Logo

एमालेमा सहमति कि विग्रह?



काठमाडौं, असार १५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।

नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो ।

सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र आज पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।

नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छौ कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पु¥याउनेछ, हामी शुक्रबार पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने ।

यसअघि बिहीबार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए । तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन । आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्