Logo

शेखर कोइरालाको दाबी : संसद् पूनःस्थापना हुन्छ, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका तल्लो तहका कार्यकर्ताहरुले प्रतिष्पर्धाबाट नेतृत्वमा आउनुपर्ने भनेकोले आफूले सोहीअनुसार तयारी थालेको स्पष्ट पारे ।

नेतृत्वको बीचमा प्रतिष्पर्धा भएमात्रै पार्टीलाई अघि लैजान सक्ने उनको भनाई छ । उनले अहिले नेविसंघ र तरुण दल कहाँ छ ? भनेर खोज्नुपर्ने अवस्था रहेको पनि टिप्पणी गरे । नेतृत्वमा स्थापित हुनको लागि नेताहरुबीच स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने उनको भनाई छ । नेता कोइरालाले संविधान बचाउनको लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले त संविधान र लोकतन्त्र संकटमा छ, यसलाई बचाउनुपर्छ । देशमा के को विधिको शासन छ ?’ उनले वर्तमान सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको गम्भीर आरोप लगाए ।

नेता कोइरालाले प्रतिनिधिसभा पूनःस्थापना हुने र कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे । उनले भने,‘अब के हुन्छ ? हेर्दै जाउँ न, किन चिन्ता गर्नु ?’ उनले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश नदिने टिप्पणी गरे । तर, संसद् पूनःस्थापना भएपछि देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्