Logo

काँग्रेसभित्र को को छन् ‘हिन्दुराष्ट्र’ को पक्षधर



काठमाडौं, २१ असार । मुलुकको राजनीतिमा धर्मको मुद्दाले स्थान बनाउँदै लगेको छ । सत्तारुढ कम्युनिस्ट पार्टी नेकपा एमालेभित्र पनि धर्मबारे बहसको मागसहितको प्रस्ताव पुगेको छ । यसले अबको राजनीतिमा धर्मको मुद्दा नै मुख्य हुनसक्ने संकेतहरु देखिएको छ ।

सत्तारुढ नेपाली काँग्रेसभित्र धर्मको मुद्दा बलियो बन्दै गएको छ । विगतमा खुमबहादुर खड्काले उठान गरेको ‘हिन्दुराष्ट्र’को मुद्दालाई उनीपछि शंकर भण्डारीले खुलेरै उठाइरहेका छन् । तर, प्रमुख नेताहरु अझै खुल्न सकेका छैनन् ।

महामन्त्री डा. सशांक कोइरालाले गणतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा जनमतसंग्रह हुनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उनले हिन्दुराष्ट्रप्रति लचकता पनि देखाएका थिए । तर, पछिल्लो समय उनी धर्मको मुद्दामा गम्भीर छैनन् ।

काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि धर्मको मुद्दा उठाएका थिए । उनले पनि हिन्दुराष्ट्रबारे पर्नुविचारको विषय उठाएका थिए । तर, कोइराला पनि पछिल्लो समय यसबारे बोल्न छाडेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धर्मको विषयमा सन्देशहरु दिन थालेका छन् । देउवा पत्नी आरजु देउवाले यसै महिना धर्मकर्मका तस्बिर र भिडियो फेसबुकमा राखेकी छिन् । उनले देउवासहित हिन्दु धर्मसंस्कार अनुसारको पूजाको तस्बिर र भिडियो फेसबुकमा राख्नुलाई हिन्दुत्वप्रतिको आस्थाको सन्देशका रुपमा बुझिएको छ ।

देउवा हिन्दुराष्ट्रको मुद्दामा भने मौन छन् । उनले धर्मबारे केही बोलेका छैनन् । यसलाई अर्थपूर्ण मानिएको छ । काँग्रेसभित्र धर्मको मुद्दाले जोडदार प्रवेश पाइरहँदा देउवा दबाबमा पर्दै गएका छन् । उनलाई कुनैपनि समय यो मुद्दालाई सम्बोधन गर्ने एजेन्डा तयारीको दबाब पर्न सक्छ ।

काँग्रेसभित्र सहमहामन्त्री सुनिलबहादुर थापा हिन्दुराष्ट्रका पक्षधर हुन् । उनी राप्रपामा रहँदा पनि यसकै पक्षमा थिए । काँग्रेसमा प्रवेश गरेपनि सुनिलबहादुर थापाले हिन्दुराष्ट्रको पक्ष छाडेका छैनन् । उनी यसमा अडिग छन् । थापा ठूलो शक्तिसहित काँग्रेस प्रवेश गरेकाले उनले उठाउने धर्मको एजेन्डाले दबाब बढाउन सक्छ ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र महेश आचार्य पनि हिन्दुत्वको मुद्दामा लचिलो छन् । आचार्य हिन्दुराष्ट्रको मुद्दामा नरम रहेको बुझिएको छ ।

कोइराला परिवारका सदस्यमध्ये डा. सशांक कोइराला र डा. शेखर कोइरालाले हिन्दुराष्ट्रको मुद्दालाई उठाउने संकेतहरु गरेपनि खुलेर उठाएनन् । शेखर कोइराला पर्ख र हेरको अवस्थामा छन् । सुजाता कोइराला धर्मबारे मौन बसेकी छिन् । उनी हिन्दुराष्ट्रको पक्षमा नदेखिएपनि पछिल्लो समय लचिलो बन्दै गएको बुझिएको छ ।

काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह गत शनिबार दक्षिणकाली मन्दिर पुगेर तस्बिर नै शेयर गरे । यो आफैमा धर्मबारे उनले दिएको सन्देश हो । सिंहले धर्मबारे पछिल्लो समय मौनता साँधेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य गगन थापा पनि धर्मबारे मौन देखिन थालेका छन् । अर्का नेता प्रदीप पौडेल पनि मौन नै देखिएका छन् ।

हिन्दु धर्मको मुद्दाले काँग्रेसको आगामी महाधिवेशनमा ठूलो असर पार्ने देखिएको छ । यसप्रति नेताहरु सचेत हुन थालेका छन् । केही महिनाअघि काँग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टी कार्यक्रममा धर्मनीरपेक्ष भन्दा भक्तपुरको कार्यक्रममा स्थिति नै तनावग्रस्त भएको थियो । त्यसपछि निधिले धर्मबारे बोल्न छाडेको बुझिएको छ ।

धर्मनीरपेक्षताको पक्षधर भइसकेको काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दाले स्थान बलियो बनाउँदै लगेको छ । तर, यो मुद्दालाई काँग्रेसले आधिकारिक रुपमा उठाउने सम्भावना भने कमजोर छ । काँग्रेसको नेतृत्व तहमा पुग्न सक्ने कुनैपनि नेता खुलेरै यो एजेन्डा उठाउन तयार भएका छैनन् । तर, काँग्रेसका नेताहरुमाथि कार्यकर्ता तहबाट एक किसिमको दबाब भने छ ।



प्रतिक्रिया दिनुहोस्