Logo

सिटिजन्स बैंकमा गाभियो सिर्जना फाइनान्स, एकीकृत कारोबार सुरु



काठमाडौं, २६ असार । सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएको छ । आजबाट उनीहरुको एकीकृत कारोबार सुरु भएको छ । कारोबार सिटिन्जस बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले शुभारम्भ गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु एकीकृत कारोबार शुभारम्भमा सहभागी थिए ।

२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेतप्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।

अब बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ ।

यसअघि सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा अब २७ वटा शाखाहरु संचालनमा आएका छन् ।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चातबैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुने बताए ।

यसैगरी, एकीकृत कारोबारपछि बोल्दै सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साबिकको सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका डाइरेक्टर तथा मर्जर तथा प्राप्ती समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्ती पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्