Logo

माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ, तुरुन्त खारेज होस : रायमाझी



काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलेको टिप्पणी गरेका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गरिदिनुपर्यो भनेर जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी ऐनअनुसार यो पार्टी चलेको छैन् । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब करिब २८÷३० वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो । तर, त्यो पनि नाम मात्रैको थियो । २०६९ सालमा । त्यसलाई वैधानिक मानिएपनि । तर, त्यस्तो प्रकारको प्रतिष्पर्धा भएन । ताली पिट्ने काम मात्रै भयो । अहिले २०७८ साल भयो । ९ वर्षसम्म अर्को महाधिवेशन भएको छैन् । २०७५ मा एमालेसँग एकता भयो । २ वर्ष त नेकपाको रुपमा रहया, त्यसलाई मान्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको ७ वर्ष भयो । दलसम्बन्धी ऐनमा के भनिएको छ भने प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी कहाँ पुगिसक्यो । आकाश पाताल कहाँ पुगिसक्यो । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न मिल्छ ? यो असंवैधानिक कदम भयो नि ।’

उनले अहिले मुलुक राजनीतिक एजेण्डाभन्दा पनि अब समृद्धिको एजेण्डामा अघि बढ्नुपर्ने बताए । त्यस्तै, पार्टी कानून र संविधानसम्मत् हुनुपर्छ भनेर आफूहरुले अभियान चलाएको पनि उनले स्मरण गराए । उनले भने,‘हामी माओवादी केन्द्रलाई पनि सिस्टममा ल्याउनको लागि यो निवेदन लिएर यहाँ आएका हौं, अब व्यक्तिवादी र अनुशासनहीन तरिकाले पार्टी चलाउने काम नहोस । हाम्रो आयोगमा प्रस्ताव परेको छ । छिटो भन्दा छिटो निर्णय गरिदिनुपर्यो । तर, निर्णय गर्दा विधि, विधान र संविधानलाई आत्मसात् गरियोस् ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्