Logo

बाढीपहिरोमा परी ३८ को मृत्यु



काठमाडौं, असार २० । असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी ३९ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण ४८ जिल्ला पूर्णरूपमा प्रभावित भएका छन् । सोही अवधिमा चार सय ८९ घर पूर्णरूपमा भत्किएका छन् भने एक सय १२ घर आंशिकरूपमा भत्किएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ बाढी र पहिरोमा परी पाँचको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा तीन सय ३८ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

अहिलेसम्म बाढी र पहिरोका दुई सय दुईवटा घटना भएका छन् भने मनाङमा आएको बाढीबाट ५९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोमा पारी ३६ वटा सरकारी भवन पनि पूर्णरूपमा ध्वस्त भएका छन् । यसका साथै बाढीले २२ वटा झोलुङ्गे पुल बगाएको छ भने १४ वटा पक्की पुल क्षतिग्रस्त भएका छन् ।

२५ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा क्षति पुगेको तथा सातवटा सामुदायिक भवन तथा विद्यालय भत्किएका छन् । बाढीले सातवटा मोटरेबल काठेपुल बगाएको छ भने दुईवटा वित्तीय संस्थामा क्षति पुगेको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो । यही अवधिमा ३९ अर्ब बराबरको भौतिक क्षति भएको सरकारले दाबी गरेको छ । अविरल वर्षाका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुने क्रम जारी रहेको छ भने हजारौं मानिस गन्तव्यमा पुग्न नसकेर बाटोमा नै अलपत्र परेका छन् । सडकमा अलपत्र परेका मानिसलाई स्थानीय प्रशासनले गन्तव्यमा पु¥याउने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्