Logo

विज्ञान र उद्यमशीलतामा युवा सम्मेलन आजदेखि



काठमाडौँ, २७ असार: राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ ।

युवालाई अध्ययन अनुसन्धान, नवप्रवद्र्धन र उद्यमशीलतासँग जोड्न सम्मेलनको आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

उनले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पु¥याउने बताए । उनले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाए । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवद्र्धन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै विज्ञान र प्रविधिलाई समाजसँग जोड्नुपर्ने भनाइ राखे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवद्र्धनमा नेपालको शिक्षा कमजोर रहेको उल्लेख गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए । उच्च शिक्षामा अनुसन्धान र नवप्रवद्र्धनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उहाँले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए ।

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्नतर्फ जोड्नपर्ने उल्लेख गरे । उनले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राखे । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने उल्लेख गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ जोड्नुपर्ने बताए । उनले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा जोडन् आवश्यक रहेकामा जोड दिए ।

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ ।-रासस



प्रतिक्रिया दिनुहोस्