Logo

संसार घुमाउने अंग्रेजी भाषाका १० सिनेमा 



राेहेज खतिवडा  : म एकै ठाउँमा अडिएर बस्न सक्दिनँ। मलाई डाँडापाखा हिमालका फेदतिर गइरहन मन लाग्छ। हिँडिरहन मन लाग्छ। तर लकडाउनले महिनौं कोठामा थन्किनु पीडादायी थियो। यसबेला मैले फिल्मबाट संसार घुम्ने उपाय लगाएँ। हामीलाई संसारका विभिन्न भाग घुमाउने, खासगरी पदयात्रासँग सम्बन्धित, १० फिल्मको नाम लिन चाहन्छु । तपाईं पदयात्राको लति हुनुहुन्छ भने पक्कै यी फिल्म हेर्नुभएकै छ। तपाईंले यीमध्ये कुनकुन फिल्म हेर्नुभएको छ, कस्तो लाग्यो ?
१. Sean Penn निर्देशित ‘Into the Wild’ यसमध्ये एक नम्बर मनपरेको फिल्म हो। वर्तमान अमेरिकी जीवनशैलीबाट विरक्तिएको, भर्खरै कलेजबाट ग्र्याजुएट भएको एक अमेरिकी युवाको सत्य कहानी हो। जीवनको अर्थहीन दौडधुपबाट मुक्ति पाउन र प्रकृतिमा रमाउन सबैथोक त्यागेर ऊ एक्लै अलास्का जान्छ हिड्छ, यो फिल्म यसको यही यात्रा हो। फिल्मसँगै  Eddie Vedder मनछुने गीत पनि छँदैछन्।
२. अमेजनको जंगलमा बस्ने (हुँदै नभएको) आदिवासी भेटाउँछु भन्दै लगेको गाइडले बीच जंगलमा छोडेर हिडेपछि के होला? यही कथा भएको ‘जंगल’ इजरायली पदयात्री योसी गिन्सबर्गको वास्तविक भोगाइमा बनेको अष्ट्रेलियन  फिल्म हो। Greg Maclean यसका निर्देशक हुन् । योसीका लागि यो यात्रा यति महत्वपूर्ण बन्यो कि पछि उनी इजरायल छाडेर त्यही जंगलको एक गाउँमा बसाइँ सरे ।
३. लेखक Bill Bryson हुन्छन् पदयात्राका लति । उनलाई ६० वर्षको उमेरमा २००० माइल लामो पदयात्रामा जाने झोंक चल्छ। श्रीमतीले एक्लै जान दिन्नँ भने पछि खोजेको साथी झन् बुढो फेला पर्छ। अनि ती नै दुई बुढा पदयात्रामा निस्कन्छन्। Ken Kwapis निर्देशित सत्य कथा हो- A walk in the woods ।
४. Tracks: तीनवटा ऊँट‌+ एउटा ऊँटको बच्चो लिएर अष्ट्रेलियाको मरूभूमि पार गर्न हिडेकी अष्ट्रेलियाली युवती Robin Davidson को यात्रामाथि बनेको फिल्म हो। John Curranले यसलाई निर्देशन गरेका छन् ।
५. पदयात्रामा गएको छोरोको मृत्युको खबर सुनेपछि बाबु क्यालिफोर्नियाबाट पेरिस पुग्छ। अनि छोराको यात्रा पुरा गर्न ऊ आफैं छोराको झोला बोकेर Camino de Santiago यात्रामा हिड्छ।Emilio Estevez निर्देशित ‘The Way’ले तपाईंलाई चार रोचक पात्रहरुसँगै युरोपको पुरानो तिर्थयात्राको बाटो हिडाउँछ।
६. The way Back: स्टालिनकालमा साइबेरियाको शिविरबाट भागेका यात्रीहरुले बैकाल ताल, चीनियाँ मरुभूमि, तिब्बत हुँदै हिमालय पार गरेर भारत आइपुगेको यात्रा वृत्तान्त हो। यो फिल्मको अन्तिम दृश्यचाहिँ पुरै नेपालीभाषामा रैछ। यसलाई peter weirले निर्देशन गरेका हुन्।
७. बाबुको मृत्यु र आमा अस्पताल भर्ना भएपछि १४ वर्षकी किशोरी काकासँग बस्न अलास्का पुग्छिन तर काकाबाटै भाग्न बाध्य हुन्छिन्। काकाबाट भागेकी उनी एकजना पदयात्रीलाई पछ्याउँदै अलास्काको पदयात्रामा जान्छिन्।
Frank Hall Green निर्देशित ‘Wildlike’ सुन्दर दृश्यले भरिएको मार्मिक फिल्म हो।
८. जीवनमा दु:ख, हण्डर, ठक्कर खाएर पुगेपछि नयाँ जीनवको खोजि गर्न Pacific Crest Trail मा १८००KMको  पदयात्रामा निस्किएकी Cheryl Strayed को कथा हो । Jean-Marc Vallée निर्देशित यो biographic फिल्ममा Cheryl हिडेको PCTको खण्ड हिड्नुस्।
९. Seven Years in Tibet:- हिटलर कालमा जर्मनीको गौरव बढाउन अष्ट्रियाबाट Nanga Parbat आरोहण गर्न आएको एक व्यक्तिलाई बेलायतीहरुले जेलमा थुन्छन्, ऊ त्यहाँबाट भागेर तिब्बत जान्छ र दलाई लामाको साथी बन्छ। फिल्मको आधा भागमा उत्तरी भारतबाट ल्हासासम्मको यात्राको कथा छ।
१०. यो चाहिँ पदयात्रासँग सम्बन्धित फिल्म होइन, तर पनि मलाई यही सूचीमा राख्न मन लाग्यो। अस्वस्थ र पर्यावरणका लागि हानिकारक पुँजीवादी जीवनशैलीको विकल्पमा प्रकृतिसँग नजिक वैकल्पिक जीवनशैली प्रस्तुत गर्ने सिनेमा हो Captain Fantastic । यो फिल्ममा एउटा दृश्य छ, उनीहरु क्रिसमसको दिन यत्तिकै ‘Noam Chomsky Day’ मनाइदिन्छन्।



प्रतिक्रिया दिनुहोस्