Logo

सुजिताको हत्या भएको अनकन्टार जङ्गल (फोटोफिचर)



चितवन, २१ असार । भण्डारास्थित धमिले जंगल हो यो । ब्रम्हस्थानी सामुदायिक वनमा यो पर्दछ । जहाँ राप्ती नगरपालिका ३ प्रगतिचोककी २३ वर्षीया सुजिता भण्डारीको शव गलेको अवस्थामा फेला परेको थियो ।

पूर्व पश्चिम राजमार्गबाट एक घन्टाभन्दा बढीको दुरीमा पर्ने यो जङ्गल घना छ । राजमार्गबाट कच्ची बाटो गएपछि पनि झण्डै एक घन्टा दुरीमा घटनास्थल पर्छ । उकालो उक्लिएर मात्र घटनास्थलमा पुग्न सकिन्छ । शव भएको स्थानमा अप्ठ्यारो भीर छ ।

वनको बीचमा झाङमा अड्किएको अवस्थामा सुजिताको शव आइतबार साँझ फेला परेको थियो । च्याऊ टिप्न गएकाहरुले जङ्गलमा गन्हाएपछि खोजी गर्दा गलेको शव फेला पारेका थिए ।

जङ्गलको बीचमा एकान्त झाडीमा उनलाई हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको पोष्टमार्टम रिपोर्टले के भएको हो भन्ने तथ्य खुल्न सक्छ ।

११ असारबाट सुजिता हराएकी थिइन् । उनैले फोनमार्फत् आफू अपहरणमा परेको जानकारी गराएकी थिइन् ।

विहान ६ बजे साथीको घरमा जान हिंडेकी उनी नौ बजे फोन गर्दा अफ गरिएको भेटिएपछि परिवार चिन्तामा परेका थिए । उनकी दिदी कविता भण्डारीले लगातार फोन हानिन् । झण्डै ११ बजेसम्म सुजिताको फोन अफ भएको कविताले बताइन् ।

११ बजेतिर आफूले फोन गरेको र सम्पर्क नभएपछि पुनः सुजिताले फोन गरेकी थिइन् । कल मिस भएपछि कविताले नै पुनः फोन गरेकी थिइन् । दिदीले भनिन्,‘दिदी मलाई यस्तो यस्तो गर्यो भन्दै बहिनीले रुदै भनी ।्’ सिमरा चोकबाट सौराहा चोक जाने बाटो सोध्यो र अपहरण गरेको बताएकी थिइन् ।

फोन सम्पर्क हुँदा सुजिताले कारमा रहेको बताएकी थिइन् । कारमा अरु पनि रहेको बताएकी थिइन् । दिदीलाई आँखामा पट्टी बाँधेको छ भनेकी थिइन् ।

बहिनीले आफूसँग रुँदै बोलेको सुनाइन् । टाउकोमा हानेको बारम्बार बताएको सुनाइन् । अत्तालिदै फोन गरेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले फोन अफ भएपछि ट्रयाक गरेको थियो । ट्रयाक गर्दा पनि सुजिताको बारेमा केही पत्ता लागेको थिएन ।



प्रतिक्रिया दिनुहोस्