Logo

नेपाल समूहविना नै अघि बढ्यो एमाले



काठमाडौं, असार २० । नेकपा एमालेले पार्टीभित्र जारी विवादकै बीच यही साउनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ । असन्तुष्टि माधव नेपाल समूहलाई छोडेरै पार्टीले साउनमा विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

संस्थापन पक्षको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । विधान अधिवेशनका लागि अध्यक्ष केपीशर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा ‘बादल’ ले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय गरेको छ ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेस गर्नुभएको यियो । एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो ।

विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो । अब एमालेको दशौं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि मात्र हुनेछ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने बताइएको छ ।
पार्टीभित्रको जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन भए पनि सहमति जुट्न सकेन । पार्टीका दोस्रो तहका नेताहरुको सक्रियतामा दुवै नेताबीच टेलिफोन संवाद भए पनि आ–आफ्नो अडानमा अडिक रहँदा सहमति जुट्न नसकेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्