Logo

रहेनन् दिलिप कुमार



एजेन्सी, २३ असार । भेट्रान कलाकार दिलिप कुमारको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार विहान निधन भएको हो ।

स्वास प्रस्वासको समस्या भएपछि दिलिप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्स शरीरका अन्य अङ्गमा फैलिएको थियो । मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको उल्लेख छ ।

दिलिप कुमारको निधनप्रति भारतभित्र र बाहिरबाट शोक व्यक्त भइरहेका छन् । उनले फिल्मी दुनियाँमा विशिष्ट र पृथक पहिचान बनाएका थिए ।

सन् १९२२ को डिसेम्बर ११ मा हालको पाकिस्तानको पेसावरमा दिलिप कुमारको जन्म भएको थियो । उनको खास नाम मोहम्मद युसुफ खान हो ।

सन् १९४४ मा ज्वारभाटाबाट बलिउडमा छाएका उनले पाँच दशको फिल्मी करिअरमा धेरै सुपरहिट फिल्म दिएका थिए । उनको अन्दाज, आन, दाग, देवदास, आजाद, मुगले आजम, सौदागर, कर्म, शक्ति, क्रान्ति जस्ता फिल्म लोकप्रीय छन् ।

दिलिप कुमार बाबुआमाका १२ सन्तानमध्येका हुन् । उनका बाबु जमिन्दार र फलफूल व्यापारी थिए । ब्रिटिश इन्डियाको पालामा पेशावरमा दिलिप कुमार मुसलमान परिवारमा जन्मिएपनि हिन्दु परिवारका साथीहरुसँग उनको निकटता थियो । राज कपूर दिलिप कुमारका बाल्यकालका मित्र थिए । कपूर जस्तै कुमार पनि हिन्दु र मुस्लिम संयुक्त संस्कारमा हुर्किएका थिए ।

बलिउडमा आकर्षक व्यक्तित्वका दिलिप कुमारको धेरै नायिकाहरुसँग नाम जोडियो । उनको मधुवालासँग पनि प्रेम सम्बन्ध रह्यो । तर, सात वर्ष चलेको सम्बन्ध टुट्यो । कामिनी कौशल र बैजन्तीमालासँग पनि उनको प्रेम सम्बन्ध रहेको थियो ।

दिलिप कुमारले सन् १९६६ मा सैरा बानुसँग विवाह गरेका थिए । दिलिप कुमार ४४ वर्षका थिए भने बानु २२ वर्षकी थिइन् । सन् १९८१ मा आसमा साहिबासँग विवाह गरे । तर, २ वर्षमात्र टिक्यो ।

दिलिप कुमारका सन्तान छैनन् । सन् १९७२ मा सैरा बानु गर्भवती थिइन् । आठ महिना हुँदा ब्लड प्रेस बढ्यो । चिकित्सकले ८ महिनाको बच्चा बचाउन सकेनन् । त्यसपछि दिलिप कुमार र सैरा बानुले फेरि बच्चा नपाउने निर्णय गरे ।

दिलिप कुमार प्रतिभाशाली थिए । उनी उर्दु, हिन्दी, हिन्ड्को, पञ्जाबी, मराठी, अंग्रेजी, बंगाली, गुजराती, पास्तो, पर्सियन, अवदी र भोजपुरी भाषा बोल्न सक्थे । उनी क्रिकेट पनि राम्रो खेल्थे ।

दिलिप कुमार भारतको माथिल्लो सभाका सांसद पनि भए ।



प्रतिक्रिया दिनुहोस्