Logo

४ दिनदेखि बिजुली नहुँदा बन्दिपुरमा संचार सम्पर्क टुट्यो



तनहुँ, २१ असार । बन्दिपुरमा असार १६ गतेदेखि अविरल वर्षासँगै गएको पहिरोले गाउँपालिकाका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । ४ दिनदेखि निरन्तर आएको वर्षाले विभिन्न स्थानमा बिजुलीका पोल ढलेको हुनाले संचारको माध्यम टुटेको हो । पहिरोबाट बन्दिपुरलाई पृथ्वी राजमार्गसँग जोड्ने डुम्रे–बन्दिपुर सडक खण्ड पुर्ण रुपमा क्षति भएको छ ।

एकतर्फी रुपबाट वैकल्पिक बाटो आजबाट खोलिएको बन्दिपुरका स्थानिय रोजन बानियाँले जानकारी दिए । लुङ्गेली, भैसीखार, बाला बजार, सिमल्टार, धारापानी र झप्री जाने स्थानमा बिजुलीको पोल ढलेकोले ४ दिन यता बिद्युत काटीएको हुनाले कसैसँग सम्पर्क गर्ने माध्यम नभएको गुनासो गरे ।

स्थानिय सुवास अधिकारीले बत्ति नभएकै कारण बन्दिपुरबासीले पानी खान नपाएको समेत बताए । उनले भने, ‘बन्दिपुरमा पानीको हाहाकार छ । गाउँपालिकाले जेनेरेटर चलाएर भएपनि पानी दिनु पर्ने हो तर हाल सम्म दिन सकेको छैन् ।’  उनेले आजदेखि बजारको केही भागमा मात्र बत्ति आएको बताए । गाउँपालिकाका प्राय सबै वडाहरु संचार माध्यमबाट पुर्णरुपमा बन्चित भएका छन् ।

बन्दिपुर–सिमल्टार डाड्खोला मोटरबाटो ३ स्थानमा पहिरो गएको हुनाले यातायातको सुविधाबाट पुर्ण रुपमा बन्चित भएको स्थानियले बताएका छन् । निरन्तरको वर्षाले सिमलटारलाई कुवादीसँग जोड्ने २ तले पुल समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

असार १७ गते पहिरोबाट बन्दिपुर वडा नं ३ तामुङमा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका थिए । घर माथिबाट खसेको पहिरोले घर पुरेको अवस्थामा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको छ । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

त्यस्तै खहरेमा पनि पहिरोले ५ घरलाई क्षति पुर्याएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले खहरेको ५ घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानन्तरण गरेको हो ।

बन्दीपुर गुरुन्चे डाडाँमा डोजर लगाएर पहिरो पन्छाउदै

तस्वीरः सरद श्रेष्ठको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्