Logo

बाबु र दाजुभन्दा पहिले यसरी ‘बेबी किङ’ भएका थिए ज्ञानेन्द्र



२००७ कात्तिक २१ गते बिहान ९.४५ बजे राजा त्रिभुवन, दुई बडामहारानी कान्ति र ईश्वरी, युवराज महेन्द्र, अधिराजकुमार हिमालय र बसुन्धरा, दुई छोरी, दुई बुहारी, ठूला शाहजादा वीरेन्द्रसहित ११ जना चार वटा कारमा नारायणहिटी राजदरबारबाट निस्के । साथमा हजुरिया कर्नेल नारायणनरसिंह राणा पनि थिए ।

सबैभन्दा पहिलो कारमा राजा त्रिभुवन र उनका दुई पत्नी तथा अंगरक्षक हजुरिया जर्नेल थिए भने कार त्रिभुवन आफैंले हाँकेका थिए । अन्य तीनवटा कार छोरा महेन्द्र, हिमालय र बसुन्धराले हाँकेका थिए ।

मोटर लैनचौरको दोबाटोमा पुगेपछि नागार्जुन या रानीवन नलागी सीधै महाराजगन्जतिर लागेको देखेर हजुरिया राणाले बाटोको स्मरण गराए । राजा त्रिभुवनले रिभोल्बर निकालेर उनलाई चुप् गराए । बिहान १० बजेतिर चारवटै मोटरकार भारतीय राजदूतावास, शीतल निवासको प्रवेशद्वारमा पुगे ।

त्यसबेला शीतल निवासको सानो पोखरीमा भारतीय राजदूतका निजी सचिव एसके सिन्हा बल्छी खेल्दै थिए । मोटरद्वार खुल्यो र चारवटै कार दूतावासमा पसे । प्रवेशद्वारको ढोका ढ्याम्म बन्द भयो । भित्र सैनिक सहचारी कर्नेल आईसी काट्रच र भारतीय राजदूत चन्द्रेश्वर प्रसादले राजपरिवारलाई स्वागत गरे । त्यसपछि दूतावासाको आँगन, चौर, बरन्डा आदिमा बन्दुकधारीको पहरेदारको संख्या असाधारण तरिकाले बढ्यो ।

यी इतिहासका पृष्ठ ज्ञानेन्द्र शाह पहिलो पटक राजा हुँदाका हुन् । असार २३ (आज) नेपालको इतिहासमा दुई पटक राजा हुने ज्ञानेन्द्र शाहको ७५ औं जन्मदिन हो । भलै उनले कोरोना महामारीका कारण हीरक जन्मदिन नमनाउने निधो गरिसकेका छन् ।

राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राजपरम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन् । तर उनी पिता र दाजुभन्दा पहिले नै राजा हुन पाए ।

नेपालका अन्तिम शाहवंशीय राजा समेत रहेका ज्ञानेन्द्र पहिलो पटक २००७ कात्तिक २२ देखि २००७ फागुन ७ सम्म हजुरबुबा त्रिभुवनसँगै राजा भए । त्यो बेला उनी जम्मा साढे तीन वर्षका थिए । दमनराज तुलाधरका अनुसार सपरिवार राजदरबार त्याग्ने बेला केही गरी राणा शासनविरुद्धका आन्दोलन सफल भएन भने शाहवंश नेपालको राजसंस्थाबाट विमुख हुनु नपरोस् भनेर उनलाई छाडिएको थियो ।

इतिहासमा कतै कतै ज्ञानेन्द्रलाई मात्र मावलीमा छाडेको भनिए पनि त्रिभुवनले कान्छा नाति धीरेन्द्र र तीन जना छोरीलाई पनि दूतावास लगेका थिएनन् । कतिपय इतिहासकारले भने सेना र जनतालाई विद्रोहका लागि उत्प्रेरित गर्न उनीहरुलाई छाडेको दाबी गरेका छन् । तर उनीहरु सबै नारायणहिटीमै थिए ।

ज्ञानेन्द्रको भाग्य नै मान्नुपर्छ, २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राजपरिवारका अधिकांश सदस्यको इहलीला सकिएपछि जेठ २२ मा उनलाई दोस्रो पटक राजा घोषणा गरियो । उनी २०५८ जेठ २२ गतेदेखि २०६५ जेठ १५ सम्म अर्थात् ६ वर्ष ३ सय ५९ दिन राजा भए ।

इतिहासकार गेहेन्द्रभूषण उदास ‘पोखरेली’का अनुसार राजा सपरिवार दूतावास पसेको खबर प्रधानमन्त्री मोहनशमशेरलाई कात्तिक २१ अपराह्नसम्म गोप्य नै राखिएको थियो । भारतीय डेपुटी इन्स्पेक्टर जनरल बारयाम सिंहले समेत बेलायती राजदूत जर्ज फाल्कोनरसँगको लन्चमा पनि यसको सुइँको दिएनन् ।

एक नातेदारले दिल्लीबाट वायरलेसमा खबर दिएकाले दिउँसो १ बजे बबरशमशेरले सबैभन्दा पहिले थाहा पाए । आफूसँग सल्लाह नगरिएकामा रुष्ट राजदूत फाल्कोनरले राजा त्रिभुवनलाई अपदस्थ गर्ने सल्लाह दिए । उनले आश्वस्त गराए – ‘राणा सरकारले जसलाई राजा बनाउँछ, बेलायतले उसैलाई मान्यता दिन्छ । जसले श्रीपेच लगाउँछ, उही राजा हुन्छ ।’

बेलायती राजदूतको सल्लाह अनुसार नै राणा र भाइभारदारले हरिशमशेरका सम्धि मुख्य साहेबज्यू रामविक्रम शाहलाई राजा बनाउन तयार पारे । उनलाई तुरुन्तै चारघोडे बग्गी पठाएर सिंहदरबार ल्याउन लगाए । उनलाई ल्याएर राती एक्लै कोठामा राखे । उनलाई पर्खाएर राणाहरु छलफलमा जुटे । पछि कसैले शाहजादा ज्ञानेन्द्र नारायणहिटीमा रहेको खबर दिएपछि राणाहरुले रामविक्रमलाई वास्तै गरेनन् । उनी पैदल नै घर फर्के ।

कात्तिक २२ गते बिहान ७ बजे भारदारी सभा (संसद्) बोलाइयो । मोहनशमशेरले ‘देशद्रोही र देशको बेइज्जती गर्नेलाई गद्दीबाट बहिष्कार गर्नुपर्छ’ भने पनि अन्त्यमा जेठा शाहजादा (वीरेन्द्र) लाई पनि नपठाए माइला शाहजादा ज्ञानेन्द्रलाई राजा मान्ने निर्णय अनुमोदन गरे ।

भारदारी सभाको निर्णय सुनाउन अर्जुनशमशेर र विजय शमशेर शीतल निवास गए । त्रिभुवनले विजयलाई भेटेर जेठा नातिलाई नपठाउने, गद्दी नछाड्ने र भारदारी सभाको निर्णय नमान्ने बताए ।

त्यसको बेवास्ता गर्दै कात्तिक २२ गते मंगलबार दिउँसो २.४५ बजे ज्ञानेन्द्रलाई हनुमानढोका नासलचोक लगियो । बडागुरुज्यू हेरम्बराज पाण्डे छँदाछँदै नायब गुरु हेमराज पाण्डेद्वारा ज्ञानेन्द्रलाई श्रीपेच लगाई परम्परा अनुसार राज्यारोहण गराए । तर हतार भएकाले श्री ५ को श्रीपेच फेला परेन र श्री ३ को श्रीपेच लगाएर काम चलाए । ब्रिटिस राजदूत फाल्कोनरले नयाँ राजाको दाम राखी दर्शन गरे । भारतीय राजदूत चन्द्रेश्वर प्रसाद गएनन् ।

नयाँ राजाको राज्यारोहणबारे २००७ साल कात्तिक २३ गते ‘गोर्खापत्र’ मा छापिएको हेडलाइन थियो — ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको राज्यारोहण, श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहको पदच्युत ।’

राज्यारोहणपछि दिउँसो तोप पड्कियो । दूतावासमा शरण लिइरहेका राजा त्रिभुवन के रहेछ भनेर बार्दलीतिर निस्किए । शीतलनिवासमै रहेका व्यवसायी बीएल शर्मासँग उनले भनेका थिए — ‘ए राजा त हाम्रा नातिलाई पो बनाएछन् ! हेर्दै जाऊँ ।’ (राष्ट्रपिता र म)

राज्यारोहणपछि नाबालक राजा ज्ञानेन्द्रलाई हात्ती चढाएर सहर घुमाइयो । उनको नाममा मुद्राहरु समेत निष्कासन गरिए । राणा प्रधानमन्त्रीले नयाँ राजाका लागि वार्षिक तीन लाख बजेट समेत छुट्याए ।

यसबीच राणाहरु राजा त्रिभुवनलाई दिल्ली जान नदिने रणनीतिमा लागे । केही उपाय नलागेपछि हवाई मैदानमा जताततै खाल्टो बनाइदिए । यतिले नपुगेर हवाई गौचरमा थोत्रा ट्रक तेर्स्र्याए । भारत सरकारको चर्को दबाबपछि गौचरमा राखिएका ट्रक हटाइए । जहाज उड्न मिल्ने गरी खाल्डो सम्याइयो ।

कात्तिक २६ मा त्रिभुवन सपरिवार दिल्ली उड्दा हजारौं जनताको भीड निस्कियो । त्यही भीडका कारण शीतल निवासबाट मोटरमा हवाई गौचर पुग्नलाई डेढ घन्टा लाग्यो । दिउँसोतिर भारतीय वायुसेनाको दुईवटा डेकोटा चढेर राजा सपरिवार भारत गए । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले ‘गार्ड अफ अनर’ दिएर स्वागत गरे ।

राजा त्रिभुवन भारत जाने घोषणा भारतीय आकाशवाणी रेडियोमा प्रसार भएको भोलिपल्टै कात्तिक २५ गते साँझ महावीरशमशेरको हिमालयन एयरवेजको जहाजबाट काठमाडौंमा घरका छानाछाना र गल्लीभरि राणाविरोधी रातो पर्चा छरियो । यस्तो पर्चा वीरगन्जदेखि काठमाडौंसम्म छरिएको थियो ।

ज्ञानेन्द्रको राज्यारोहणकै दिन ‘राणाशासन-मुर्दावाद !’ भन्दै भेडासिङबाट महाबौद्धसम्म जुलुस निस्कियो । प्रहरीले उनीहरुलाई कुटपिट गर्यो । मोहनशमशेरले राजदूत फाल्कोनरमार्फत त्रिभुवनलाई चुपचाप नेपाल छाडेर जहाँ गए पनि आजीवन खान-बस्न पुग्ने पेन्सन दिने खबर पठाए । त्रिभुवनले भारतीय प्रधानमन्त्रीलाई भेटेपछि मात्र केही भन्न सक्ने बताए ।

भारत सरकारले ‘बेबी किङ’लाई मान्यता दिएको थिएन । नेपाली कांग्रेसले पनि त्यस कदमको विरोध गर्यो । राणाले बनाएका नाबालक राजा ज्ञानेन्द्रलाई जनताले मानेनन् । भारतबाट शिष्टमण्डल आउँदा गौचरमै बिसौं हजारको तायदतामा जनसमूह एकत्र भई हवाई जहाज घरेको दमनराज तुलाधरले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । उनीहरुले नारा लगाएका थिए, ‘वीर त्रिभुवन जिन्दावाद !’

‘नेपाली कांग्रेस जिन्दावाद !’

‘अत्याचारीको नाश होस् ।’

‘हाम्रो राजा फर्काइदेऊ ।’

‘बच्चो राजा मान्दैनौं !’

अन्ततः विसं २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र पुनः राजगद्दी सम्हाले ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम