Logo

७ करोड ठगी गरी प्रेमकुमार मल्लले जर्नेलमार्फत् धम्की दिई उन्मुक्ति पाउन खोजेको निर्माण व्यवसायी राजकिशोरको आरोप



काठमाडौं, २० असार । ज्योति निर्माण सेवाका प्रबन्धक निर्देशक राजकिशोर साह गुप्ताले व्यवसायिक साझेदार प्रेमकुमार मल्लले ७ करोड रुपैयाँ नदिएर उल्टै सेनाका जर्नेलमार्फत् धम्की दिएको आरोप लगाएका छन् । आफू अन्यायमा परेको भन्दै सरकारसँग र नागरिक समाजसँग सहयोगको आग्रह गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी गुप्ताले तीनवटा आयोजनामा गरेको कामवापत्को रकम एक महिनामा दिने गरी दमक नगरपालिकामा वारेस नै बसेर हस्ताक्षर गरेपनि नदिएर उल्टै धम्की दिएको बताएका हुन् । उनले भने,‘आयोजनाको काम गरेको पैसा नदिने उल्टै धम्की दिने गतिविधि भयो ।’ मल्ललाई सेनाका एकजना जर्नेलले साथ दिदै आएको समेत गुप्ताले उल्लेख गरे ।

नेपाली सेनाका सहायक रथी हेमराज केसीले प्रहरी र सरकारी वकिललाई दबाब र प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त सम्धी नाता पर्ने प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाएको गुप्ताले आरोप लगाएका छन् । मल्लसँग १२ वर्षदेखि सँगै काम गरेको र लेनदेनको विषयमा विवाद भएको खुलाए । प्रेणा निर्माण सेवाका प्रबन्धक निर्देशक प्रेमकुमार मल्लले पार्टनरसीपको पैसा लगाएर आफ्नो रकम दिन अस्वीकार गरेको सुनाए ।

तीनवटा आयोजनाका ७ करोड रुपैयाँ एक महिनामा दिने गरी प्रशासनको रहोवरमा सहमति भएपनि कार्यन्यन नभएको बताए । उनले भने, ‘सहमति कार्यन्यन नगरेपछि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएको हुँ । मल्लले प्रशासनमा आएर ८६ लाख दिए ।’ ३० दिन पछि बाँकी पैसा दिने सहमती पत्रमा हस्ताक्षर गरे पनि नदिएर झुलाएको उनको भनाई छ ।

साझेदारका लागि बैंकिङ प्रायोजनका लागि साझेदार प्रेम मल्लको नाममा कागज बनाएर जग्गा पास गरेको र ठेक्काको काम सकिएपछि जग्गा फिर्ता गर्ने भनेकोमा विक्री गरेर ठगी गरेको सुनाए । ठगी गरेर मुद्दा चल्न नदिने गर्दा आफू घरबारविहिन हुने अवस्थामा पुगेको बताए । उनले भने,‘१६ करोड डुब्यो । अब कर्मचारीलाई तलब दिन नसक्ने भएको छु ।’

उनले साझेदारीमा रहेको दमकस्थित कार्यालयमा कर्मचारीहरुलाई तलव दिन, घरभाडा दिन नसकेको सुनाए । साझेदारले धोका दिएपछि नेपाली सेनाका सहायक रथी हेमराज केसीले फोन गरेर म सबै कारोबार मिलाइदिन्छु भनेपछि आफू रातारात झापा पुगेको बताए । उनले भने, ‘त्यहाँ पुगेपछि मेरो फोन हेमराजले उठाउनु भएन् ।’ शक्तिको आँडमा आफूलाई अन्यायमा पारेको गुप्ताले सुनाए ।

उनले आफुलाई पटक–पटक महेन्द्नगरको आर्मीको क्याम्पमा बोलाएर गएको समेत बताए । ‘मधेसी भएकाले म बाँच्न नपाउने हो ?’ सरकारसँग प्रश्न गरे, ‘मधेसीलाई स्वतन्त्रता छैन् हेप्ने, खेद्ने ?’ ‘पार्टीको लेनदेनको केसमा आर्मी, सेनाका मान्छे आउन हुन्छ की हुँदैन् ? जसको नाममा वारेन्ट पुर्जी छ त्यसलाई बोकेर लान मिल्छ की मिल्दैन् ?’ उनले प्रश्न गरे । सेनासँग सम्बन्ध नभएकै आधारमा अन्यायमा पर्नुपर्ने भन्दै असन्तुष्टि पोखे । ‘यो कति सम्म अन्याय हो,’ उनले भने, ‘हामीसँग सेनाको सम्बन्ध छैन भने के हामी बाच्न नपाउने ?’

पछिल्लो समय प्रेम मल्लले माथिसम्म सेटिङ गरेको भन्दै धम्काएको बताए । उनले भने, ‘माथिसम्म सेटिङ गरेको छु, प्रधानमन्त्री मेरै, राष्ट्रपति मेरै भन्दै मलाई पटक–पटक धम्क्याउछ ।’ यस घटनाको सत्य तथ्य पत्ता लगाई आफ्नो रकम, जग्गा फिर्ता दिलाईदिन माग गरे ।

 



प्रतिक्रिया दिनुहोस्