Logo

कथा : देह



नयनराज पाण्डे : ‘हेलो, तपाईं डाइरेक्टर साप बोल्नु भएको हो ?’

मलाई यो सुमधुर महिला स्वरले सुन्ने बित्तिक्कै आकर्षित ग¥यो । एकखालको गुलियो मिठास थियो त्यो स्वरमा । एकदमै लयात्मक, गीतका पंक्तिहरु गुन्गुनाएझैँ या युगौँअगाडि कलकत्तामा रेकर्ड भएको ग्रामोफोनमा बजिरहेको मन्द गतिको कुनै शास्त्रीय धूनझैँ ।

‘हो, म विजय बोल्दैछु ।’, मैले जवाफ दिएँ ।

‘तपाईंसित भेट्नु पर्ने छ मलाई । एकदम जरुरी छ ।’

एउटी अपरिचित युवतीलाई अन्यत्र बोलाएर म पहिलोपल्टमै आफूलाई स्त्री आशक्त सावित गर्न चाहन्न थिएँ । त्यसैले मैले उसलाई आफ्नो अफिसमै बोलाएँ । ऊ राजी भई । भेट्ने समय पनि निर्धारित भयो ।

म आफ्नो नयाँ सिनेमा निर्माणको तयारीमा थिएँ । स्क्रिप्ट लगभग तैयार भैसकेको थियो । बस्, सम्वादमा केही काम बाँकी थियो । पटकथा अनुसारको लोकेशनको खोजी भैरहेको थियो । कास्टिंग डाइरेक्टरले नयाँ कलाकारहरुलाई प्रशिक्षण पनि दिन थालिसकेका थिए । क्यामेराम्यान लगायत प्राविधिकहरुको चयन भैसकेको थियो ।

यो सिनेमामा मैले नायिकाबाहेक लगभग सबै जसो भूमिकामा नयाँ कलाकार लिएको थिएँ । विषयवस्तु नयाँ र ताजा थियो । दर्शकले विषयवस्तुसँगै चरित्र र अभिनयमा पनि ताजापन अनुभव गरुन् भन्ने मेरो चाहना थियो । नयाँ कलाकारलाई खासै पारिश्रमिक दिनु नपर्ने भएपछि त्यो लगानी म चलचित्रको प्रचारप्रसारमा प्रयोग गर्न सक्थेँ । हाम्रो योजना नै त्यही थियो । निर्माता यस कुरामा सहमत भएका थिए ।

नायक पनि हामीले पत्रिकामा विज्ञापन नै गरेर छानेका थियौँ । हामीले खोजेजस्तै युवक भेटेका थियौँ । अलिक चकलेटी टाइपको । नाच्न जान्ने र अभिनय पनि ठीकठाक गर्ने । करिब तीनचार दर्जन केटाबाट छानेका थियौँ उसलाई । जगन्नाथ नाम थियो उसको । नायकलाई यस्तो नाम सुहाउँदैन भनेर हामीले उसलाई नयाँ नाम दिएका थियौँ— अभय । ऊ नयाँ नाम पाएर खुसी थियो ।

भर्खर बाह्र कक्षा सिध्याएर रिजल्ट पर्खिरहेको थियो उसले । टफेलको डेट लिइसकेको थियो । बाह्रको रिजल्ट आए लगत्तै माल्टाको युरोपियन पाइलट एकेडेमीमा विमान चालकको प्रशिक्षण लिनजाने तयारीमा थियो । यसका लागि कम्तिमा छ सात महिना बाँकी थियो र यो महिना ऊ सिनेमामा काम गरेर सदुपयोग गर्न चाहन्थ्यो । अभिनयमा उसको रुचि थियो । कलेजमा पढ्दापढ्दै उसले बज्र होटलको नाग थिएटरमा केही अंग्रेजी नाटकमा अभिनय गरिसकेको थियो ।

पूर्ण आत्मविश्वास भएको किशोर थियो ऊ । बीसको हाराहारीको । उसको कपाल लामो र कालो थियो । सिनेमाको लागि कर्ली केश आवश्यक थियो । हाम्रो प्रोडक्सनकै हेयर डिजाइनरले लोशन र न्युट्रालाइजर प्रयोग गरेर उसको कपाललाई हामीले खोजेको जस्तो बनाइदिएकी थिइन् । कपालको नयाँ स्वरुपले गर्दा ऊ बेग्लै देखिएको थियो । एकदमै कलिलो र चकलेटी । हामीले खोजेकै यस्तै ।

केही दिन कास्टिंग डाइरेक्टरबाट प्रशिक्षण पाएपछि उसमा अभिनयप्रति पनि आत्मविश्वास जागेको थियो । मलाई ऊबाट राम्रो काम लिनसक्छु भन्ने विश्वास भैसकेको थियो । कामप्रति गम्भीर थियो ऊ । भेटघाटमा सिनेमा, अभिनय, फिटनेश बाहेक अरु अनावश्यक कुरा पटक्कै गर्दैनथ्यो । राजधानीको उच्चमध्यमवर्गीय परिवारको छोरो थियो ऊ । उसको आनीबानीमा हल्का कुलीनता त झल्कन्थ्यो तर दम्भ थिएन । थोरै बोल्थ्यो । यसै बोल्दा आवाजमा अंग्रेजी टोन मिसिन्थ्यो । तर, जब सम्वाद बोलेर अभिनय गर्न लगाइन्थ्यो, ऊ सफा नेपाली बोल्थ्यो ।

तर, म अभयको बारेमा यतिका कुरा किन गरिरहेछु ? जबकि यो कथा त एउटी अपरिचित युवतीको हो, जो मसित भेटन चाहन्छे । मैले कथा त उसको पो भन्नुपर्छ ।

००

अहँ, पहिला ऊ आएकी होइन । ऊ आउनुअघि शितल हावाका केही लहरहरु आएका थिए । त्यससँगै मिसिएर केही प्रिय खालका सुगन्धहरु आए । आनन्दको एउटा अनौठो अनुभूति पनि आयो । मनलाई बेलगाम बनाउने उन्मादका केही आभासहरु आए । मानौँ ऊ आउनुअघि प्रेम कविताका केही घनघोर रुमानी पंक्तिहरु आए । यी सबै आइसकेपछिमात्र मैले ऊ मेरो अफिसमा, मेरो कार्यकक्षमा र ठीक मेरो अगाडि आइसकेको थाहा पाएको थिएँ ।

एकछिन हेरेको हेर्यै भएँ म । गजब राम्री थिई ऊ । अझ सुन्दरी भन्न मिल्ने खालकी पो थिई ऊ । ताजा र स्वच्छ । सबै आकारप्रकारले एकदमै मिलेको मखमली शरीर । भर्खर गुलाफ जलको कुण्डबाट नुहाएर आएजस्तै पवित्र देखिएकी थिई ऊ । गोरो र गोलो मुहारमा बबलेयर कट कपाल । पछाडिको कपाल गर्दनसम्म र अगाडिको कपाल चिउडोको अलिक मुनिसम्म पुगेर फेरि चिउडोतिरै फर्किएको । एकदमै सुहाएको । उसले चियर अप लेखिएको गुलाबी रंगको टिशर्ट र निलो रंगको डेनिम जिन्सको टाइट पाइन्ट लगाएकी थिई । अग्ली पनि थिई ऊ । तर, हाइहिल स्याण्डिलले झन् अग्लो बनाएको थियो उसलाई । मेरो कोठामा प्रवेश गरेर जब उसको स्याण्डिलको टक्टक्को अन्तिम आवाज रोकियो, मेरो मुटुको ढुकढुकी त्यसपछि शुरु भयो । ऊ पस्न त एकदम बिस्तारै, बिरालोको चालमा मेरो कोठामा पसेकी थिई । तर, मनभित्र सुनामी ल्याउन यही आगमन पनि पर्याप्त थियो ।

मलाई आभास थियो, ऊ मसित मेरो नयाँ सिनेमामा नायिकाको भूमिका माग्न आएकी हो । आउँछन् दिनदिनै नयाँ केटीहरु यसरी नै रोल माग्न र बस्छन् धेरैबेरसम्म मेरो अफिस कोठाको देब्रेतिरको काउचमा । तर, यो केटी फरक थिई केही । ऊ काउचमा बसिन । ठीक मेरो कुर्सी अगाडिको उस्तै घुम्ने कुर्सीमा बसी र एकचोटी बेपर्वाह पाराले त्यही कुर्सीमा फनन्न घुमेर एक झमटमै कोठाको अवलोकन गर्न भ्याइहाली । कुराकानी शुरु भएको पहिलो या दोस्रो मिनेटमै उसले भनिसकेकी थिई—‘मलाई अभिनयमा कुनै रुचि छैन । म यहाँ हजुरसित रोल माग्न आएकी हैन ।’

मस्कारा लगाएर माथि उठाइएका परेला र ठूला आँखा । म एकछिन अलमलिएको थिएँ, ऊ बोलिरहेकी हो या उसको आँखा । तर, कुरा शुरु भएको केही मिनेटमै उसका त्यही सम्मानित आँखाका डिलबाट आँशुका केही थोपाहरु खसे र गालाको माथिल्लो भागमा लागेका हल्का गुलाफी रंगका रोजबाट बग्दैबग्दै तप्प कतै खसे । मलाई मेरो मुटुमा आँशुको बाढी पसेजस्तो लाग्यो । सुन्दरीहरु रोएको राम्रो लाग्दो रहेनछ । मन बाबियोको डोरीझैँ परक्क बटारिँदोरहेछ । मैले ऊ रोएको कारण सोधेँ । जवाफमा उसले भनी—‘सर, हजुरको फिल्मबाट जगन्नाथलाई आउट गरिदिनु पर्यो । प्लिज ।’

‘को जगन्नाथ?’, सोधेँ मैले ।

‘अभय । तपाईंहरुले हिरो लिनु भएको केटा ।’

बस्, यही भन्न आएकी थिई ऊ ? म जिल्ल परेँ ।

‘मेरो ब्वायफ्रेन्ड हो ऊ । म उसलाई अरु कसैको अँगालोमा देख्न चाहन्न । हिरोइनसित टाँस्सिएर हिँडेको, गीत गाएको म कसरी हेर्न सक्छु ? म त अहिले नै आगोको भुंग्रोमा जलिसकेँ ।’

म जवाफहीन भैसकेको थिएँ । उसैले भनी—‘यति गर्नुस् मेरालागि । म तपाईंले जे भने पनि मान्छु ।’

‘जे भने पनि मान्छुु ।‍.’….उसले यसो भनेपछि नै मेरो र उसको दोस्रो भेट भएको थियो । रानीबनको एउटा कटेजमा ।

यसअघि नै म बालाजु बाइबासतिरको एउटा मेडिकल स्टोरमा पसिसकेको थिएँ ।

००

कटेजको साँघुरो कोठामा पसेको केहीबेरमै मैले ऊसित सोधेँ—‘प्रेम त छँदै थियो नि । फेरि उसलाई फिल्मबाटै हटाउन किन चाहेकी तिमीले ?’

‘हिरोइनसित प्रेममा पर्न सक्छ ऊ । अनि उसको देह मसित र आत्मा अरुसित हुन्छ ।’

अचम्म लाग्यो मलाई उसको मुखबाट देह र आत्माको कुरा सुनेर । शरीर र मन हैन, देह र आत्मा भनिरहेकी थिई ऊ ।

‘म उसको आत्मालाई पाउन्, आज आफ्नो देह तपाईंलाई सुम्पिदैछु ।’

र त्यसपछि फेरि आँशुका दुई थोपा उसरी नै आँखाको डिलबाट खसेर उसको गालाको गुलाफी रोजमाझबाट राजमार्ग बनाउँदै जमिनको कुनै अज्ञात हिस्सामा तप्प खसेका थिए । त्यो आँशुको आवाज मेरो मुटुमा विस्फोट भएर पस्यो ।

उसको देहप्रति सम्मान जाग्यो अचानक मलाई । मैले अगाडि बढ्ने रहर तत्काल मारिदिएँ र भर्खर खाटमा थपक्क खसेको उसको टिशर्ट फेरि उसैको काँधमा राखिदिँदै भने—‘तिमी जाऊ । मैले मानेँ तिम्रो कुरा । मेरो वाचा भो, अभयलाई म आफ्नो फिल्ममा खेलाउँदिनँ ।’

ऊ मेरो ताल देखेर जिल्ल परी । टिशर्ट लगाई । मैले ढोका खोलेर उसलाई जान दिएँ । ढोकाबाट निस्कनुअघि ‘धन्यवाद’ भनी उसले । ऊ गई । ऊसँगै गयो, उसको शरीरको वास्ना । शरीर जसलाई उसले अघि भर्खर ‘देह’ भनेकी थिई ।

ऊ उधुम राम्री केटी थिई र उसको नाम चन्द्रा थियो ।

००

कुनै गुनासो गरेन अभयले । मन पनि दुखाएन । केही अमूल्य कुरा गुमाएकोजस्तो आभासै गरेन उसले ।

‘केही छैन सर, अभिनय त रहर थियो । तर सबै रहर पूरा हुन्छन् भन्ने नै के छ र?’

बस्, यति भनेर गयो ऊ । केही महिनापछि माल्टा पुगेर प्लेन उडाउने प्रशिक्षणमा लाग्यो ऊ । म खुसी नै थिएँ । कम्तिमा सिनेमाकै कारणले अभय र चन्द्राको प्रेम असफल त भएन नि । यस विषयमा एउटा आदर्श खालको सन्तुष्टि स्थापित भएको थियो मभित्र ।

मैले सिनेमामा नयाँ नायक लिएँ । नयाँ नायकमा आफ्नो जीवन नै अभिनयमा समर्पित गर्ने जोश थियो । उसको नाम गोवद्र्धन थियो । मैले उसलाई उही नाम दिएँ—अभय ।

००

यसबीच म एउटा विज्ञापन चलचित्रको निर्माणमा पनि लागेँ । त्यसका निम्ति एकजना मोडेललाई स्क्रिप्ट सुनाउन विशाल मलको पाँचौ तलाको एउटा शानदार ब्युटिपार्लरमा पुगेको थिएँ । मोडेल पार्लरको भित्री कोठामा बडी मसाज गराउनमा व्यस्त थिइन् ।

‘नमस्ते सर ।’, मैले चिनिहालेँ । त्यो आवाज चन्द्राको थियो । तर मैले झट्ट उसलाई देखिनँ । कसरी देख्नु ? उसको आधा शिर हुड ड्रायरभित्र थियो । शायद केशलाई कर्ली बनाउने लोशन लगाएर तातो हुड ड्रायरमा कपाल सुकाउँदै थिई ऊ । उसका केशमा चारैतिर थुप्रै रोलर बेरिएका थिए । मैले नै पहिला सोधेँ—‘के छ तिम्रो जगन्नाथको खबर? कहिले पाइलट बनेर फर्किँदैछ ? बिहे कहिले गर्ने ?’

उसले हुड ड्रायरबाट टाउको झिकी र कपाल बेरिएका रोलरहरु खोल्दै भनी—‘केको बिहे हुनु नि सर । बजियालाई छोडिदिएँ मैले ।’

‘किन ?’, बस्, यतिमात्र मैले सोधेँजस्तो लाग्छ । शायद त्यसभन्दा बढ्ता शब्द मेरो गलाबाट निस्कँदै निस्केन । त्यति गहिरो प्रेमको यति साधारण अन्त्य कसरी हुनसक्छ ? म चकित थिएँ र त्यसैले मेरो वाक्य बसेको थियो ।

‘शरीरले त कच्चा रहेछ ऊ । एकदमै चिसो । त्यस्तासित प्रेम गरेर के गर्नू ? बिहे गरेपछि सन्तान पनि त चाहिन्छ नि । उसको आत्मामात्र पाएर त काम चल्दैन नि । कसो विजय सर ?’

यसपटक उसले शरीरलाई शरीर नै भनिरहेकी थिई । देह भनिरहेकी थिइन ।

००

त्यसको तेस्रो दिन, हामी फेरि रानीबनको एउटा सानो कटेजमा थियौँ । अब मलाई उसको देहसित गुनासो थिएन । उसलाई पनि अब आत्माको मात्र रहर थिएन ।



प्रतिक्रिया दिनुहोस्