Logo

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिइएको छ ।

आयोगको यो कार्यको नेपाली कांग्रेसले विरोध गरिसकेको छ । पाँच दलीय गठबन्धनका नेताहरूले निर्वाचन कार्यतालिकाको विरोध गरिसकेका छन् । आयोगले निर्वाचनको मिति घोषणा भएकाले आन्तरिक तयारी ल्याएको जिकिर गरेको छ । राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउने आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गर्नुभएको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेको थियो ।

कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोही दिन दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कात्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्