हुन्छ । त्यो पनि आज भन्दा ४-५ हजार वर्ष पहिले । र, वाचन गर्छ अन्तहीन समयको प्रारब्धको कथा । समयहीन समयको कथा आदि विहीन समयको कथा ।

के हामीले आफ्नो विरासत चिन्ने प्रयास मात्रै गर्न सकेका छौ त ?

हिन्दू धर्ममा भएका वेद, वेदाङ्ग, १८ पुराण, ५६ स्मृति र १०८ उपनिषदहरु इतयादि विशाल वाङ्मयले वर्णन गर्न नसकेका विषयवस्तुहरु समेटिएका छन् महाभारतमा । तब न यो महाकाव्य हिन्दू धर्मको एउटा जिउँदो इतिहासको रुपमा दर्ज छ ।

इतिहासलाई पुनर्लेखन गर्न सकिएला । यसलाई पुनर्भाषित गर्न सकिएला । तर काल ? काल अर्थात् समयको पुनर्लेखन कसले गर्ने ? जाबो एउटा सौर्य मण्डलको आयु निर्धारण गर्न नसक्ने विज्ञान र त्यही पश्चिमा दर्शनलाई आदर्श मानेका नेपाली लेखक-कविहरु समयको पुनर्लेखन वा पुनर्भाषण गर्ने दुस्साहस गरेको देख्दा मेरो मन साह्रै खिन्न भएर आउँछ । यस्तो अकल्पनीय दुष्कर्म गर्ने जनहरु देख्दा हाँसो उठेर आउँछ ।

केवल नौ वर्ष अगाडि ‘ईश्वर छ’ भनेर प्रमाणित गर्ने पश्चिमाहरु आज अन्तरिक्षमा गएर फर्किने वा पृथ्वीमै बसेर अन्य ग्रहहरुमा आफ्नो गतिविधि सञ्चालन गरी रहेका छन् ।

जबकि हाम्रा पूर्वज ऋषिहरुले त यो कुरा सत्य युगमा नै प्रमाणित गरिसकेका थिए । स–शरीर प्रत्यक्ष उपस्थित भएर वा नभएर पनि अन्य ब्रह्माण्डहरुमा आफ्नो वर्चस्व स्थापित गरेका थिए । तर त्यसको खोजी नीति कसले गरिदिने ? तिनै पश्चिमाहरुले ? कि हामी आफैँले ? प्रश्न अत्यन्तै गहन र गम्भीर छ ।

हरेक महानतम् महारथीहरुको वीरगतिमा लेखकलाई र कथावाचकलाई पन्छाउँदै काल स्वयम् उपस्थित हुन्छ । हर एक योद्धाको मृत्युमा समय स्वयम् छियाछिया परेको छ । चाहे त्यो कर्णको वीरगतिमा होस् वा गुरु द्रोणको वधमा ! भीष्मको शरसैयामा होस् वा आफ्नै कोखबाट जन्मेका दुई छोराहरुको महासंग्राममा !  अभिमन्यूको वधमा होस् वा वृषसेनको वीरगतिमा ।

हामी मानव–मानव बीच ऊँचनीच र छुवाछुतको परम्परा कायम गरिरहेछौँ । गत साता त नेपाली सञ्जालमा काठमाडौं कोठा-काण्डले लाभा नै ओकल्यो । कोरोनाले यत्रो पाठ सिकाउँदा पनि हामी मानिस एकअर्का बीच लडिरहेका छौँ । कहिल्यै कोमल स्पर्शले एउटा काँडालाई सुम्सुम्याउने प्रयास गरेका छौ त ! गुलाफ फुल्न जति त्यो बोटमा रहेका पात, डाँठ र जराहरुको देन छ, त्यति नै योगदान रहेको छ हर एक काँडाको ।

मानव–मानव बीचको यो लडाइँले प्रकृति विनाश गरेको मात्रै छैन, यस ब्रह्माण्डमा बस्ने अन्य जाति प्रजातिहरुको समेत विनाश भएको छ । दानव वा राक्षस जातिलाई त हामी कानो आँखाले पनि देख्न चाहन्नौँ । तर हाम्रो संस्कार र संस्कृति निर्माणमा कम्ता ठूलो योगदान रहेको छैन उनीहरुको । दानवहरुको पनि महान् गाथा हुन्छ । राक्षसहरुको पनि उत्तिकै महान् इतिहास हुन्छ भन्ने कुरा मानव जातिले कहिल्यै बिर्सनु हुन्न ।

घटोत्कचको वीरगति र बर्बरिकको बलिदानमा समय स्वयम् स्तब्ध छ । समय रोकिएको छ ! मौनतामा !

केवल तीन बाणले सकिने युद्ध अठार–अठार दिन सम्मन् चल्यो । के कारण थियो त्यत्तिका मानव, दानव र देवहरुको मृत्युको ? यो सबै त केवल काललाई मात्रै थाहा थियो ।

त्यति मात्र कहाँ हो र, महाभारत ?

प्रतिशोधले स्वयम्लाई आगोले भन्दा बढी डढाउँछ भनेर महादेवले हामीलाई सिकाउनु हुन्छ । अश्वत्थामाको जीवन बाँचेर ।

घाइते दूर्योधनले सेनापतिको कार्य सुम्पे पश्चात् अश्वत्थामाले पाण्डव पुत्रहरुको मध्यरातमा बध गर्छन् । र, पुग्छन् आफ्ना घायल मित्र राजकुमार दूर्योधन कहाँ ।

अश्वत्थामा, ‘मित्र दूर्योधन, मैले सबै पाण्डवहरुलाई मारेँ नि ! बधाई छ तिमीलाई ! तिमी अब हस्तिनापुर सम्राट बन्यौ ! कुरुक्षेत्र तिमीले जित्यौ युवराज ! महाभारत हामीले जित्यौँ ।’

आफ्नो घायल मित्रलाई काखमा राखेर बोलिएका यिनै अत्यन्तै कारुणिक वचनहरुले दिग्विजयी दूर्योधनको मृत्यु हुन्छ । दूर्योधनको चिसो लास आफ्नो काखमा देखेपछि अश्वत्थामा बल्ल होशमा आउँछन् । र, त्यहाँबाट भाग्न सफल हुन्छन् ।

वेदव्यासको आश्रममा शरण लिएका अश्वत्थामालाई पाण्डवहरुले युद्धको चुनौती दिएपछि उनले ब्रह्मास्त्र नै प्रयोग गर्छन् । महर्षिले अर्जुन र अश्वत्थामा दुबैलाई सम्झाउँछन् । अर्जुनले ब्रह्मास्त्र फिर्ता लिन्छन् तर अश्वत्थामाले सक्दैनन् । किनकि बाबु द्रोणले छोरालाई त्यो शिक्षा नै दिएका थिएनन् । महर्षि वेदव्यासले ‘ब्रह्मास्त्रको दिशा परिवर्तन गर मूर्ख !’ भनेर गाली गरेपछि अश्वत्थामाको उक्त ब्रह्मास्त्रले अभिमन्यू पत्नी उत्तराको गर्भलाई लक्षित गर्छ ।

अश्वत्थामा,

‘मैले तिमीहरुलाई मार्न सकिनँ त के भयो ? म तिमीहरुको शाखा सन्तान नै सखाप पारिदिन्छु । बीऊ नै नष्ट गरे पछि ‘न रहेगा बाँस न बजेगी बाँसुरी’ !’

आफ्ना बाऊको मृत्युको प्रतिशोधको पराकाष्टा थियो त्यो दृश्य । परिणाम स्वरुप अश्वत्थामाले आफ्नो निधारको मणी गुमाउनु पर्यो जुन कर्णको कवच जस्तै थियो । जन्मँदै साथ लिएर आएको । शरीरको एक अभिन्न अङ्ग । स्वयम् श्रीकृष्णको खुट्टा ढोगेर भिक मागे पनि उनले उन्मुक्ति पाएनन् । भगवानको शरणमा गैसकेपछि त जस्तै पापीले पनि मुक्ति पाउँछ ।

तर अश्वत्थामा ?

उनले कुनै माफीनामा पाएनन् । बरु श्राप पाए श्रीकृष्णको । पृथ्वीमा जीवन रहुञ्जेल बाँच्ने श्राप !

‘मेरो प्राण लिनुस् मुरलीधर, तर मेरो मणि छोडिदिनुस् !’ भनेर जति नै रोई कराई गर्दा पनि मधुर मुस्कानधारी मुरली मनोहरको मन पग्लेन ।

यसरी स्वयम् अमर भए पनि आज पर्यन्त अश्वत्थामा निधारबाट रगत र पीप झार्दै कहिले कहाँ त कहिले कहाँ हिँडिरहेछन् । भट्किरहेछन् । पाण्डवसँगको प्रतिशोधको ज्वालाले यो पृथ्वी रही रहे सम्मन् उनलाई पोली रहनेछ ।

अरुलाई शिक्षा दिएर मात्रै पुग्दो रहेनछ भनेर स्वयम् शिवजीले अश्वत्थामाको जीवन बाँचेर हामीलाई शिक्षा दिनु भएको छ । सम्पूर्ण पापीहरुको पाप पखाली दिने पतित पावन गंगालाई मात्रै होइन, सम्पूर्ण चराचर जगत्लाई नै शिक्षा दिनु भएको छ देवादिदेव महादेवले ।

प्रतिशोधम् च रोषम् करोती दोषम् ।

अर्थात् रीस, राग र प्रतिशोधले केवल दुर्घटना मात्रै निम्त्याउँदैन । अपितु जीवन नै नर्क बनाइदिन्छ । अश्वत्थामाको जस्तै ।

यसर्थ, महाभारत केवल एक ग्रन्थ वा मिथ होइन । यो त एउटा जिउँदो इतिहास हो । यो स्वयम् गुरु हो, हामी मानव जातिका लागि । सम्पूर्ण चराचर जगत्कै लागि । जसले ज्ञान दियो ! भागवत् गीता दियो !

स्वयम् महाकालले कालको अगाडि परीक्षा दिनुभएको छ महाभारतमा । त्यो पनि एक-दुई पटक होइन । पटक पटक ! अनेकौं पटक ! र, हजारौं पटक । यो विषयमा अर्को पटक चर्चा गरौँला । विद्वान् पाठकहरुको आग्रह यदि कहिल्यै आएछ भने । भतृहरि आफ्नो नीति श्लोकमा लेख्नुहुन्छ –

अज्ञः सुखमाराध्यः सुखतरमाराध्यते विशेषज्ञः ।

ज्ञानलवदुर्विदग्धं ब्रह्माऽपि तं नरं न रञ्जयति ।।

अर्थात्

अज्ञानीलाई निकै सरलताले खुशी पार्न सकिन्छ । अलिक बुद्धिमानीलाई झनै सरल रुपले आफू अनुकूल बनाउन सकिन्छ । तर जो व्यक्ति अल्प–ज्ञानले गर्वित छ, उसलाई स्वयम् ब्रह्माजीले पनि खुशी तुल्याउन सक्नुहुन्न ।

मानवता नै हराएको यस कलियुगको प्रारम्भमा मान्छेको त के कुरा गराई भो र !

एक्काइसौँ शताब्दीमा सम्पूर्ण मानव जातिलाई एकअर्कालाई छुन नै नदिईकन आफ्नो कोठाभित्र नै कैद बनाइ दिएको कोरोनाबाट कसरी बच्ने भनेर गणेश पुराणमा ऊ बेला नै सबिस्तार वर्णन गरिएको व्यहोरा सहित आजलाई बिदा चाहन्छु ।

साथै इतिहास र प्रागैतिहास उत्खतन र अन्वेषण गर्नुस् तर नष्ट गर्ने कुचेष्टा नगर्नुस् । किनकि देवनिर्मित इतिहास त स्वयम् यसका रचयिताले पनि नष्ट गर्न असम्भव छ ।

सर्वे भवन्तु सुखिनः

सर्वे सन्तु निरामया ।

सर्वे भद्राणि पश्यन्तु मा

कश्चिद् दुःखभाग् भवेत् ।।

अस्तु ।

इति ।।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम