Logo

रायमाझीको प्रश्न : प्रचण्डले एमालेसँग एकता गर्दा क्रान्तिकारी अनि हामीले ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी भयौं ? (भिडिओसहित)



‘प्रचण्डबाट अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम भयो’
‘केपी ओली देशकै सफल, भीजनरी र निर्णय गर्नसक्ने नेता हो’
काठमाडौं, २६ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे । उनले भने,‘एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुई तिहाई नजिक मत पायो । पार्टी एकता पनि गरियो । नेकपा बनायौं । नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो । हामी अन्तिसम्मपनि एकताको पक्षमा उभियौं । पार्टी फुटन नदिनको लागि अधितम प्रयास गर्यौं । तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो । हामी संस्थापन पक्षमै एक भएर उभियौं । हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ । प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ ? ’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे । उनले भने–‘माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभाको चुनावमा पहिलो भयो । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भयो । यो भन्दा अघिको निर्वाचनमा माओवादी केन्द्र एक्लै लडेको भए हालत के हुन्थ्यो ? एमालेसँग तालमेल गरेकै कारण माओवादकिो अलि–अलि अस्तित्व रह्यो ।’

उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखे । उनले भने,‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन् । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो ईतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले ईतिहास बनाएका छन् । कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो । माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन् ।’

आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको पनि उनको आरोप छ । ‘पहिला आफू अनुशासनमा बस्नुपर्यो अनि अरुलाई अनुशासनको कारबाही गर्नुपर्छ’–उनले आक्रोश पोख्दै भने,‘माओवादीबाट जितेका जनप्रतिनिधिहरुलाई एकपछि अर्को ढंगले कारबाही चलाउँदै गईयो, यो गलत भयो । प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा, प्रदेश हुँदै स्थानीय तहसम्म जितेका जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया अघि बढाईयो । त्यसपछि हामीले प्रतिकार गर्यौं । मेयर÷उपमेयरहरुलाई अदालतले अहिले पूनर्वहाली गरेको छ । यसले माओवादी केन्द्र पार्टी नै अनुशासनमा नबसेको र कानून, विधि, प्रक्रिया, संविधान मिचेको पुष्टि भयो ।’

उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए । २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे । उनले भने,‘२०६९ सालमा भएको महाधिवेशनमा पनि आफ्ना हुनमानहरुको लिष्ट बनाउने अनि ताली पड्काउने काम भएको थियो । त्यतिवेला पनि हामीले असहमति जनाएकै थियौं । अहिले ९ वर्षसम्म पार्टीको महाधिवेशन गरिएको छैन् । यसरी पार्टी चलाउने छुट हुन्छ त ?’

उनले माओवादी केन्द्रमा वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन भैरहेको पनि खुलासा गरे । रायमाझीको प्रश्न छ,‘यो कसरी वैधानिक भयो त ?, महाधिवेशन नगर्ने अनि वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन गरिरहने ?’ उनले अब सबै कम्युनिष्ट र वामपन्थीहरु धु्रवीकृत हुन जरुरी रहेको आवश्यकत्ता औंल्याए ।

माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा आफूहरुले निवेदन दिएको र छिटो निर्णय गरिदिन ताकेदा पनि गरिरहेकोे रायमाझीको भनाई छ । उनले थपे–‘निर्वाचन आयोगबाट सबै डकुमेन्टहरु हामीले नियन्त्रणमा लिएका छौं । निर्वाचन आयोग संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्ने हो भने माओवादी केन्द्र खारेज हुन्छ । हामीले माओवादीमा रहँदापनि असहमतिहरु राखेका हौं । अहिले हामीले जुन कुरा उठाएका छौं, यो बदलाको भावनाले होईन । बरु, रुपान्तरणको लागि उठाएका हौं । सबै दलहरुमा रुपान्तरण हुनुपर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भीजनरी, सफल र निर्णय गर्नसक्ने नेताको रुपमा चित्रण गरे । उनले भने,‘अहिले नेपालमा भएका शीर्ष नेताहरुमध्ये केपी ओली सबैभन्दा निर्णय गर्नसक्ने एकमात्र सफल र भीजनरी नेता हो ।’

 



प्रतिक्रिया दिनुहोस्