Logo

तेजाली-पच्नाली योजनामा ठेकदारमार्फत कमिसनको खेल



डोटी, २६ असार । जिल्लाको शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको स्थानीयहरुले आरोप लगाएका छन ।

ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले योजनाको काम पेटी ठेक्कामार्फत गराउँदा कम गुणस्तरको काम भएको पाइएको हो । कमसल खालका निर्माण सामग्री प्रयोग गरी काम गराउँदा गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । ठेक्का पाएको निर्माण कम्पनीले रु. दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार काम नगर्दा र पेटी ठेकदारमार्फत कमिसनमा काम गराउँदा कम गुणस्तरको काम भएको बताइन्छ ।

स्थानीयका अनुसार निर्माण कम्पनी र ठेक्का सम्झौता गर्ने कार्यालय संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका कर्मचारीहरुको मिलेमतोमा योजनाको काम पेटी ठेक्कामार्फत गराइएको हो । पेटी ठेक्कामार्फत काम गराउँदा मोटो रकम हात पार्न सकिने भएकाले ठेकदार र कर्मचारीको योजनावद्ध मिलेमतोमा योजनाको काम पेटी ठेक्का मार्फत गराइएको बताइन्छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी वि.सं. २०७७ असोज ९ गते सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता अवधि सकिदा पनि काम पूर्णरुपले सम्पन्न भएको छैन ।
तर यता काम सम्पन्न नहुँदै संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग धनगढी बिल भुक्तानी गर्ने तयारीमा छ । निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि संघीय कार्यालयले बिल भुक्तानी गर्ने तयारी गरेको एक कर्मचारीले बताएका छन् । उक्त योजनाको काम २०७७ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भएपनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको र थप सम्झौता अवधिमा पनि काम सम्पन्न नभएरै बिल भुक्तानी गर्न लागिएको बताइन्छ ।

स्थानीयवासीका अनुसार ठेक्का सम्झौताअनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न नभएको र काम पनि गुणस्तरहीन भएको छ । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि घनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई ६०/४० प्रतिशतको कमिसनमा बिक्री गरे । खेमबहादुरले पनि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिशनका आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा काम नसकिने र काम पनि गुणस्तरहीन भएको स्थानीय रामबहादुर खत्रीले बताए ।

खेमबहादुरले पनि सोहि योजना ६०/४० प्रतिशतको कमिसनमा फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर बिक्री गरेको पाइएको हो । यसरी निर्माण कम्पनीले पेटी ठेक्का मार्फत काम गराउँदा र पेटी ठेकदारले पनि कमिसनमा योजना विक्रि गर्दा कुल विनियोजित बजेटको ४० प्रतिशतको मात्र काम हुने र ६० प्रतिशत रकम हिनामिना भएको पाइन्छ ।

यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर ठेक्का बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने स्थानीयहरु बताउँछन । यता संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका इन्जिनियर सन्देश शर्माले सम्झौता अनुसारको काम भएको बताए । उनले भने, सम्झौता अनुसारको काम भएकाले बिल भुक्तानी हुँदै छ ।

उहाँले निर्माण कम्पनीले ६०/४० को कमिसनमा आयोजना बेचेको कुरा सत्य भएको तर काम चाहीँ सम्झौता अनुसारको भएको बताए । उनले सम्झौता अनुसारको काम भएको देखिएकाले बिल भुक्तानीको अन्तिम तयारी भइरहेको बताए । शिखर नगरपालिकाअन्तर्गत पर्ने तिजाली– पच्नाली–मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । तर योजनामा ६०/४० को कमिसनले गर्दा सम्झौता अनुसारको काम भएको पाइदैन ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्