Logo

पिसाब प्रशोधन गर्दै पिउँदै चिनियाँ अन्तरीक्षयात्री



एजेन्सी, २३ असार । चिनियाँ अन्तरीक्षयात्रीहरु यतिबेला अन्तरीक्ष केन्द्रमा छन् । सेन्जाउ-१२ यानबाट गएका तीनजना यात्री तियान ही अन्तरीक्ष केन्द्रमा छन् । उनीहरुले कसरी पिउन र सफाईका लागि आवश्यक पानी प्राप्त गरिरहेका छन् ? यो चासोको विषय छ ।

अन्तरीक्षयात्रीले आफ्नै पिसाब पुनः प्रयोग गर्ने गरेका छन् । प्रशोधन गर्दै पिसाब पुनः प्रयोगमा ल्याउने गरेका छन् ।

ग्लोबल टाइम्सका अनुसार ३ हप्तामा अन्तरीक्ष यात्रीहरुले ६६ लिटर पिसाब प्रशोधन गरी डिस्टिल्ड वाटरमा परिणत गरेका छन् ।

अन्तरीक्षमा उनीहरुले पिसाब पुनः प्रयोगमा ल्याउने प्रणालीबाट जीवन धान्ने प्रणालीको अभ्यास गरिरहेका छन् । प्रशोधित पानी पुनः प्रयोगका लागि सबै मापदण्ड पूरा गरेको हुनुपर्छ जुन परीक्षणबाट अन्तरीक्षयात्रीले पत्ता लगाउन सक्छन् ।

प्रशोधन प्रणालीले ६ लिटर पिसाबबाट ५ लिटर डिस्टिल्ड वाटर निकाल्न सक्छ । यसको अर्थ ६ लिटरमा १ लिटर मात्र खेर जान्छ । प्रति घन्टा साँढे २ लिटर पानी प्रशोधन हुन्छ ।

पिसाबबाट प्रशोधन गरेर निकालिएको पानी पिउन, सफाई गर्न र अक्सिजन उत्पादन गर्न प्रयोग गरिने उल्लेख छ ।

पानी प्रशोधन प्रणालीले ६ महिनाबीच ३ अन्तरीक्षयात्रीमा खर्च हुने डेढ करोड डलर खर्च कम गरेको मिसन स्रोतलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

१७ जुनमा चीनले सेन्जाउ-१२ अन्तरीक्षयात्र प्रक्षेपण गरेको थियो । उक्त यानमा ३ जना चिनियाँ अन्तरीक्षयात्री छन् । उनीहरु ६ महिना अन्तरीक्ष केन्द्रमा रहन्छन् ।-Photo Credit: Xinhua



प्रतिक्रिया दिनुहोस्