Logo

माओवादी केन्द्र खारेज गर्न माग



काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर खारेजीको माग गर्दै निवेदन दर्ता गराएका हुन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमै महाधिवेशन नगरेकाले माओवादी केन्द्र अवैध भएको र सो पार्टी खारेज हुनुपर्ने माग राख्दै आयोगमा निवेदन परेको बताए। ‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार तोकिएको समयभित्र महाधिवेशन नगरेकाले माओवादी केन्द्र अवैध भएको दाबीसहित खारेज गरिपाउँ भन्ने बेहोराको निवेदन आएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अब सम्बन्धित महाशाखाले उक्त निवेदनको अध्ययन गरी आयोगको बैठकमा पेस गर्छ।’

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (१) मा संघीय कानुनबमोजिम आयोगलाई बुझाउनुपर्ने विवरण वा प्रतिवेदन नबुझाएमा, संविधान वा संघीय कानुनबमोजिम दल दर्ता हुन चाहिने सर्त पूरा नगरेमा त्यस्तो दल दर्ता कायम रहने छैन भन्ने लेखिएको छ,’ आयोगमा दर्ता गराइएको निवेदनमा लेखिएको छ, ‘हाल आयोगमा दर्ता भएका दलहरूमध्ये नेकपा माओवादी केन्द्रको दलीय हैसियत नेपालको संविधान तथा संघीय कानुनबमोजिम समाप्त भएकाले खारेज गरिदिन माग गर्दछौं।’ हाल प्रतिनिधिसभाको तेस्रो ठूलो दल रहेको माओवादी केन्द्र प्रथम पटक २०६४ सालमा नेकपा माओवादी नामबाट दर्ता भएको, २०६५ मा एकीकृत नेकपा माओवादी भनी नाम परिवर्तन गरेको २०६९ माघ २० देखि २६ गतेसम्म महाधिवेशन सम्पन्न गरी १ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको तर त्यसपछि महाधिवेशन नभएकाले उक्त पार्टीले वैधानिकता गुमाएको दाबी निवेदनमा गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्