Logo

२० डलरमा झरिसकेको तेल ७३ पुग्यो, अर्थतन्त्रमा ठूलो असर



काठमाडौं, २५ असार । कोरोना भाइरसको पहिलो लहर आउँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै घटेको थियो । विश्वका आर्थिक शक्तिराष्ट्रमध्ये अधिकांशमा लकडाउन हुँदा तेलको खपत कम हुन जाँदा मूल्य घटेको थियो ।

तेलको मूल्य घट्दै जाँदा उत्पादक देशहरुले उत्पादन समेत घटाएका थिए । तेल उत्पादक राष्ट्रहरुको समूह ओपेक र रुसले समेत सहमति गरी उत्पादन घटाए । यसले मूल्य स्थिर बन्यो ।

कोरोना भाइरसको पहिलो लहर कम हुँदै गएपछि लकडाउन पनि खुल्दै गयो । तेलको मूल्य निरन्तर आकाशियो । आजको मूल्य प्रति ब्यारल अन्तर्राष्ट्रिय बजारमा ७० भन्दा माथि रहेको छ । डब्लुटिआइ क्रुडको मूल्य ७३ डलर रहेको छ । ब्रेन्ट क्रुडको ७४, ओपेक बास्केटको साँढे ७३, मेक्सिकन बास्केटको ६८, इन्डियन बास्केटको साँढे ७३ रहेको छ । यो मूल्य गत वर्ष कोरोना भाइरसको महामारीको उच्च बिन्दु रहँदाको भन्दा झण्डै ४ गुणाले बढी हो ।

तेलको मूल्य निरन्तर उकालो लाग्ने प्रक्षेपण गरिएको छ । मूल्य बढ्दो छ । यसले नेपाल जस्तो तेलको आयात गर्ने मुलुकलाई निकै ठूलो आर्थिक चुनौती पर्न सक्छ । भारत पनि तेलमा परनिर्भर रहेको छ । चीनको अवस्था पनि त्यस्तै छ । यसले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारलाई दृष्टिगत गरी पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि गरिरहेको छ । पेट्रोलको मूल्य प्रतिलिट १२९ रुपैयाँ पुगेको छ । अझै पनि निगम घाटामा रहेको बताउँदै आएको छ ।

पेट्रोल र डिजेलेको मूल्य वृद्धि हुँदा बजार भाउ पनि आकाशिने देखिएको छ । एकातर्फ नेपाल आयल निगम घाटामा छ । अर्कोतर्फ, मूल्यवृद्धिले बजारमा सबै सामानको मूल्यमा असर पर्न सक्छ । भारत र चीनबाट आयात हुने सामानमा पनि त्यसको असर पर्छ । ढुवानीमा मूल्यवृद्धिको असर अर्थतन्त्रमा पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्