Logo

ओलीले ‘हिन्दुराष्ट्र’ को मुद्दा उठाउलान् ?



काठमाडौं, १९ असार । नेकपा एमालेभित्र पहिलोपटक धर्मनीरपेक्षतामाथि प्रश्न उठाउँदै प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले धर्मनीरपेक्षताको समिक्षा हुनुपर्ने भन्दै आजको बैठकमा प्रस्ताव पेश गरेका हुन् ।

बस्नेत एमालेको युवा इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य बस्नेतले धर्मनीरपेक्षताको समिक्षासहितको प्रस्ताव पेश गरेपछि राजनीतिकवृत्तमा तरङ्ग आएको छ । प्रधानमन्त्री ओलीले हिन्दुत्वको मुद्दालाई प्रत्यक्ष अप्रत्यक्ष उठान गरिरहँदा उनका विश्वासपात्र बस्नेतले धर्मनीरपेक्षताको फेरि समिक्षा हुनुपर्नेसहितको प्रस्ताव पेश गरेका हुन् । पछिल्लो समय देशमा हिन्दु राष्ट्रको मुद्दा जोडतोडले उठिरहेको छ ।

नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा यसअघि नै उठेको हो । काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले यो मुद्दालाई प्रवेश गराएका थिए । उनले संविधानमा धर्मनीरपेक्षता राखिएको भन्दै हटाएर हिन्दुराष्ट्र बनाउनुपर्ने विषय उठाएका थिए । उनको निधनपछि केन्द्रीय सदस्य शंकर भण्डारीले यो मुद्दा उठाउँदै आएका छन् ।
काँग्रेस महामन्त्री डा.सशांक कोइरालाले पनि धर्मबारे फेरि विचार गर्नुपर्ने सार्वजनिक रुपमा बोलेका थिए । तर, पछिल्लो समय उनले यो मुद्दालाई खासै प्राथमिकतामा राखेर उठाएका छैनन् ।

एमालेभित्र पहिलोपटक धर्मनीरपेक्षताको पुनः समिक्षाको विषय महेश बस्नेतले उठाएका छन् । बस्नेतले पहिलोपटक औपचारिक रुपमा यो मुद्दालाई प्रवेश दिलाएपछि देशमा अबको राजनीतिक मुद्दा नै धर्म हुनसक्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय धर्मको विषयलाई निकै प्राथमिकतामा राखेका छन् । उनले अयोध्यापुरीमा राम मन्दिर निर्माण देखि पशुपतिमा जलहरी चढाउने कदम पनि चाले । ओलीले पशुपतिनाथको गत वर्ष विशेष पूजा गरेका थिए । आफ्ना मन्तव्यमा उनले आध्यात्मिक विषयलाई उठाउने गरेका छन् ।

ओलीले धर्मको मुद्दालाई उठाउन थालेदेखि नै छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन जित्न खोजेको टिप्पणीहरु पनि भएका थिए । उनले धर्मनीरपेक्षता हटाउन भूमिका खेल्ने भित्री सम्झौता गरेको भन्दै काँग्रेस केन्द्रीय सदस्य अमरेश सिंहले प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भनेका थिए ।

ओलीले हिन्दुराष्ट्रको मुद्दा नै उठाउने सम्भावना भने निकै कम छ । तर, उनले संविधानबाट धर्मनीरपेक्षता हटाउने मुद्दा भने उठाउन सक्छन् । पछिल्लो समय ओलीले यस्तै संकेतहरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्