Logo

हत्या हुनुअघि सुजिताले फोनमा भनेकी थिइन्ः कस्तो घरमा विवाह गराइदिएको



जनकपुर, २७ असार । वेपत्ता भएको ४८ दिनपछि गाडिएको अवस्थामा फेला परेकी सुजिता ठाकुरमाथि परिवारले नराम्रो व्यवहार गर्दै आएको थियो । उनीमाथि कुटपिट पनि हुने गरेको थियो ।

घरेलु हिंसा अत्याधिक हुन थालेपछि उनले २० जेष्ठमा पिता कामेश्वर पाण्डेलाई फोन गरी कस्तो घरमा विहे गराई दिएको भनेर रिस पोखेकी थिइन् । उनले फोनमा कुरा गरिरहँदा झगडाको पनि आवाज आइरहेको थियो ।

घरझगडाका क्रममा सुजिताको देवर रुपेश ठाकुरले फोन गरेर कामेश्वरलाई तुरुन्त महोत्तरीको भमरापुरा आउन भनेका थिए । कामेश्वर जान ठिक्क पर्दा रुपेशले झगडा मिलिसकेको भनेर आउनुपर्दैन भनेका थिए ।

‘परिवारले हत्या गरी’ सेफ्टी टैंकीमुनी गाडेको भेटियो सुजिताको शव

कामेश्वर त गएनन् तर उनले छोरीलाई पुनः फोन सम्पर्क गर्दा स्वीच अफ भन्यो । पटक पटक फोन गर्दा पनि स्वीच अफ पाए । त्यसपछि रुपेशलाई फोन गर्दा उठेन । त्यसको आधा घन्टापछि रुपेशले फोन गरेर कामेश्वरलाई कोठामा ताला मारेर भागेको बताए । कामेश्वरको मनमा चीसो पस्यो ।

९ र ५ वर्षका छोराकी आमा सुजिता कसरी भागिन् होला ? उनको मनमा प्रश्न उठ्यो । त्यसमाथि पटक पटक कुटपिट हुँदा पनि छोरी सहेर बसेकी थिइन् ।

अर्को विहान ८ बजे कामेश्वर पत्नीलाई लिएर रतौलीबाट भमरपुरा पुगे । १० मिनेटको मोटरबाटो थियो । सुजिताको कोठामा ताल्चा फोड्न लगाए । कपडा देखि सबै सरसामान जस्ताको तस्तै थिए । गरगहना पनि थिए । त्यसपछि उनको मनमा शंका जन्मियो ।

कामेश्वरले सुजिताको बारेमा पटक पटक सोध्दा घर छाडेर अर्कै केटासँग भागेको भनिरहे । केटाको नाम पनि भने । पिपरा गाउँपालिका अलिपट्टीका विजय मुखियासँग फेसबुकमा कुरा हुनेगरेको र ऊसैसँग भागेको हुनसक्ने भने । विजय कतारबाट केही महिना पहिले गाउँ फर्किएका थिए । उनीसँग सुजिताको फोनमा कुरा भइरहन्थ्यो । माइती जाँदा भेट्थिन् पनि ।

विजयसँगको सम्बन्धको आरोप लगाएर घरपरिवारले दुःख पनि दिएको खुलेको छ । कामेश्वरलाई लगाएर विजयविरुद्ध प्रहरीमा उजुरी पनि दिन लगाए । तर, विजयको सुजितासँग गहिरो सम्बन्ध भेटिएन । उनलाई गाउँ छाड्ने सम्मको शर्तमा प्रहरीले रिहा गरेको थियो ।

गत वर्ष सुजितामाथि घरपरिवारले निर्मम कुटपिट गरेका थिए । सासु, ससुरा, पति र देवर मिलेर आँखामा गम्भीर चोट पर्ने गरी कुटेका थिए । उनको जलेश्वर अस्पतालमा उपचार समेत भएको थियो । प्रहरी कहाँ उजुरी परेपछि मिलापत्र गराइएको थियो ।

घटनाको एक दिन अघि सुजिता आमासँग जनकपुरमा किनमेलका लागि गएको खुलेको छ । तर, आमालाई घरझगडाबारे केही भनेकी थिइनन् ।

घटनाको दिन सुजिताको ९ वर्षीय छोरा आँचल र ५ वर्षीय छोरा रौनकलाई जनकपुर बस्दै अएका फुपु अन्जु ठाकुर कहाँ पठाइदिएका थिए । भोलिपल्ट फिर्ता लगेका थिए ।

घटनाको केही दिनपछि सुजिताको छोरा रौनक मामाघर रतौली पुगे । रौनकले आमाको हत्या भएको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको भनेका थिए । त्यसको भिडिाये नै बनाएर सुजिताका दाजु जितेन्द्र पाण्डेले सार्वजनिक गरे ।

सुजिताको बुवालाई कुनै व्यक्तिले घरपरिवारले हत्या गरी खेतमा खाडल खनी गाडेको भनेको थियो । त्यही पुरिएको र माटो भरिएको भन्यो । त्यसपछि कामेश्वर छोरीको हत्या भएको निष्कर्षमा पुगे ।

ससुरा पतिरामले पनि जाने गइसक्यो नातिहरुको जीवन बनाउनुपर्छ भनेर कुरा मिलाउन खोजे । घटना ढाकछोप पार्न खोजे । तर, अपराध लुकेन ।

सुजिताको हत्या गरी गाडेको ठाउँहरु प्रहरीले खोज्न थाल्यो । डोजर लगाएरै खोजियो । विभिन्न स्थानमा खोजी भयो । अन्तमा उनलाई पहिला गाडिएको ठाउँ पत्ता लाग्यो । शव झिकेर पुनः सेफ्टी ट्यांकी मुनी गाडेर ढलानले छोपेको रहेछ ।

सुजिताको पति मुकेश ठाकुर, ससुरा पतिरामसहित परिवारका सदस्य पक्राउ परे । उनीहरुले प्रहरीसँग हत्याको बयान दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम