Logo

ओलीविरोधी गठबन्धनमा कम्पन, माधव नेपाल अप्ठ्यारोमा



काठमाडौं, २४ असार । मेरियट होटलमा बुधबार प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दा वरिष्ठ नेता माधवकुमार नेपालको मुहार निन्याउरो थियो । उनी वाध्यात्मक परिस्थितिले मात्र ओलीलाई भेट्न पुगेका थिए ।

नेपालमाथि आफ्नै पक्षका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताले दबाब सृजना गरेपछि भेट्न पुगेका थिए । भेटमा कुनै सहमति भएन । तर, ओलीसँगको भेटले विपक्षी गठबन्धनमा कम्पन आएको छ ।

ओलीलाई सत्ताबाट हटाइछाड्न पाँचजना पूर्वप्रधानमन्त्री रहेको दल र समूहको गठबन्धन बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा.बाबुराम भट्टराई ओलीविरोधी गठबन्धनमा निकै सक्रिय छन् । तर, यो गठबन्धन टुटाउन ओलीले नयाँ राजनीतिक अस्त्र हानेका छन् ।

नेपाल पक्षलाई सहमतिमा ल्याएर विपक्षी गठबन्धन कमजोर बनाउने ओलीको रणनीति देखिएको छ । त्यसका लागि उनले नेपालनिकट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्टसँग छुट्टाछुट्टै भेटेर माहोल सृजना गर्न खोजेका छन् । फलस्वरुप नेपाल बुधबार ओलीलाई भेट्न जान वाध्य भए ।

कुनै हालतमा ओलीसँग यथास्थितिमा वार्ता गर्दिनँ भनेका नेपाल मेरियट होटलमा पुगेर कुराकानी गरे । तर, सहमतिको बिन्दु तयार भएन । नेपालनिकटस्थ केही नेताहरुले ओलीको पछिल्लो पहललाई जालझेलको संज्ञा दिएका छन् । नेपालनिकट नेता रामकुमारी झाँक्रीले जालझेलमा नपर्ने ट्वीट गरेकी हुन् । यसकारण पनि नेपाल अप्ठ्यारोमा परेको देखिदैछ ।

माधव नेपाल आफ्नै पक्षका नेताहरुबाट दबाबमा परेका छन् । तर, उनले विपक्षी गठबन्धन छाडिहाल्ने सम्भावना देखिएको छैन । उनी पक्षधर केही नेताहरुले पनि छाड्न दबाब सृजना गरिरहेका छन् । यसले ओलीविरोधी गठबन्धनमा कम्पन आएको छ । माधव नेपाल अप्ठ्यारोमा परेका छन् । नेपालले हत्तपत्त अडान नछाड्ने देखिएको छ । तर, उनकै समूहका केही हस्तीहरुका कारण विपक्षी गठबन्धनमा कम्पन भने आएको छ । यसकै कारण गठबन्धन टुटिहाल्ने सम्भावना भने देखिदैन ।



प्रतिक्रिया दिनुहोस्