Logo

असारमा चालु बजेट खर्च दोब्बर



काठमाडौं, असार २३ । विगत वर्षहरूमा जस्तै चालु आर्थिक वर्षको पछिल्लो महिना असारमा चालु खर्च अस्वाभाविक रुपमा बढेको छ। यो वर्ष असार १ मा चालु खर्च ७ खर्ब १ अर्ब रुपैयाँ पुगेकामा त्यसपछिका १९ दिनमै थप ७८ अर्ब रुपैयाँ खर्च भएको हो।

असार १ सम्म औसत दैनिक चालु खर्च २ अर्ब १२ अर्ब रुपैयाँ भएको थियो। असार लागेपछिका १९ दिनमा भने औसत दैनिक खर्च ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो झण्डै दोब्बर बढी हो।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष जेठका १९ दिनमा ३३ अर्ब रुपैयाँ मात्र चालु खर्च भएको थियो । यस्तै, वैशाखका १९ दिनमा ५६ अर्ब खर्च भएको थियो भने चैत र फागुनमा क्रमशः ३३ र ३१ अर्ब मात्र चालु खर्च भएको थियो। माघमा चालु खर्च ४० अर्ब रुपैयाँ थियो। गत आर्थिक वर्षको असारमा मात्र चालु बजेट एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको थियो । असारको पछिल्लो खर्चलाई हेर्दा चालु वर्ष पनि एकै महिना एक खर्बभन्दा बढी हुने देखिन्छ।

चालु आवका अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी भएको छ। महालेखाका अनुसार असारको १९ दिनमा खर्च भएको कुल ७८ अर्ब रुपैयाँमध्ये पछिल्ला ५ दिनमा औसत ८ अर्ब रुपैयाँका दरले भइरहेको छ।

कोभिड–१९ का कारण वैशाख १६ देखि मुलुक निषेधाज्ञामा छ। सरकारी कार्यालयमा अति आवश्यकबाहेक अन्य कर्मचारी गएका छैनन्। सबै कार्यालयहरू प्रायः बन्द जस्तै भएका बेला धेरै खर्च हुनु नपर्ने हो। तर बन्दकै महिनामा चालु खर्च घटनुपर्नेमा उल्लेखनीय रुपले बढेको छ।महालेखाका एक अधिकारीका अनुसार चालु खर्च अन्तिम महिनामा मात्र बढी हुनु भनेको मनपरी खर्च हो। केही कार्यालयले बिजुली, पानी, टेलिफोनलगायत शीर्षकमा खर्चको बक्यौता अन्तिममा आएर तिर्ने प्रचलन छ। तर त्यसले मात्र एकै महिनामा खर्च दोब्बर हुँदैन।

वर्षको ११ महिनासम्म औसतमा ६३ अर्ब रुपैयाँ खर्च हुँदै आएकामा अन्तिम महिनामा त्यसको झण्डै दोब्बर हुने देखिएकोहो । यो वर्ष असारको १९ दिनमा नै ७८ अर्ब रुपैयाँ खर्च भइसकेको छ। सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, दसैं खर्च र लुगा भत्ता वितरण गर्ने महिनामा चालु खर्च केही बढ्छ । तर अरु महिनाको खर्चमा फराकिलो तथ्यांक आउनुको औचित्य देखिँदैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्