Logo

एकीकृत भन्सार जाँचचौकी नेपालगञ्जमा धमाधम



नेपालगञ्ज, असार २१। निषेधाज्ञाबीच पनि यहाँस्थित नेपाल–भारत सीमामा एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण धमाधम छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा जाँचचौकी निर्माण भइरहेको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालका अनुसार दुई वर्षभित्र निर्माण सक्ने सम्झौतासाथ छ महिनाअघि काम सुरु भएको हो । भारतीय निर्माण कम्पनी राजदीप विल्डकन प्रालिलाई ८८ बिघा जग्गा हस्तान्तरण गर्दै काम सुरु भएको थियो ।

उहाँले निषेधाज्ञाको समयमा पनि दिनरात काम भइरहेकाले आगामी डेढ वर्षमा निर्माण कार्य पूरा हुने सम्भावना रहेको बताउनुभयो । भारततर्फ भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न र सडक बनाउने काम पनि तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

जाँचचौकी निर्माणका लागि नेपाल सरकारले हस्तान्तरण गरेको ८८ बिघा जग्गामध्ये ६७ बिघा गोदामलगायतका संरचना बन्ने र बाँकी २१ बिघा बाटोका लागि छुट्याइएको भुसालले बताउनुभयो ।आईसीपी निर्माणको निरीक्षण गरिरहेको राइटस् कन्सल्टेन्टका प्रमुख अजय अग्रवालले हालसम्मको कामको गति हेर्दा डेढ वर्षभित्र सबै निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिने अवस्था देखिएको बताउनुभयो ।

भन्सार कार्यालय, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, अध्यायगमन कार्यालयलगायत सबै कार्यालय एकै ठाउँमा रहने एकीकृत भन्सार जाँचचौकी निर्माणका लागि राजदीप विल्डकन प्रालिले दुई अर्ब ३५ करोड रुपियाँँमा ठेक्का लिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्