Logo

आर्थिक चलखेलका लागि ‘कतार भिसा सेन्टर’ खडा गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी



काठमाडौं, २२ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सिमित व्यक्तिहरुको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न वाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणवद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार जाने युवा र व्यवसायीलाई लिएर आन्दोलनमा गर्नेछौ ।’ उनले कतार भिजा सेन्टर (क्युभिसी)को यथाशिघ्र छानबिन गर्न सरकारसँग माग गरे । कतार भिजा सेन्टर (क्युभिसी)को आवश्यकता र क्रियाकलापको बारेमा पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङकोे भनाई थियो । उनले जुनसुकै अवस्थामा पनि क्वियुभिसी स्थापना हुनुपर्ने तर कामदारलाई अलपत्र पार्न नहुने उनको तर्क थियो ।

तामाङले क्वियुभिसी ले ५० हजार युवाको कतार जाने सपना चकनाचुर बनाएको समेत आरोप लगाए । उनले भने, ‘क्युभिसी हाल राज्य भन्दा पनि माथि छ ।’ ८० हजार मानिसहरु क्वियुभिसीकै कारण कतार जानबाट बन्चित भएको समेत जिकिर गरे । उनले दुरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरु २० दिनसम्म क्वियुभिसीको लागि डेट कुरेर बस्दा उल्टै ऋणमा डुबेको बताए । उनले भने, ‘२० दिन कुर्दा पनि युवा कामदारको क्युभिसीको आफ्नो समस्याले फेरी मेडिकल रिर्पोट फेल गराउँछ ।’

पत्रकार सम्मेलनमा नेपाल वैदेशिक रोजगार संघका द्वितिय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । क्युभिसीले नेपाली कामदारमाथी ज्यादती गरेको भन्दै उनले एकपक्षीय रुपमा व्यवसाय, व्यवसायी र कामदारको हित विपरित आर्थिक भार थप्ने र अघोषित सिन्डिकेट कायम गर्ने नियत प्रष्ट देखिएको बताए । उनले क्युभिसीले अत्याधिक मागलाई थेग्न नसकेको समेत उल्लेख गरे । क्युभिसीले पैसाको आधारमा, सेलेक्टेड संस्थाको मात्र काम गरेको आरोप लगाउदै मल्लले क्युभिसी खारेज गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्युभिसीको कारणले व्यवसाय अस्तव्यस्त भएको बताए । क्युभिसीको कारण बेरोजगार र गरिब नेपाली युवा ठगिएको आरोप लगाए । नेपाली युवाले क्युभिसीको अप्वाईमेन्ट लिनलाई महिनौं कुर्नुपर्दा आर्थिक भार थपिएको बताए । उनले क्युभिसीलाई तत्काल बन्द गरी अनियमितालाई छानबिन गर्न समेत माग गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष बिमल ढकालले आम नागरिकलाई क्युभिसीले अत्यन्त मर्का पारेको बताए । क्युभिसी स्थापना भएदेखिनै विवादमा भएको उनको भनाई छ । संघको मागलाई सहयोग गर्न सरकार, युवा तथा सम्बन्धित निकाय सबैलाई आग्रह गरे । क्युभिसी स्थापनाको सुरुवातमै सिन्डीकेट लागु हुने सम्भावना धेरै भएकोले तत्कालिन वैदेशिक रोजगार मन्त्री गोकर्ण विष्टले गर्न नचाहे पछि परराष्ट्र मन्त्रालयबाट स्विकृति लिएकोे समेत जिकीर गरे ।

कतार व्यवसायीको तर्फबाट लोकतान्त्रिक एसोशियसनका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले मन्त्रालयलाई समेत बाइपास गरेर आएको क्वियुभिसीले दर्ता र अनुमति लिदाँ प्रबन्धपत्रमा भएको नियम पालनासमेत नगरेको आरोप लगाए । क्युभिसीद्वारा लगाइएको सिन्डीकेट मान्न आफुहरु तयार नभएको बताए । कामदारको क्वियुभिसीको रिपोर्ट कुर्न रातभर व्यवसायीले कर्नुपर्ने यो कस्तो नियम हो भन्दै आक्रोस पोखे । ‘क्युभिसीले दादागिरी देखाएको छ, दादागिरी मान्न तयार छैनौ ।’ उनले भने, ‘क्युभिसीले काम नगर्दा व्यवसायीले कामदार समयमै पठाउन नसक्दा कतारका कम्पनीले घाना र युगाण्डाबाट कामदार ल्याउदा नेपाली युवाहरुको रोजगार खोसिएको छ । नेपाली युवाको माग पुरा गर्न नसक्ने क्युभिसी हामीलाई किन चाहियो ?’ मागपत्र अनुसार भएका ८ सय ८४ व्यवसायीलाई क्युभिसी स्वीकार्य नभएको अर्यालले बताए । उनले क्युभिसीले सम्पुर्ण कामदारको मेडिकल रिपोर्ट सात दिनमै तयार हुन्छ भने मात्रै स्विकार्ने नत्र नसक्ने अस्विकार गर्ने स्पष्ट पारे ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले कार्यक्रम संचालन गर्दै संघको विज्ञप्ती पढेर सुनाएका थिए । वैदेशिक रोजगारीको लागी कतार जाने कामदार र पठाउने व्यवसायीको लागि कतार भिषा सेन्टर बाधक बनेको, काममा ढिलासुस्तीहुदाँ व्यवसायी र कामदारहरु व्यापक मर्कामा परेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाए ।



प्रतिक्रिया दिनुहोस्