Logo

‘परिवारले हत्या गरी’ सेफ्टी टैंकीमुनी गाडेको भेटियो सुजिताको शव



जनकपुर, २७ असार । ४८ दिनदेखि वेपत्ता सुजिता ठाकुरको शव भेटिएको छ । उनको योजनावद्ध तरिकाले हत्या गरी गाडिएको अवस्थामा शव आज विहान फेला परेको हो । हत्यामा परिवारका सदस्य नै संलग्न रहेको अनुसन्धानबाट खुलेपछि गाडिएको स्थान पनि पत्ता लागेको प्रहरीले जनाएको छ ।

गाडिएको जमिनमा काठका मुढाहरु राखिएको र गहिरो सेफ्टी ट्यांकी रहेको छ । उक्त ट्यांकीभित्र फेरि गहिरो बनाएर शव गाडी ढलान गरिएको खुलेको छ । सेफ्टी ट्यांकीको भित्र फेरि खनेर गाडी त्यसमाथि ढलान गरिनुले सुजिता ठाकुरको शव पत्ता नलागोस् भन्ने उद्देश्यका साथ गरेको देखिन्छ ।

सुजिताको हत्या गरी शव अन्यत्र गाडेकोमा फेरि झिकेर सेफ्टी ट्यांकी मुनी लगिएको खुलेको हो । प्रहरीले काठको मुढा पन्छाएर, सेफ्टी ट्यांकी भित्रको दुईवटा ढलान फ्टाएर शव निकालेको थियो ।

प्रहरी स्रोतका अनुसार हत्यामा संलग्नको बयानका आधारमा शव पत्ता लागेको हो । दुई ठाउँमा गाडिएको सूचनाका आधारमा पहिले गाडिएको ठाउँ समेतमा पुगी प्रहरीले खोतलेको छ ।

सुजिता ठाकुरको हत्यामा उनकै परिवारका सदस्य रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । उनका श्रीमान्सहित परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

२० जेठ देखि वेपत्ता सुजिताको माइतीले प्रहरीमा उजुरी दिएका थिए । उनका बाबुआमाले छोरी हराएको भनी उजुरी दिएका थिए ।

सुजिताको घरपक्षले उनी अर्कै पुरुषसँग भागेको दाबी गर्दै आएका थिए । तर, माइती पक्षले हत्या गरी खेतमा गाडेको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सुरुमा हत्या गरिएको हुनसक्ने भनी आमाबाबुले दिएको जाहेरी लिन मानेको थिएन । पछि महिला सेलमा जाहेरी दिएका थिए ।

सुजिताको ९ वर्षीय छोरा आँचल र पाँच वर्षीय छोरा रौनक छन् । बालक रौनकले आमाको हत्या बुबा, काका र हजुरबुवाले गरेको भन्दै सामाजिक सञ्जालमा बोलेका थिए । उनले सुजातालाई जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको खुलासा गरेका थिए ।

२७ वर्षीया सुजिता ठाकुरको १० वर्ष अघि पतिराम ठाकुरका जेठा छोरा मुकेश ठाकुरसँग विवाह भएको थियो । गत वर्ष उनलाई घरका सदस्यले कुटपिट गरेका थिए । घटना प्रहरीसम्म पुगेको थियो ।

-तस्बिर स्रोतः बुद्धएक्सप्रेस



प्रतिक्रिया दिनुहोस्