Logo

विदेशमा भन्दा स्वदेशमा धेरै कमाउँदै ज्ञानेन्द्र



चितवन, २६ असार: पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाएका छन् । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गरेका उनी विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट छन् ।

भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उनको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उनी काममा व्यस्त छन् । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्ययनका क्रममा विदेशिनु भयो । विसं २०५७ मा मकाउ जानु भएका उहाँले चार वर्ष त्यहाँ बिताए । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उनी कोरिया पुगे । सात वर्षको कोरिया बसाइमा मासिक रु.१ लाख ३० हजार हाराहारी कमाइ थियो । त्यसबाट उनी सन्तुष्ट हुन सकेनन् । त्यसपछि युएई पुगे । त्यहाँ चार वर्ष ६ महिना बसाइ अन्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किए ।

लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गर्नुभयो । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उनले फराकिलो ठाउँ खोजे । यही क्रममा तीन वर्षपछि उनी रिजाल चोक आइपुगे । दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाइ, पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गरेका छन् ।

यो व्यवसायमा उनको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गरेकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिँदै आएका छन् । दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्नुहुन्छ भने उनी बजार प्रवद्र्धनमा जुटे। नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहेका उनले भने “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।”

दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उनी शनिबारको दिन परिवारसँगै रमाउने गर्नुहुन्छ । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उनको प्रचलन रहेको छ । आम्दानी कस्तो छ ? भन्ने जिज्ञासामा उनले भने, “विदेशको भन्दा झण्डै दोब्बर त्यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।” अब विदेश गए भन्ने प्रश्नमा उनले भने “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।”

ज्ञानुका नामले परिचित उहाँका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न रकेनन उनको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न उनले सुझाव दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्