Logo

प्रदेश १ को अवरुद्ध सदन सुचारु



काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए ।

ओखलढुंगाबाट विजयी सांसद मोहनकुमार खड्काले विकासमा भेदभाव गरिएको र नामै किटेर व्यक्तिगत रूपमा मानहानि हुने काम गरेको आरोप मन्त्री गुरुङमाथि लगाएका थिए । मन्त्री गुरुङले भौतिक पूर्वाधार विकासका बारेमा सदनमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा लिखित भाषण पढिसकेपछि सांसद खड्काका विरुद्ध अभिव्यक्ति दिएका थिए ।

माओवादी केन्द्रले राख्दै आएको माग सम्बोधन गरेपछि संसद् सुचारु भएको हो । मंगलवार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक शुरू भएलगत्तै मन्त्री गुरुङको भाषणको रेकर्ड हटाइने जानकारी सदनलाई गराएका थिए । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुवै पक्षबीच सहमति भएपछि बैठक सुचारु भएको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्