Logo

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने



काठमाडौं, असार २१। छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए। कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।

समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।

गजुरेलले भने, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।” सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८÷७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उनले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्