Logo

हैटीका राष्ट्रपतिको हत्यामा ‘अमेरिकी र कोलम्बियाली सुटर’ संलग्न 



एजेन्सी, २५ असार । हैटी सरकारले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ । बिहिबार साँझ हैटीको प्रहरीले हत्यामा अमेरिकाको हात रहेको भनाई सार्वजनिक गरेको हो ।

हैटी प्रहरीले २८ जना अमेरिकी र कोलम्बियालीको जत्थाले मोइसको हत्या गरेको जनाएको छ । प्रहरीले कोलम्बियाली पासपोर्ट र हतियार समेत बरामद गरेको खुलाएको छ ।

२८ जनाको जत्थामध्ये १७ जना पक्राउ गरिएको र ३ जना मारिएको हैटी प्रहरीले जनाएको छ । ती मध्ये १५ जना कोलम्बियाली र २ जना अमेरिकी नागरिक छन् । ८ जना को खोजी भइरहेको उल्लेख छ ।

कोलम्बियाका रक्षामन्त्री डियगो मोलानोले सुटरहरुको जत्थामध्ये ६ जना कोलम्बियाली रहेको खुलाएका छन् । उनले सुटरहरु कोलम्बियाका पूर्वसैनिक रहेको जानकारी दिएको अलजजिराले जनाएको छ ।

हैटीका प्रहरी प्रमुख चाल्र्सले सुटरहरुलाई भाडाका टट्टुको संज्ञा दिएका छन् । अमेरिकाले भने आफ्ना नागरिक हत्या अभियोगमा पक्राउ परेकोबारे स्पष्ट पारेको छैन ।
अमेरिकी लागूऔषध नियन्त्रणसम्बन्धी फौजको छद्मभेषमा राष्ट्रपति मोइसको निजी निवासमा प्रवेश गरेको दस्ताले हत्या गरेको थियो ।

५३ वर्षीय राष्ट्रपति मोइस र उनकी पत्नी मार्टिन मोइसमाथि निजी निवासमै आक्रमण भएको थियो । हतियारधारी समूहले बुधबार मोइसको हत्या गरेको थियो । उनकी पत्नी भने घाइते अवस्थामा अस्पतालमा छिन् ।



प्रतिक्रिया दिनुहोस्