Logo

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि सहमतिको पहल गर्ने देउवाइतर समूहको निर्णय



काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनका लागि विभिन्न विकल्प तयार गरेर अगाडि बढ्ने सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले निर्णय गरेको छ । आज वत्तीसपुतलीमा बसेका सभापतिका आकांक्षी देउवाइतर समूहका नेताहरुले त्यस्तो सहमति गरेका हुन् ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्वका लागि सहमतिको प्रयास हुने बताए । उनले आफूहरुबाट पनि सहमतिमा साझा उम्मेदवार खडा गरिने स्पष्ट पारे ।
महामन्त्री डा. सशांक कोइरालाले पनि आफूहरुबीच सहमति बन्ने बताए । सहमतिबाट साझा उम्मेदवार तयार गरिने बताए । डा. शेखर कोइरालाले पनि सहमति बन्ने विश्वास दिलाए । उनले सकेसम्म सहमतिमा सभापति चयन गरिने प्रयास हुने समेत बताए ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले देश र परिस्थितिलाई ध्यानमा राखी काँग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको बताइन् । ‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र क्षमताको आधारमा तय गरिने समेत बताइन् । अहिले को उम्मेदवार बन्ने तय नभएको र उचित समयमा छलफल गरी निर्णय लिइने उनको भनाई थियो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि सहमति बन्ने बताए । सहमतिकै लागि प्रयास भइरहेको उनको भनाई थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा नरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुगेका थिए । सिटौलाको पछिल्लो समय पौडेलसँग निकटता बढेको छ । उनले पनि सहमतिमा उम्मेदवार बढाउन आफू तयार रहेको बताएको बुझिएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी सहभागी थिए । उनीहरु सबैजना सभापतिका आकांक्षी हुन् ।



प्रतिक्रिया दिनुहोस्