Logo

नेपालकी छाेरी देवयानी कोकाकोलाको उच्च नेतृत्वमा,  भारत र दक्षिण-पश्चिम एसिया हेर्ने  भाइस प्रेसिडेन्ट                      



काठमाडौं । नेपाली चेली देवयानी राज्यलक्ष्मी राणालाई कोकाकोला इन्डियाले भारत तथा दक्षिण-पश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्ट नियुक्त गरेको छ ।

देवयानी नेपालका चर्चित राजनीतिज्ञ पशुपतिशमशेर राणाकी छोरी हुन् । उनकी आमा उषाराजे भारतको ग्वालियरका अन्तिम राजा तथा भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी ठूली छोरी हुन् ।

उनकाे नियुक्तिले भारत तथा एसियामा कम्पनीको लक्ष्य तथा उद्देश्य हासिल गर्न मद्दत पुग्ने विश्वास लिएको काेकाकाेला इन्डियाले जनाएको छ ।कम्पनीका अनुसार विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार,  सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन् ।                                कोकाकोला इन्डियामा नियुक्तिअघि देवयानी क्याटरपिलर इन्डियाको निर्देशकका रूपमा कार्यरत थिइन् । पब्लिक अफेयर्स डाइरेक्टरका रूपमा उनले त्यहाँ भारत, नेपाल र भुटानका लागि काम गर्थिन् ।

त्यसअघि उनी भारतमा युएनडीपी तथा युएनसँग आबद्ध थिइन् । त्यस्तै उनले जेनेभाको स्वोब फाउन्डेन तथा स्विट्जरल्यान्ड वर्ल्ड इकोनोमिक फोरममा समेत काम गरिसकेकी छन् ।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पाेलिटिकल साइन्समा उच्च अध्ययन गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्याचलर डिग्री भारतको लेडी श्रीराम कलेजबाट पूरा गरेकी हुन् ।

देवयानी घरेलु तथा निर्यात बजारहरुमा उत्पादन तथा व्यापार वृद्धिका रणनीति बनाउन अब्बल तथा प्रभावशाली व्यक्तित्व हुन् । उनले यस क्षेत्रको पूर्वाधार, वातावरण, समाज तथा सुशासन, वित्तलगायतका क्षेत्रको विकासका लागि प्रभावकारी रणनीति बनाइसकेकी छन् ।

देवयानीले अढाई दशकको अवधिमा विभिन्न संस्थाहरुसँग आबद्ध भएर गरेको कामले ब्रान्ड प्रर्बर्धन तथा सकारात्मक व्यापार नतिजा ल्याउन योगदान दिने गरेको भन्दै कोकाकोला कम्पनीले दिगो तथा संस्थागत कार्यक्रमहरु अघि बढाउन देवयानीको नेतृत्वले फलदायी नतिजा दिने विश्वास गरेकाे छ ।                                  कोकाकोला विश्वकै सबैभन्दा ठूलो पेय पदार्य उत्पादक कम्पनी हो । यसले कोकाकोला, फ्यान्टा, स्प्राइट, भिटामिन वाटर, डाइट कोक, कोकाकोला जिरो लगायतका विविध उत्पादन विश्व बजारमा चर्चित छन् । विश्वका दुई सयभन्दा बढी देशमा यसका उत्पादनहरु बिक्री वितरण हुने गरेका छन् ।

कोकाकोला इन्डिया सन् १८९२ मा स्थापना भएको हो। यसको केन्द्रीय कार्यालय गुरगावमा छ । कोकाकोला इन्डियामा २५ हजारभन्दा बढी कामदार कार्यरत छन् ।

कोकाकोला कम्पनीका भारत तथा दक्षिण पश्चिमी एशियाका अध्यक्ष संकेत रेले देवयानीकाे नियुक्तिबारे भनेका छन्- ‘नीतिगत, कानुनी, व्यापार सम्झौताहरु तथा नियमनका क्षेत्रमा लामो समय काम गरेको अनुभव तथा उनको नेतृत्वदायी व्यक्तित्व हाम्रो लागि ठूलो सम्पत्ति हो । यस क्षेत्रमा कोकाकोलालाई प्रभावशाली रूपमा अघि बढाउन देवयानीको आगमनले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

 



प्रतिक्रिया दिनुहोस्