Logo

बुद्धको यौन-ज्ञान



धर्मको अर्थ ज्ञान हो, अन्धभक्ति होइन । बुद्धले आफू भगवान् नभएको र आफूले कुनै जादु र चटक पनि गर्न नसक्ने आफैंले बताएका छन् । उनले आफूले प्राप्त गरेको ज्ञान पनि व्यक्ति विशेषलाई अनुभव गरेरमात्र स्वीकार्दा हुन्छ भनेका छन् । त्यसैले बुद्ध धर्म भनेको अध्ययन र परीक्षणसँग जोडिएको छ, जुन अन्ध परम्परामा आधारित हुनु पर्दैन ।

बौद्ध धर्म स्वतन्त्र चिन्तनको मार्ग हो । थेरवादका अनुयायीहरु बुद्धको शिक्षालाई सोही रुपमा अर्थाउन र व्यवहारमा प्रयोग गर्न चाहन्छन् जुन कर्मकान्डी परम्परामा उतिसारो मेल खाँदैन । बुद्धको जीवनमा जोडिएको एउटा कथा यहाँ सान्दर्भिक हुन सक्छ।

बहुजन हित र बहुजन सुखसँग जोडिएको बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धसँग कसैले सोधेछ – ‘उत्तम धर्म भनेको के हो ?’ बुद्धले सहज उत्तर दिएछन् – ‘जुन धर्म दुःख र दुःखमुक्तिका लागि हुन्छ, त्यही धर्म उत्तम हो ।’ बुद्धले त्यसको व्याख्या पनि गरेका छन् ।

गौतम बुद्ध आफ्नो धर्म प्रचारका क्रममा धेरै स्थानमा घुमे । बुद्ध अरु धर्ममा जस्तो जातपात र भेदभावमा विश्वास नगर्ने भएका कारण उनी सबै मानव वा प्राणीले आफ्नो शिक्षा लिऊन् भन्ने चाहन्थे । उनी कुनै गाउँमा पुगे । त्यस दिन गाउँकी एक महिलाले बुद्धलाई भोजन दान गर्ने निधो गरिन् र बुद्धको नजिक पुगिन् । तर उनलाई ती गाउँवासीहरुले बुद्धको समीपमा जान रोके । उनीहरुले अब ठूलो विपत्ति पर्ने भयो भनी खैलाबैला मच्चाए । बुद्धलाई उनीहरुले तत्कालै भन्न थाले – ‘भगवान्, ती महिलाको हातबाट भोजनदान लिनु ठूलो अपराध हुन्छ र अनर्थ पर्न सक्छ ।’

बुद्धलाई अनौठो लाग्यो र उनले उनीहरुसँग सोधे – ‘किन के भयो र ती महिलाको हातबाट मैले भोजन नलिनु ? उनीहरु सबैले एकै स्वरमा भने – ‘भगवान् ती महिला एक वेश्या हुन् र उनले यो समाजलाई पूरै बदनाम गरेकी छन् । उनलाई त यो समाजबाट निकाल्नु पर्दछ ।’

ती महिलाको बारेमा धेरैले धेरैथरी कुरा गरे । बुद्धले लामो समय दिएर सबैको कुरा सुने । सबैले अब बुद्धले ती महिलालाई कुनै कारबाही गर्ने निर्णय सुनाउँछन् भन्ठाने । ती महिला पनि आफ्नो दैनिकीको विषयलाई लिएर ठूलो त्रासमा परिन् । ममाथि अब ठूलै बज्रपात हुने भयो भनेर उनले सोचिन्, ‘म बेकारमा बुद्धको समीपमा आएछु । नआउनु पर्ने रहेछ ।’

सबैलाई शान्त रहन आग्रह गर्दै बुद्धले आफ्नो सन्देश दिन थाले जहाँ समाजका सबै मान्यजनहरु र उनीहरुले अपराधीका रुपमा पुष्टि गर्न खोजेकी महिला समेत थिइन् । महिला निरीह बनेर कामिरहेकी थिइन् । बुद्धले आफ्ना केही नैतिक ज्ञानगुनका कुरा गरेर ती महिलालाई सोधे – ‘के उनीहरुले तिमीमाथि लगाएको आरोप सही हो ?’ ती महिला नाजवाफ भइन् अर्थात आफू वेश्या भएको स्वीकारिन् । अनि बुद्धले त्यहाँ भेला भएको त्यही समाजमा प्रश्न राखे – ‘यिनी कुन गाउँकी महिला हुन् ?’ उनीहरुमध्ये कसैले भन्यो – ‘यही गाउँकी हुन् ।’

बुद्धले फेरि उनीहरुलाई प्रश्न गरे – ‘यी महिलासँग सहबासका लागि को र कहाँका मानिस आउँछन् ?’ बुद्धको यस प्रश्नको उत्तर दिन कोही तयार भएनन् र मौन बसे । बुद्धले धेरै पटक सोधे । कोही बोलेनन् । अन्त्यमा बुद्धले तिनै महिलालाई सोधे तर उनले पनि जवाफ दिन सकिनन् । बुद्धले धेरै जोड गरेपछि उनले सुस्तरी बोलिन् – ‘यही गाउँका मानिसहरु मकहाँ आउँछन् ।’

यसबेला गाउँका मान्यजनहरु सबै डराए – कतै ती महिलाले आफ्नो नाम पो लिने हो कि ! ज्ञानी बुद्धले सभाको त्यो भाव बुझेपछि एकदमै सरल र सहज तरिकाले ती मान्यजनहरुलाई भने – ‘यी महिला पनि यही गाउँकी रहिछन् र उनीसँग सहबासका लागि जाने पनि यही गाउँका मानिसहरु रहेछन् । अब भन्नुहोस्, यी महिलालाई कसले वेश्या बनाएको हो र वेश्याको अर्थ के हो ? यी महिलालाई तपाईं पुरुषहरुले नै आफ्नो घरको महिलालाई झैं व्यवहार नगरी आफ्नो उपभोगको साधन बनाउनुभएको रहेछ । यी महिला नभएको भए पनि तपाईंहरु अरु कुनै महिलालाई त्यही स्थानमा राख्नु हुने रहेछ ।’

‘ती महिलाकोमा नजाने चाहिँ को-को हुनुहुन्छ होला त’ भनी फेरि प्रश्न राख्दा कोही पनि बोल्न सकेनन् र सबै निहुरिएर मौन बसे । सभा ज्यादै मौन बन्यो । सबैले बुद्धको फरक र यथार्थ धारणा सुनेर नाजवाफ बने । बुद्धले उनीहरु सबैलाई सम्झाउँदै आफ्नो शिक्षा दिन थाले । बुद्धको निचोड थियो – ‘यी महिला पनि तपाईंहरुको घरकी आमा, श्रीमती र छोरी जस्तै हुन् । उनले जन्मँदै वेश्या बनेर जन्म लिएकी हैनन् । मानिस जन्मले कोही पनि जात–जाति र वर्गको हिसाबमा जन्मेको हुँदैन । उनलाई उचनिच र यो दैनिकीमा ल्याउने काम अन्त वा अरु कसैबाट नभएर यही समाजले बनाएको हो ।’

बुद्धको यस्ता कुरा सुनेपछि सबै उपस्थितहरु मौन नै रहिरहे । बुद्धले उनीहरुलाई सुझाव दिए – ‘आजको दिनबाट तपाईं गाउँबासी उनीकहाँ त्यो अभिलाषा राखेर नजानुहोस् । भोलिदेखि ती महिला वेश्या बन्नु पर्दैन । त्यसैले उनलाई वेश्या बनाउने र अपमानित जीवनयापन गर्न बाध्य पार्ने तपाईंहरु नै हो, ती महिलाको कुनै दोष छैन ।’ सबै मौन भए र आफू आफूमै आत्म-मन्थन गर्न थाले । बुद्धको शिक्षालाई कुनै कोणबाट पनि नकार्न सकेनन् ।

अन्ततः बुद्धले भने – ‘मेरा लागि यी महिला तपाईंहरु र तपाईंहरुको घरमा रहेकी महिलाभन्दा फरक छैनन् । उनको पवित्र सोच र चाहना अनुसार म आज उनको हातबाट दान हुने भोजन ग्रहण गर्दछु । किनभने यहाँ उनको कुनै दोष पनि छैन ।’ सबैले बुद्धको कुरालाई स्वीकारे । ती महिला पनि डरमुक्त भइन् र आफू पनि समाजको एक भद्र महिला बन्न पुगिन् ।

प्राकृतिक स्वरुपले महिला र पुरुषबीचको स्वभाव र अर्थ भिन्न छ । सामाजिक व्यवहारमा यौनबिना समाज व्यवस्थित बन्न पनि सक्दैन । यौन प्राकृतिक हो भने आशक्ति त्यसको बाधक हो । यो अज्ञानी पुरुष र महिला दुबैमा हुन्छ । कतै बढी कतै कम, त्यो बेग्लै कुरा हो । समाज त्यसको मूल जिम्मेवार हो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम