Logo

थापागाउँको ‘पर्ती’ जग्गा पाठशाला स्कुललाई भाडामा



काठमाडौं, २० असार । काठमाडौंको नयाँ बानेश्वर, थापागाउँस्थित करिब १ रोपनी दुषित रूपमा दर्ता भएको ‘पर्ती’ जग्गा पाठशाला स्कुललाई पार्किङका लागि भाडामा लगाएको पाइएको छ । भूकम्प र चुनावको बेला सार्वजनिक प्रयोजनका लागि प्रयोगमा आइरहेको उक्त ‘पर्ती’ जग्गा पाठशाला स्कुललाई भाडामा दिएपछि स्थानीयहरु जग्गा संरक्षणका लागि जुर्मर्याएका छन् ।

२०२१ सालको नापी अनुसार सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको थापागाउँ लाखेचौर मार्गस्थित उक्त खुला जग्गा पाठशाला स्कुललाई भाडामा लगाउन टिनले घेरेपछि स्थानीयले खोजबिन गर्दा प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको रहस्य खुलेको छ । करिब ५ दशकदेखि सार्वजनिक प्रयोगमा आइरहेको त्यो जग्गामा एक्कासी घेराबारा गरेर पाठशाला स्कुललाई पार्किङको लागि भाडामा दिएपछि उप्रेतीद्वयको नाममा दर्ता गराइएको रहस्य खुलेको हो ।

पाटनतिरका नेवार थरका व्यक्तिले नुन छरेर छोडेको भनिएको थापागाउँको त्यो जग्गामा स्थानीय वासिन्दाले आफ्ना बालबच्चालाई खेलकूदका लागि मर्मत सम्भार गरेर प्रयोग गर्दै आएका थिए । सार्वजनिक जग्गाकै मानेर निर्वाचनको मतदान केन्द्रसमेत नजिकैको मेरिगोल्ड स्कुलमा राख्दै आइएको छ । तर त्यो सार्वजनिक जग्गा पाठशाला स्कुललाई उप्रती परिवारले भाडामा लगाएपछि स्थानीयले कागजात खोजी गर्दा २०२१ सालमा उक्त जग्गा नापी हुँदा फिल्ड–बुकमा ७ नम्बर ‘पर्ती’ उल्लेख जग्गा २०५३ साल असारमा उप्रेती दाजुभाइको नाममा गएको तथ्य फेला परेको हो ।

अहिलेसम्म कसैले भोगचलन र खनजोत गर्ने ऑट नगरेको थापागाउँको त्यो जग्गा भाडामा लगाएपछि खोजी गर्दा २०२१ सालको नापी अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित साबिकको महादेवस्थान ६( ख) सिट नम्बर १७२–११४६–०७ को कित्ता नम्बर ७९ को क्षेत्रफल १ रापनी १२ आना २ पैसा पर्ती उल्लेख भएको जग्गा मध्ये कित्ताकाट भइ नयाँ कित्ता नम्बर १२७ को क्षेत्रफल १५ आना १ दाम जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०५३ साल असार १२ गते उप्रेती दाजुभाइको नाममा दुषित दर्ता गराएको देखिन्छ । कित्ता नम्बर ७९ को १ रोपनी १२ आना २ पैसा पर्ती जग्गामध्ये कित्ताकाट गरी उप्रेती दाजुभाइको नाममा १५ आना १ दाम जग्गा दुषित दर्ता गराएको मालपोतको रेकर्डबाट खुलेको छ । नापजाँच ऐन २०१९ तथा मालपोत ऐन २०३४ ले पर्ती जग्गा भन्नाले सरकारी जग्गालाई जनाउने परिभाषा गरेको छ। मुलुकी देवानी (संहिता) ऐेन २०७४ दफा २९९ को (ङ) मा पनि पर्ती जग्गालाई सरकारी सम्पत्ति मानिने उल्लेख छ ।

मालपोत ऐन र संहिताले त्यस्तो जग्गा दर्ता गर्नसमेत बन्देज लगाएको छ। तर सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा पर्ती उल्लेख भएको सो जग्गा प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको छ । स्मरणीय त के छ भने नयाँ वानेश्वरको थापागाउँ जस्तो महत्वपूर्ण ठाउँमा त्यो मूल्यवान जग्गामा इतिहास देखि नै कसैले भोगचलन गरे गराएको छैन । जे जसरी उप्रेती दाजुभाइले आफ्नो नाममा दर्ता गराए तापनि बावुबाजेको धर्मसंस्कार, नैतिकता, इज्जत इमानलाई ख्यालमा राखेर हुनुपर्छ भोगचलन गर्ने आँट गरेका थिएनन् ।

अहिले आएर त्यो जग्गा पाठशाला स्कुललाई भाडामा दिएपछि भने थापागाउँका स्थानीयहरु सक्रिय भएका छन् । सयौँ व्यक्तिको हस्ताक्षरसहित थापागाउँका स्थानीय बासिन्दाले पनि कित्ता नम्बर १२७ को व्यक्ति विशेषका नाममा दर्ता भएको पर्ती जग्गा सरकारी कायम गर्न मालपोत कार्यालय डिल्लीबजारमासमेत निवेदन दिएका छन् । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको अगुवाईमा उक्त जग्गा मालपोत ऐन २०३४ को दफा २४ (२) अनुसार नेपाल सरकारको नाममा फिर्ता ल्याउन वडा नम्बर १० का स्थानीयले मालपोत कार्यालय डिल्लीबजारमा निवेदन दर्ता गराइसकेका छन् । मालपोत ऐन २०३४ को दफा २४ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता वा आवाद गर्न नहुने उल्लेख छ । सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेमा त्यस्तो दर्ता स्वतः बदर हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्