Logo

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपहार स्वरूप दिने



काठमाडौँ, २६ असार : अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्न लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको बताईन्। ‘उक्त खोपको थप विस्तृत विषय छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।

खोप नेपालमा कहिले आइपुग्छ भन्ने बारेमा कुनै बिस्तृत जानकारी आएको छैन । यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनको तर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्