Logo

नेपाल–भारत रेलसेवा सम्झौताः पारवहन लागत घट्ने अपेक्षा



काठमाडौं, असार २७ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता-हल्दिया पोर्टसम्म सीधै वस्तु तथा सामान ढुवानी गर्न पाउने भएको छ । यसले नेपालको व्यापार लागत कम पर्ने अपेक्षा गरिएको छ ।

शुक्रवार भएको लेटर अफ एक्सचेन्ज (एलओई) दुवै देशका अधिकारीहरूबीच आदानप्रदान भएसँगै नेपालले यस्तो सुविधा पाउने भएको हो । पारवहन कार्गो ढुवानीमा कन्टेनर कर्पोरेशन अफ इन्डियाको एकाधिकार तोडिएसँगै प्रतिस्पर्धा हुने भएकाले कार्गो ढुवानीको लागत घट्ने अपेक्षा गरिएको छ ।

शुक्रवार भएको एलओईमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए भने भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर (ट्राफिक ट्रान्सपोर्टेशन) का सुशान्तकुमार मिश्राले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएसँगै नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकातारहल्दियासम्म रेलसेवा दिन सक्नेछ । हाल नेपालको वीरगन्जसम्म रेलसेवा उपलब्ध छ । अब यसका साथै विराटनगर, भैरहवा, इनरवा (जनकपुर)मा रेल सम्बद्ध पुर्वाधार तयार भएपछि रेलसेवा उपलब्ध हुुने मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल भारत सिमानाका अन्य पारवहन बिन्दु तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेलसेवा विस्तार हुँदै जाने पनि सहमति भएको छ । अहिले नेपालसँग आफ्नै कार्गो रेल तथा वागन छैन । यसले गर्दा पनि केही समयसम्म भारतका निजी रेलसेवा प्रदायक कम्पनी तथा ट्रेन अपरेटरहरूले नेपालको पारवहन ढुवानीका लागि सेवा दिन सक्छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्